• ४ जेठ २०८१, शुक्रबार

सांसद शर्माद्वारा नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग

blog

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्मा । फाइल तस्बिर

काठमाडौं, जेठ २ गते। नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गर्नुभएको छ। 

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सरकारको जवाफ माग गर्नुभएको हो। उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धानको प्रक्रिया कहाँसम्म पुर्‍याएको हो भन्ने जवाफ दिनुपर्ने बताउनुभएको हो। सांसद शर्माले सरकारले नक्कली भुटानी शरणार्थीमा छानबिनका लागि सबै दलको समर्थन पाएको भन्दै दोषी नउम्किने र निर्दोष नफस्ने गरी कारबाही अघि बढाउनुपर्नेमा जोड दिनुभयो। 

उहाँले भन्नुभयो, ‘‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे हामी सुसूचित हुनु जरुरी छ। दोषीहरू कोही नछुटुन्, निर्दोष कोही नछुटुन् भनेर हामी सबै राजनीतिक दलले भनेका नै छौँ, सबै सहमत नै छौँ। यसमा गृहमन्त्रीज्यूको भनाइ हामीले सुन्न पाएका छैनौँ। के कस्तो प्रकार अवस्था छ, निर्दोष फस्नु नहुने र दोषी उम्किनु नहुने स्थिति बनाउनका लागि सरकारले के गतिविधि गरिरहेको छ, नक्कली भुटानी शरणार्थीको छानबिनको सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन आवश्यक छ।’’

सांसद शर्माले नक्कली भुटानी शरणार्थीको छानबिनको सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराउनुभएको थियो।