• ४ जेठ २०८१, शुक्रबार

जथाभाबी राष्ट्रिय गौरवका आयोजनको नामाकरण गर्नु हुँदैन : अध्यक्ष तिमिल्सिना

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । फाइल तस्बिर

काठमाडौं, जेठ २ गते। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जथाभाबी रूपमा राष्ट्रिय गौरवको आयोजना भनेर नामाकरण गर्न नहुने बताउनुभएको छ। 

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजनाको स्पष्ट परिभाषा तयारी त्यसभित्र पर्नेलाई मात्रै सो नामाकरण गर्नु उपयुक्त हुनेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण समेत गराउनुभयो। 

मंगलबार सङ्घीय संसद् राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले मन्त्री, प्रधानमन्त्रीलाई लाग्ने बित्तिकै राष्ट्रिय गौरवको आयोजना बनाउने काम गर्न नहुने पनि स्पष्ट पार्नुभयो। 

सयौँको सङ्ख्यामा कुनै पनि देशमा राष्ट्रिय गौरवको आयोजना हुनै नसक्ने उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले ‘जति थोरै हुन्छ, त्यो गौरवको हुन्छ’ भन्ने मान्यताका साथ अघि बढ्न पनि सरकारलाई सुझाव दिनुभयो। राष्ट्रिय गौरवको आयोजनाको परिभाषालाई सरकारले थप व्याख्या गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ। 

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो,  ‘‘अहिलेको अर्थमन्त्रीलाई लाग्यो कि कुनै योजना यो राष्ट्रिय गौरवको आयोजना हो भनेर लेख्नुभयो। वर्तमान प्रधानमन्त्रीले यो पनि राखौँ भन्यो। र, राख्यो। फेरि फेरिनु हुन्छ। उहाँलाई अर्को लाग्छ। राष्ट्रिय गौरवको पहिला परिभाषा हुनुपर्छ। हाम्रो क्षमता, परिस्थिति, अवस्था अनुसार निश्चित परिभाषा भित्र पर्ने हुनुपर्छ । कसैलाई लाग्नसाथ त्यो राष्ट्रिय गौरव बन्दैन। त्यसकारण राष्ट्रिय गौरवले परिभाषाले बन्ने हुनुपर्छ।’

अध्यक्ष तिमिल्सिनाले आयोजनाको काम पूरा नहुँदासम्म जिम्मेवारी पदाधिकारीलाई अन्यत्र सरुवा नहुने व्यवस्था सरकारले गर्नुपर्ने बताउनु भयो। त्यसो गर्दा जबाफदेही सोही पदाधिकारी हुने भएकाले काम समयमै सम्पन्न गर्न सहज हुने उहाँको निष्कर्ष थियो। अध्यक्ष तिमिल्सिनाले विकास, निर्माणको काममा सकेसम्म स्वदेशी कच्चा पदार्थको उपयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।