• ४ जेठ २०८१, शुक्रबार

शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरी : मन्त्री बस्नेत

blog

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा सहभागी स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलगायत । तस्बिर : रत्न श्रेष्ठ / रासस

काठमाडौं, जेठ २ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

मङ्गलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्नुहुँदै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले क्याम्पसको शुल्क तिर्न नसकेर मर्नुपर्ने बाध्यताको अन्त्य गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

मन्त्री बस्नेतले शिक्षा समितिले पनि यस बारेमा आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो । केही समयअघि मात्रै क्याम्पसमा शुल्क तिर्न नसकेकै कारण एक विद्यार्थीले आत्महत्या गरेका थिए । सोही प्रसङ्गलाई लिएर मन्त्री बस्नेतले क्याम्पस शुल्क तिर्न नसकेकै कारण मर्नुपर्ने अवस्थाको अन्त्य गर्दै सरकारले शिक्षालाई प्राथमिकता दिएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

‘‘शुल्क तिर्न नसकेकै आधारमा कोही पनि विद्यार्थीले मर्नु नपर्ने स्थिति सरकारबाट सिर्जना हुनुपर्छ, त्यो वातावरण सरकारले निर्माण गर्नुपर्छ । समितिले यो कुरा अघि बढाउनुपर्छ । मैले आफ्नो जिल्लाका केही पालिकाहरूमा यसबारेमा भनिसकेको पनि छु ।,’’ स्वास्थ्य मन्त्री बस्नेतले भन्नुभयो, ‘‘यो विभिन्न खाले प्राकृतिक विपद्मा म धेरै खटिरहने मान्छे हो, बाढी, पहिरो, कोभिडलगायतको जोखिमबाट मुक्त हुन स्वास्थ्य क्षेत्रमा लगानी बढाइ स्वास्थ्य सेवा सर्वसुलभ र विस्तार गर्न जरुरी छ ।’’

शिक्षा तथा स्वास्थ्य समितिको सभापतित्व ज्येष्ठ सदस्यको आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कालुराम राईले गर्नुभएको छ ।