• ८ मंसिर २०८१, शनिबार

फिलिङ्गो

blog

ऊ घरभित्र आफ्ना बाआमालाई सम्झाउँदै थियो । बाहिरबाट होहल्ला गरेको सुनियो । उसले मनमनै सोच्यो, “अब छिमेकीलाई पनि सम्झाउनुपर्ने होला ।”

उसले झ्यालबाट बाहिर चियायो । मूलगेट बाहिर छिमेकीको भिड जम्मा भइसकेको थियो । कसैले भनेको सुनियो, ‘हाम्रो टोलछिमेकमा यस्तो चाहिँ हुन्न दिन्नौँ है ।’ के हुन दिन्नौँ भनेको हो, त्यो बुझ्न उसलाई गाह्रो भएन । त्यो भनाइको आशय उसले बुझिसकेको थियो । यस्तो हुन्छ भन्ने अनुमान उसले पहिल्यै गरिसकेको थियो । त्यसैले स्वागत भन्यो, ‘मूर्खहरू ।’

छिमेकीको विरोधलाई सामना गर्न मानसिक रूपमा तयार भएर ऊ मूलगेट खोल्न पुग्यो । छिमेकीको एउटा आक्रोशित समूहले उसलाई झम्टुँलाजस्तो गरेर भने, “यो के गरेको विजयबाबु ?”

“के गरेँ र मैले ?” उसले संयमित भएर भन्यो ।

“बाहुनको छोरो भएर दलितकी छोरी ल्याउने ?” एउटा युवक निकै गरम भएर बोल्यो ।

“त के भयो ?” उसले चाहिँ उस्तै नरम भएर भन्यो ।

“आफ्नै नाकमा गु लगाएर अझ के भयो भन्नुहुन्छ ? टोलछिमेकको इज्जतमा दाग लाग्यो । तपाईं पढेलेखेको मान्छेले यस्तो नचाहिने काम 

गर्ने ?” त्यो युवकले फेरि कड्किएर भन्यो ।

“मैले त पढेलेखेको मान्छेले गर्ने काम नै गरेको हुँ ।” उसले उत्तेजित भिडतिर हेरेर शान्तभावले भन्यो ।

“पढेलेखेका मान्छेले दलितकी छोरी बिहे गर्छन् ?” अर्को युवक जङ्गियो ।“हो, पढेलेखेका मान्छेले समाजमा परिवर्तन खोज्छन् । सामाजिक रूपान्तरण खोज्छन् र सामाजिक जडतालाई त्याग्न खोज्छन् । मैले पनि त्यही गरेको हुँ ।”

खोइ किन हो, यस पटक भिडबाट कोही बोलेनन् । सायद उसको कुरै बुझेनन् । भिड अलि शान्त भएको मौका छोपेर उसले घरको झ्यालतिर हे¥यो । त्यहाँ रमिता थिई । भिडलाई देखेर ऊ भयभीत भइरहेकी थिई । उसले बुझिसकेकी थिई कि त्यो भिड उसकै कारणले जम्मा भएको हो । 

उसले सम्झ्यो रमितासँगको पहिलो भेट । एउटा रिसर्चको काममा दुर्गम गाउँमा गएको थियो । ऊ त्यो गाउँका जोखिममा रहेका दलित र पिछडिएका वर्गको उत्थानसम्बन्धी एउटा रिसर्च हुँदै थियो । रिसर्चको काम सम्पन्न गर्न केही स्थानीयको सहयोग चाहिन्थ्यो उसलाई । केही पढेलेखेका युवकयुवतीले मात्रै उसलाई त्यो रिसर्चको काममा सहयोग गर्न सक्थे । 

वडाअध्यक्षको सहयोगमा केही युवकयुवती उसलाई सहयोग गर्न जुटे । त्यसमा स्वयं दलित र गैरदलित दुवैखाले युवकयुवती थिए । दलितमध्येकी एउटी थिई रमिता । ऊ ग्रामीण विकास विषयमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा स्नातकोत्तर पढ्दै थिई । अहिले बिदामा घर आएकी थिई । 

सौम्य र शालीन शीलस्वभाव । अनि आकर्षक व्यक्तित्वले गर्दा पहिलो पटक देख्नेबित्तिकै ऊ रमिताप्रति आकर्षित भएको थियो । त्यतिखेर उसलाई थाहा थिएन रमिता दलित हो भनेर । परिचयको क्रममा उसले थाहा पायो त्यो कुरा । त्यसपछि झनै ऊ रमिताप्रति आकर्षित भयो । दलित समुदायबाट पनि उच्च शिक्षा हासिल गर्न सक्षम भएकोमा उसलाई गर्व लाग्यो । यस्तै शिक्षित दलित र गैरदलितको संयोग र सहयोगबाट मात्रै समाजमा परिवर्तन सम्भव हुने हो । सामाजिक रूपान्तरण सम्भव हुने हो । अनि सामाजिक सद्भाव बढ्ने हो ।

केही दिन सँगै काम गर्दा रमिताको शीलस्वभाव, व्यवहार र कार्यशैलीबाट ऊ निकै प्रभावित भयो । सोच्ने, बोल्ने र काम गर्ने तरिका अरूको भन्दा फरक थियो रमिताको । गम्भीर स्वभाव भएर पनि काममा स्पष्टवक्ता थिई रमिता । छिटो कुरा बुझ्ने र छिटो समस्याको समाधान निकाल्न सक्ने रमिताको विशेषता अरूको भन्दा फरक थियो । यिनै विशेषताले गर्दा ऊ रमिताबाट प्रभावित भयो र ऊप्रति थप आकर्षित भयो । 

रमितालाई अवसर दिने हो भने उसले समाजमा नयाँ परिवर्तन ल्याउन सक्छे । सामाजिक रूपान्तरणमा सघाउन सक्छे । त्यो अवसर दिने कामको सुरुवात म आफैँ गर्छु । उसले मनमनै अठोट ग-यो ।

ऊ आफूप्रति आकर्षित भएको र विशेष चासोको नजरले हेर्ने गरेको रमिताले पनि बुझिसकेकी थिई । ऊ आफैँ पनि नजानिँदो गरी ऊप्रति आकर्षित भइसकेकी थिई तर मनको कुरा भन्न सकेको थिएन उसले र रमिताले पनि । मनमा पलाएको चाहनालाई यति छिट्टै अभिव्यक्त गर्नु पनि कसरी ! समस्या दुवैलाई थियो । उत्ताउलो भएको आरोप लाग्ने डर भयो दुवैलाई । मनभित्र कताकता काउकुती भने लाग्न थालिसकेको थियो दुवैलाई ।

फर्किने बेलामा उसले भनेको थियो, “काठमाडौँमा भेट होला नि !”

रमिता केही बोलेकी थिइन् । स्त्रीजन्य लज्जाले अनुहार रातो पार्दै उसलाई हेरिरहेकी थिई मौनतापूर्वक । त्यो मौनतामा नै उसको प्रश्नको जवाफ थियो । यो कुरा उसले बुझिसकेको थियो ।

केही दिनको रिसर्चको काम सकेर ऊ काठमाडौँ फक्र्यो । उसको मन भने उतै अल्झियो । उता रमिताको मन भने उसँगै काठमाडौँ फक्र्यो । 

०००

एकदिन अपरिचित नम्बरबाट फोन आयो उसलाई । “सर, म काठमाडौँ आइसकेँ ।” उसले फोन उठाउना साथ मिठो आवाजमा यस्तो सुन्यो । आवाज सुनेर ऊ एकछिन चकित भयो र पुलकित पनि । अनि उसलाई कतिखेर रमितालाई देखुँ र भेटुँजस्तो हतारो भयो ।

“अहिले कहाँ छौ ?” उसले निकै उत्सुकतापूर्वक सोध्यो ।

“कलङ्कीमा,” रमिताले भनी ।

ऊ हतारहतार बाइक स्टार्ट गरेर कलङ्कीलाई गन्तव्य बनाएर कुद्यो । रमिता उसलाई नै पर्खेर बसेकी थिई । उसलाई देख्नासाथ रमिता मुस्कुराई । उसका गाला स्त्रीजन्य लज्जाले राता भए । ऊ पनि मुस्कुरायो । प्रेमको एउटा सुन्दर फूल मुस्कुरायो । प्रेमिल बतासले उनीहरूको मनमा मिठो स्पर्श गरेर गयो । त्यहीँबाट उनीहरू स्वयम्भू घुम्न गए । बुद्धका दुई स्निग्ध र शान्त आँखा नियाल्दै उनीहरूले स्वयम्भूको परिव्रmमा गरे । घरी बुद्धका आँखा नियाल्दै । घरी एकले अर्कोलाई नियाल्दै । मानौँ ज्ञानी र शान्त बुद्धलाई साक्षी राखेर प्रेमको आराधना गरेझैँ । प्रेमको पूजा गरेझैँ ।

व्रmमशः भेट बाक्लिँदै गयो । अन्तरङ्ग संवाद बाक्लिँदै गयो । भावना साटासाट भयो । चाहाना व्यक्त भयो । अनि भयो एउटा मिठो सङ्कल्प चोखो प्रेमको । जहाँ कुनै छेकबार छैन, कुनै परिबन्द छैन, कुनै प्रश्न छैन र कुनै उत्तर पनि छैन । प्रेममा कुनै प्रश्नोत्तर नै हुँदैन । हुनु पनि हुँदैन ।

उसले रमितालाई मसँग जान्छ्याैँ भनेर कहिल्यै भनेन । रमिताले पनि उसलाई मलाई आफ्नो बनाएर लैजाऊ भनेर कहिल्यै भनिन । उनीहरू स्वतःस्फूर्त डोरिएर आए उसको घरसम्म, आआफ्नो मनको निर्देशनले निर्देशित भएर । 

०००

ऊ वर्तमानमा फर्कियो । उसको परिवर्तननिर्देशित कदमविरुद्ध आवाज उठाउनेको शब्द ध्वनित भइरहेकै थियो । केही शब्द अनियन्त्रित थिए, उग्र थिए,  अराजक थिए, सीमाहीन थिए र अनुशासनहीन थिए । ती शब्दहरूले ऊ मर्माहत नभई रहन सकेन । रमिता मर्माहत नभई रहन सकिन । भिडको तमासा देखेर रमिता झ्यालमै बसेर रुन थाली । विजयका बाआमाले रमितालाई नरोऊ अथवा तिमी धन्दा नमान भनेर सान्त्वना दिन पनि सकेनन् । तिनीहरू पनि भयभीत थिए र भिडको मूकदर्शक बनिरहे । रमिताको सुँक्कसुँक्क बढ्दै गयो ।

अब उसको मनमा पनि रिस र आवेग बढ्दै गयो । प्रेमलाई पूजा गर्नुपर्ने समाजले घृणा र अपमान गरेको देखेर उसभित्र झन् बढी विद्रोह जाग्यो । “तिमीहरू परिवर्तनविरोधी हौ । जडताको समर्थक हौ । यो सामाजिक जडताविरुद्धको विद्रोह हो यो मेरो कदम । सामाजिक रूपान्तरणको पक्षपाती हुँ म । तिमीहरू जे गर्न सक्छौ गर ।” ऊ भिडमा उभिएर जोडजोडले चिच्यायो ।

अचम्म ! उग्र होला कि भन्ने ठानिएको भिड शान्त भयो । भिडभित्रका सयौँ आँखा यताउता हेर्न थाले । उसका आँखाले भिडका आँखा नियाल्न थाले । कुनै आँखामा अचम्मको विस्मात् थियो । कुनै आँखामा मौन समर्थन थियो । कुनै आँखामा उस्तै मौन विद्रोह थियो । तर धेरै आँखामा जडताविरुद्ध विद्रोह, परिवर्तन र सामाजिक रूपान्तरणको चाह थियो । 

ऊ पनि शान्त भयो । सयौँ आँखाका भाखा बुझेर ऊ सन्तुष्ट भयो । एउटा परिवर्तनविरोधी तìव कताकताबाट प्रकट भयो । उसलाई समाजविरोधीको आरोप लगायो र भन्यो, “परिवर्तनका नाममा मनपरी गर्न पाइन्न ।”

“मैले के त्यस्तो मनपरी गरेँ ?” अन्तरजातीय विवाह गर्नु जे पायो त्यही गर्नु हो ? कानुनले रोकेको छैन अन्तरजातीय विवाहलाई । बरु जातपात र छुवाछूतविरुद्ध बोलेको छ कानुनले । तपाईंले संविधान पढ्नुभएको छ भने थाहा होला, संविधानको धारा १८ (३) मा लेखिएको छ, ‘राज्यले नागरिकका बिच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन ।’ यसैगरी ‘जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८’ ले पनि ‘जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव गर्न नहुने’ भनेको छ । यस्तो गरेमा विभिन्न किसिमको सजाय हुने व्यवस्था सो ऐनले गरेको छ ।’ 


उसले कानुनका कुरा निकालेपछि सुन्नेका कान ठाडा भए । बिस्तारै नसुनेझैँ गरेर त्यहाँबाट हिँड्न थाले । बाँकी रहे परिवर्तनका आकाङ्क्षी र सामाजिक रूपान्तरणका पक्षपाती केही युवा । “हामी तपाईंको पक्षमा छौँ । एक्काइसौँ शताब्दीमा पनि समाज जातीय छुवाछूतको पछाडि दौडिरहनु विडम्बना हो । हामीले यो जातीय विभेद र छुवाछूतको जालो च्यात्नैपर्छ ।”

युवाको आवाज सुनेर उसले थोरै पुलकित भएर भन्यो, “यो एउटा फिलिङ्गो हो । अझै अरू धेरै यस्ता फिलिङ्गा बल्नुपर्छ । अनि मात्रै समाज रूपान्तरणको उज्यालो छरिन्छ देशैभरि ।” ‘हो, अब बल्नेछन् हजारौँ फिलिङ्गा र जलेर सकिनेछ समाजको विभेद, जडता र अन्धविश्वास ।’ युवाको संयुक्त आवाज गुन्जियो ।

एउटा झ्यालमा रमिता आँखाको आँसु पुछ्दै मुस्कुराउने प्रयत्न गर्दै थिई । अर्को झ्यालमा उसका बाआमा उत्सुकतापूर्वक हेर्दै थिए । क्षितिजमाथिको कालो बादल क्रमशः फाट्दै गइरहेको थियो ।   

Author

रत्न प्रजापति