• ११ पुस २०८१, बिहिबार

आगलागीमा परेका पाँच जनाको अवस्था गम्भीर

blog

आगलागी परी घाइतेभएकाहरुको उद्धार गरिदै । तस्बिर : नेपाल प्रहरी

कमल शर्मा

दैलेख, वैशाख २७ गते । दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाइते भएकाहरुको उद्धार गरिएको छ । आठविस नगरपालिका –६ मा रहेको सल्लेरी सामुदायिक वनअन्तर्गत माल्यामा भएको आगलागीमा परी दश जना घाइते हुनुभएको थियो । 

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक किशोर लम्सालले घाइतेहरु हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जानकारी दिनुभयो । उहाँले  आठबिस नगरपालिका –६ का ३८ वर्षीय भैरै बिक, ३२ वर्षीय नबिन बिक, वर्ष २८ को प्रजा बिक, ३६ वर्षीया मैना बिकलाई उद्धार गरी पठाइएको र वर्ष ४० को बसुन्धारा बिकलाई लिन हेलिकप्टर मगाइएको छ ।  

आगलागीमा परी वर्ष २५ को जुना बिक, वर्ष २९ को मिना बिक, वर्ष १७ को छत्रा विक, वर्ष ५५ को मोतिराम कामी, वर्ष १८ को जुना विक सामान्य घाइते भएको र उहाँहरुको आठविस नगरपालिमा रहेको आधारभुत अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । उहाँले कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि भेरी अस्पताल नेपालगञ्ज उपचार सुरु गरिएको जानकारी दिनुभयो ।

आठबिस नगरपालिका –४ को भेलतडीबाट वडा –६ राँता जोडने गोरेटो बाटो खन्न उहाँहरु जानुभएको थियो । सामुदायिक वनमा आगलागी भएपछि आगलागीबाट बच्न ओडारमा जानेक्रममा भागदौड मच्चिएको बताइएको छ । 

आठबिस नगरपालिका –६ स्थानीय बलबहादुर थापाले सामुदायिक बनमा आगलागी भएको थाहा पाएपछि आगलागीबाट बच्न भागदौड मच्चिएको र त्यसैक्रममा आगोमा परेर घाइते भएको बताउनुभयो । आठबिस नगरपालिकाका नगर प्रमुख तर्क बडुवालले सुरुमा आगलागीमा १२ जना परेको भन्ने खवर आए पनि १० जना मात्र रहेको जानकारी दिनुभयो । 

गम्भीर घाइतेहरुको उद्धार गरिसकेको र अन्य घाइतेको उपचारको व्यवस्थापन भइरहेको उहाँको भनाइ छ । घाइते सबै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीमा लागेकाहरु रहेको उहाँले जानकारी दिनुभयो ।