• ११ पुस २०८१, बिहिबार

स्वास्थ्यकर्मी छ महिनादेखि तलबविहीन

blog

रजनी योगी 

सुर्खेत, वैशाख ३० गते । वीरेन्द्रनगर नगरपालिकाभित्रका स्वास्थ्यकर्मीले छ महिनादेखि तलबभत्ता पाएका छैनन्। समयमै तलब नपाएपछि उनीहरूले गुनासो गर्न थालेका छन्। समयमा रकम निकासा नहुँदा नगरपालिकामा कार्यरत ९० जना स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब भत्ता पाउन नसकेका हुन्। उनीहरूले गत मङ्सिरदेखि तलब भत्ता नपाएको गुनासो गरेका छन्। 

वीरेन्द्रनगर नगर अस्पतालमा कार्यरत सिनियर अनमी प्रमिला बिसीले छ महिनादेखि तलब नपाएको गुनासो गर्नुभयो। उहाँ २०७८ वैशाख–१ गते दैलेखको भैरवी गाउँपालिका अन्तर्गतको कुसापानी स्वास्थ्यचौकीबाट काज सरुवामा आउनुभएको हो। भोको पेट काम गर्न नसकिने भन्दै उहाँले सरकारले आफूहरूलाई बेवास्ता गरेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, “सरकारले पैसा नपठाउँदा बिनापारिश्रमिक काम गर्न परिरहेको छ। धेरै पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान भएन। अब दबाबमूलक कार्यव्रmम गर्ने तयारी गरेका छौँ।” आफूहरूको समस्यामा नगरपालिका समेत बेखबर बनेको उहाँको भनाइ छ।  

नगर अस्पतालमै कार्यरत अर्की सिनियर अनमी निशा रिजालले सरकारले समयमै तलब उपलब्ध नगरे दबाबमूलक कार्यव्रmम गर्ने बताउनुभयो। उहाँ २०७८ साल वैशाखमा दैलेखको गुराँस गाउँपालिकाको गोगनपानी स्वास्थ्यचौकीबाट काजमा आउनुभएको हो। गत मङ्सिरदेखि तलब खान नपाउँदा घर खर्च चलाउन समस्या भएको उहाँले बताउनुभयो। रिजाल भन्नुहुन्छ, “हामीले पटक–पटक सकारको ध्यानाकर्षण गराउँदै आएका छौँ। समयमै सरकारले तलब नपठाएर आफूहरूलाई अन्याय गरेको छ।” नगरपालिकाले गरेको आवेदनका आधारमा नै आफूहरू काज सरुवा भएर आएको भन्दै उहाँले नगरपालिकाले समेत आफूहरूलाई बोझको रूपमा लिएको बताउनुभयो। 

वीरेन्द्रनगर नगरपालिका वडा नं.–२, उतरगङ्गा स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी उदय थापाले नेपाल सरकारले छ महिनासम्म तलब नदिएर आफूहरूमाथि अन्याय गरेको बताउनुभयो। पटक–पटक सम्बन्धित निकायमा जानकारी गराउँदासमेत समस्याको सुनुवाइ नभएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “नगरपालिकाका करारका कर्मचारीले तलब खाने नेपाल सरकारका कर्मचारीले तलब खान नपाउने यो कस्तो खालको नियम हो। कर्मचारीले भोको पेट कहिलेसम्म काम गर्ने ? सरकारले हामीहरूलाई अन्याय गरेको छ।” उहाँ २०७८ वैशाखमा बराहताल गाउँपालिकाबाट वीरेन्द्रनगरमा काज सरुवामा आउनुभएको हो। दोहोरो सहमति अनुसार नै आफूहरू काममा आएको उहाँ बताउनुहुन्छ। अहिले नगरपालिकाले आफूहरूलाई पुरानै दरबन्दीमा जान भनेको थापाले बताउनुभयो। 

वीरेन्द्रनगर नगरपालिकाका ९० जना निजामती स्वास्थ्यकर्मीले छ महिनादेखि तलब भत्ता पाउन सकेका छैनन्। नगरपालिकामा स्वास्थ्यतर्फको दरबन्दी ३८ जना भएकोमा ५२ जना स्वास्थ्यकर्मीले काजमा काम गर्दै आएका छन्। अन्य जिल्लाका विभिन्न स्थान र सुर्खेत जिल्लाका अरू पालिकाबाट कर्मचारी काज सरुवामा आएका हुन्। गत मङ्सिरदेखि दरबन्दी र काजका कर्मचारीले तलब खान पाएका छैनन्। 

नेपाल सरकारले नै कर्मचारीको तलब नपठाउँदा कर्मचारी समस्यामा परेको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो। उहाँले भन्नुभयो, “उहाँहरू निजामती कर्मचारीहरू हुनुहुन्छ। नेपाल सरकारले नै तलब नपठाएकाले समयमा नै तलब खान नपाउनु भएको हो। यो समस्या नगरपालिकाको होइन।” नगरपालिकामा आवश्यकताभन्दा बढी कर्मचारी हुँदा बेलाबेला यस्ता समस्या आउने गरेको उहाँको भनाइ छ। उहाँका अनुसार कर्मचारीको सङ्गठन संरचना (ओएनएम)मार्फत कर्मचारी व्यवस्थापनमा लाग्ने उहाँले बताउनुभयो।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रदेव गिरीले पनि नेपाल सरकारले कर्मचारीको तलब नपठाउँदा समस्या भएको बताउनुभयो। रात दिन नभनी चौबिसै घण्टा बिरामीको सेवामा खटिनुपर्ने स्वास्थ्यकर्मीलाई समयमा तलब नदिएर अन्याय गरेको उहाँको भनाइ छ। गिरीका अनुसार नगरपालिकामा दरबन्दी ३८ जना र काजमा ५२ सहित नगरपालिकाले राखेका करारका १९ जना कर्मचारी छन्। जसमध्ये नेपाल सरकारका कर्मचारीले तलब खान नपाएका हुन्।

कर्मचारी छरपस्ट हुँदा कार्यसम्पादन सकस 

कर्मचारी छरपष्ट हुँदा कार्यसम्पादन सकस भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताउनुभयो। नगरपालिकामा हाल स्थायी र करार गरी ३५५ जना कर्मचारी कार्यरत छन्। धेरै कर्मचारी हुँदा उनीहरूको व्यवस्थापनमा सकस भएको उहाँको भनाइ छ। नगरपालिकामा स्वास्थ्यमा ३८ जना कर्मचारीको दरबन्दी छ। काजमा स्थायी कर्मचारी ५२ जना कार्यरत छन्। स्वास्थ्यका कर्मचारी आफ्नो दरबन्दीमा जान नमान्दा व्यवस्थापनमा सकस भएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “सरकारले उहाँहरूको तलब छ महिनादेखि नगरपालिकामा पठाएको छैन। उहाँहरू आफ्नो दरबन्दीमा जान मान्नु हुँदैन।”

अझै बनेन सङ्गठन संरचना 

नगरपालिकामा कर्मचारीहरूको सङ्गठन तथा संरचना व्यवस्थापन (ओएनएम) अझै बनेको छैन। ओएनएम नबन्दा कर्मचारी कसरी व्यवस्थापनमा सकस भइरहेको छ। नगरपालिकाको ओएनएम निर्माणको काम अन्तिम चरणमा पुगेको प्रशासकीय अधिकृत डाँगी बताउनुहुन्छ। नगरपालिकामा कर्मचारीको चाप धेरै भएकाले सङ्गठन संरचना नबन्दा थप समस्या भएको छ।