• ८ मंसिर २०८१, शनिबार

भुलकी कुलदेवी

blog

बैतडीमा विभिन्न शक्तिपीठ छन् । तिनमा निङ्गलाशैनी, त्रिपुरा (रैण्याशैनी), डिलाशैनी, पोटलाशैनी, फलङ्गाशैनी आदि मुख्य हुन् । यी शक्तिपीठ अथवा भगवतीको विभिन्न चाडमा विभिन्न किसिमले पूजाआजा गरिन्छ । ठुल्ठुलो जात्रा (जाँत) पनि यहाँ लाग्छ । बैतडीकी सात दिदीबहिनी भगवतीमध्ये निङ्गलाशैनीलाई जेठी मानिन्छ । यिनीहरूका अनेक कथा छन् । आ–आफ्नो क्षेत्र अनुसार यिनीहरूका अलौकिक शक्तिका गुणगान गरिन्छ । यस्तै, मेलौली भगवतीको महिमाबारे पनि टाढा–टाढासम्म चर्चा हुन्छ । 

मेलौली भगवती मूल रूपमा भुल अर्थात् सार्की समुदायको कुलदेवी हुन् । सुदूरपश्चिम प्रदेशको बैतडीको दस वटा पालिकामध्ये एउटा पालिकाको नाम मेलौली भगवती पनि रहेको छ । समुद्री सतहबाट लगभग एक हजार सात सय मिटरको उचाइमा अवस्थित दुवाचौरले १३४ रोपनी जमिन ओगटेको छ । त्यसको पूर्वी भेगमा प्यागोडा शैलीको तीनतले सुन्दर मन्दिर रहेको छ, यही नै मेलौली भगवतीको मन्दिर हो । 

मेलौलीबारे रहेको किंवदन्ती

तेह्रौँ शताब्दीतिर हालको मेलौली–५, खलिगाडमा कत्युरी वंशको एक शाखाको आधिपत्य रहेको थियो । तिनको गाईगोरु लिएर प्रायः भुल जातिका ग्वाला शिरोडाको उत्तरी भेग भुलेउडा नाम गरेको पुरानो बस्ती क्षेत्रमा जाँदा रहेछन् । तिनको एउटा दुधालु गाई दिनभर पोषिलो घाँस चरेर पनि बेलुकी घर फर्कंदा कल्चौँडो रित्तै बनाएर आउँदो रहेछ । दैनिक यस्तो अवस्था देखेपछि कत्युरालाई ग्वालाले गाई दुहेर खाएको हो कि भन्ने शङ्का लाग्यो । यसपछि एक दिन गाईको चियो गर्न कत्युराले एउटा ग्वाला पठायो । 

केही समयपछि उक्त गाई आफ्नो बथानबाट छुट्टिएर एउटा भयलको झ्याङमुनि गएर शिला छेउ उभिई र कल्चौँडाको सम्पूर्ण दुध उक्त शिलामा समर्पित गरेर आफ्नो बथानमा मिसिन आई पुगी । गाईको यो लीला देखेको ग्वालाले घर फर्केर सबै कुरो बतायो । अनि दुध खाने शिलाप्रति मालिक आव्रmोशित हुँदै भन्यो, “पक्कै पनि त्यो बोक्सी (अतृप्त आत्मा, दोष) को करामत हो । त्यसलाई भोलि नै खनेर डोकोमा हाली महाकाली नदीमा बगाएर आउँछु । फेरि त्यसले मेरो गाईको दुध कसरी खान्छ, हेराँै !” 

भोलिपल्ट बिहानै ग्वालालाई लिएर डोको एवं बाउसोसहित कत्युरा भुलेउडाको शिला भएको ठाउँमा पुग्यो । दुध खाने शिलाप्रति रिसले चुर भएका गौमालिक कत्युराले छिटो–छिटो शिला खनेर डोकोमा हालेछ । अनि शिरोडाको बाटो हुँदै गएर हालको मेलौली मन्दिर रहेको स्थलमा डोको बिसाएछ । डोकोलाई सघाउ पुग्ने गरी भयलको लट्ठी गाडेछ । त्यही समय कत्युरालाई शौच लागेछ र अलि पर झ्याङतिर गएछ । त्यहाँ कतै पनि पानी पाइँदैनथ्यो । सामान्य प्रव्रिmया गरी डोको भएको ठाउँनेर आएछ । डोको छुन खोज्दा आकाशवाणी भएछ, “तिमी अशुद्ध छौ । मलाई नछोऊ । केही तल जाऊ, एउटा रुख होला, त्यहाँ तिमीले पानी पाउने छौ र सफा भएर आऊ ।” 

यो सुनेपछि कत्युरा डराएछ । अनि लज्जित पनि भएछ । आकाशवाणी अनुरूप निर्देशित ठाउँमा गएछ । पानी पनि पाएछ । अनि स्वच्छ र सफा भई फर्केछ । उक्त पानीनेर नै पछि नाउला बनाइयो र देउनाउला भनेर अद्यपि त्यसको जल मन्दिरमा चढाउने गरिन्छ ।

कत्युराले आफू शुद्ध र सफा भएपछि ठुलो गर्वका साथ डोको उचाल्न खोज्दा डोको च्यातिएर हातमा आएछ र शिला त्यही भूमिमा समाहित हुन पुगेछ । डोकोसँगै गाडिएको सुखो भयलको लहरो पलाएर हराभरा भएछ । विचित्र घटना घट्न थालेपछि कत्युरा अचम्मित भई दैवीय निर्देशन अनुसार चल्न बाध्य भएछ । 

यसै व्रmममा कत्युरालाई पुनः आकाशवाणीबाट आफू महामाया देवी भएको र आवश्यक पूजाआजाको व्यवस्थापन तिमीले नै गर्नुपर्ने आदेश दिइएछ । तत्कालीन समयमा त्यस भेगका बासिन्दा कार्की, कत्युराको अतिरिक्त पुन्ला, पुरेडु, काला, गोरा भुल, क्षेत्री, रोडा, डाङा, बुढपुजरा आदि थिए । तिनीहरू सबै भेला भई भगवतीको व्यवस्थापनको बाँडफाँट गरिएको थियो रे ! मेलौली भगवती भुल अर्थात् सार्कीको कुलदेवी हुन् भन्ने कुरा तपसिलका आधारमा पनि भन्न सकिन्छ ।  चमाकोट–भुलको राज बुङो– मेलौली नगरपालिका–५ को बृहत् गाउँ खलिगाड हो । यसको अनेक टोल विभिन्न जातिले भरिभराउ छन् तर अतीतमा बहुसङ्ख्यक जाति त्यही बुङाको सेरोफेरोमा बस्थे रे ! यहाँ अवस्थित दुई वटा कोट एउटा चमाकोट छ भने अर्को कत्युरीकोट ।

केदारको भण्डारभन्दा दक्षिणतिरको ठूलो थुम्कामा बृहत् चउर छ, जसलाई चमाकोट भनिन्छ । एउटा मूल वृत्ताकार चउरबाट लगभग दुई फुट उचाइमा अर्को वृत्ताकार चउर रहेको छ । त्यसमा कुनै काल कोटका भवनहरूको रहेको अनुमान गरिन्छ भने तलको चउर घोडा धपाउने आँगनका रूपमा रहेको भनिन्छ । 

यस गाउँमा चन्द र कत्युरीभन्दा अधिक शासक वर्ग सार्की जाति रहेको अनुमान लगाउन यो कोट ठुलो आधार हो । चमडा (छाला) को काम गर्नेहरूलाई आर्यहरूले चर्मकार वा चमार भन्दै आएको हुँदा प्रारम्भमा चमारकोट भनी हेला गरेको देखिन्छ तर पछि यस समुदायलाई विभिन्न किसिमले आरोपित गरी विस्थापित गरेर आफू बस्दा तिनको कोटमा नबसीकन घरहरू भत्काएर ढुङ्गाहरू ल्याएर कत्युरीकोटको र अन्य घरहरूको निर्माण गरेको अनुमान लगाउन सकिन्छ । 

आफू बसेका ठाउँलाई चमारकोटभन्दा अपमान हुने हुँदा त्यसको नाम परिवर्तन गरी ‘चमाकोट’ राखेको सहज अनुमान गर्न सकिन्छ । कुमाउ क्षेत्रदेखि बैतडीका विभिन्न क्षेत्रहरू र बझाङ, डोेटीका साथै डडेलधुरामा ठुला कोटहरू रहेका छन् । त्यस्तै छालाका रुपियाँ पनि निकालेको इतिहास कायम रहेकाले चमारकोट हुनुमा भ्रम छैन । यसै गाउँको सेरोफेरोमा चमारसैनी, भुलेउडा, भुलाखोला, भुलाइजर ठाउँ छन् । यहाँका भुल विस्थापित भई पल्लो गाउँ लखुल्ला (जुकानी) मा दुई परिवार अझै कायम छन् तर तिनीहरू शासक भुलका सन्तान हुन् वा फरक हुन्, स्पष्ट छैन ।

भुलकी कुलदेवी हुनुको कारण

मेलौली भगवती प्राप्तिको मूल ठाउँ भुलेउडा खलिगाडका भुल समुदायको लेकाली बस्ती हो । कत्युराभन्दा पूर्वका एकथरी शासक मातर पनि देखिन्छन् । यिनीहरूले सार्की समुदायलाई काटमार गरी लखेटेपछि लेकाली भेकको भुलेउडा वनजङ्गलका रूपमा रूपान्तरित भएको रहेछ, कत्युरा कालमा पुग्दा उक्त क्षेत्र गाईगोरु चराउने कार्यमा प्रयोग भएको रहेछ र मेलौली प्राप्तिको घटना घट्न पुग्यो । लामो समयसम्म भुलहरूले बसोबास गरेको ठाउँमा उक्त शिलालाई त्यस समुदायले कुलदेवीका रूपमा पूजाआजा गरेको हुनु पर्दछ । चमारकोटमा राँगा घुमाउने ः खलिगाडका राँगाबोका मेलौली जात्रामा लैजाने व्रmममा चमार (चमा) कोटमा बाजागाजाका साथ घुमाएर मात्र भण्डारमा ल्याउने चलन अद्यपि छ । त्यो पनि भुलको मूलथलोलाई सम्मान गरेको हो भन्ने देखिन्छ ।  भगवती भुलमा नै काम्नु ः हामी ठूला जाति हाँै भन्ने समुदायमा भगवती नकामी राजा नागी मल्लले रिसाएर भुल बनाइएका भनिने जातिमा धामी काम्न पुग्यो । निङ्गलाशैनी होस् वा डिलाशैनी होस् वा फलङ्गाशैनी होस् वा धुनीमाईको धामी होस्, हेपिएका वर्गमा यी देवी काम्ने गर्दछिन् । 

आर्यको भगवती भए राँगा नकाटिनुपर्ने ः ऋग्वेदकालीन अवस्थामा वैदिक आर्यहरूले जेजेको मांस भक्षण गरे पनि वर्णवादी पद्धतिले कडा रूप लिएदेखि ठूलो जनावरको मांस द्विज भनिनेहरूले त्याग गरेपछि दसौँ–बाह्रौँ शताब्दीमा भगवतीमा राँगा नकाट्नुपर्ने तर यी आदिवासीले आफ्नो कुलदेवीहरूमा राँगाबोका बलि दिएर प्रसादका रूपमा खाँदै आएको प्रथा सहज रहिरह्यो । 

मेलौली विभेद नगर्ने देवी 

मेलौलीको शोभा जात्राको समय कहिलेकाहीँ भगवतीको धामीका साथ चकडोलमा गङ्गेश्वरको धामी पनि सवार हुने गर्दछ । मेलौलीको पुजारीले गैँसेरको पनि पूजा लगाउनु हुन्छ । केही वर्ष यतादेखि दलित समुदाय पनि मन्दिरभित्र सहज ढङ्गले पूजा गराउन जाने गरिएको छ । 

खप¥या (अठौती मल्ल) सँग विभिन्न मोर्चामा प्रत्यक्ष लडेको लाटो देवता यस क्षेत्रमा पोखरेल लुहारको कुलदेवता हो । यसको पूजा गर्भगृहमा भगवतीसँग गरिन्छ भने मेलौलीको पूजनका लागि ल्याइने जलको देवनोलोको भित्र लाटोको उपनाउलो अवस्थित रहनुले मेलौली भगवतीले वर्णवादीहरूको जातीय भेदभाव मान्दिनन् । 

प्रारम्भिक कालमा मेलौलीको पोखरीस्थित भण्डारको जिम्मेवारी र एकतर्फ डोली बोक्ने अभिभारा कार्की जातिको थियो तर त्यसै गाउँका अर्का बासिन्दा भाटको श्रीमतीसँग कार्कीले पटक–पटक गर्न लागेको अभद्र व्यवहार त्यहीँका बासिन्दा पोखरेललाई सह्य भएनछ र योजनाबद्ध रूपमा त्यसको पतन गरिएछ र कार्कीहरू गाउँ नै छोडेर हिँडेछन् । 

केही समयपछि जात्राको समय मेलौलीको धामी कामेर खोइ मेरो कार्की भनेछ । भाट नै बोलेछन्, तिम्रो कार्की पोखरेल हो । तिनीबाटै नै विस्थापन भएको हुँदा भण्डारे र भगवतीको डोली बोक्ने जिम्मेवारी धामीले टीका लगाएर पोखरेललाई दिएछन् र स्वीकार पनि गरिछन् । यस्तै सुदूरपश्चिमका विभिन्न जिल्लामा मनाइने गौरा पर्व पनि विश्वकर्मा समुदायको रहेको थियो रे ! गौरा ल्याएपछि लामो समय सूतक परेपछि गौराको डालो फालिएछ । उक्त डालो गैरदलित महिलाले लगेर पूजा गरी सेलाएको अर्थात् बिदाइ गरेदेखि गैरदलितको हुन पुगेको किंवदन्ती पनि छ ।

अहिले जुन धर्म र संस्कृतिको हामी अवलम्बन गरिरहेका छौँ, यो आर्य र अनार्य संस्कृति र सभ्यताको मिश्रित रूप हो । प्राडा गोपाल शिवाकोटीका मतानुसार खस जातिको दुई हजार वर्षको अवधि जनजातिका रूपमा रहेको पाइन्छ । उनीहरूमा कुनै किसिमको जातिगत कट्टरता थिएन । जातीय समानता रहेको खस जाति वर्णाश्रम व्यवस्थाका कारण माथिल्ला र तल्ला जातिमा विभाजित हुन पुग्यो । चौधौँ शताब्दीतिर खस शासकहरूले हिन्दु धर्म ग्रहण गरेका हुन् । (खस जाति स्वत्वको लडाइँ पृ. ४६) 

उहाँकै मतानुसार नेपालमा सामान्य खस जाति भनेको ब्राह्मण, क्षेत्री, कामी, दमाई, सार्की, सन्न्यासी, वादी, दसनामी, गाइने आदिलाई मानिन्छ (खस जाति स्वत्वको लडाइँ पृ. ४७) । बैतडीकै जगन्नाथ भुलको, निङ्गलाशैनी लाबडको हो भन्ने कुरा सर्वमान्य छ भने मेलौलीलाई माथिका तथ्य प्रमाणको आधारमा सार्की जातिको मान्नमा कुनै किसिमको द्विविधा छैन ।   

Author

पुरनसिंह दयाल