• १३ साउन २०८१, आइतबार

रायमाझी अनुसन्धानलाई सघाउने एमालेको निर्णय

blog

ललितपुर, वैशाख २७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सचिवालय बैठकले नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक लैजाने प्रकरणमा मुछिनुभएका पार्टी सचिव टोपबहादुर रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय गरेको छ । बैठक मङ्गलबार बसेको थियो । सचिवालय बैठकका बारेमा जानकारी दिँदै पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एमाले विधिको शासन र कानुन मान्ने पार्टी भएकाले सचिव रायमाझीले प्रहरी अनुसन्धानमा सहयोग गर्ने निर्णय गरेको बताउनुभयो । 

उहाँले सचिव रायमाझीलाई पार्टीले कारबाही गर्ने सन्दर्भमा हतार नगर्ने प्रतिक्रिया दिँदै भन्नुभयो, “अनुसन्धान निष्कर्षमा पुगिसकेको छ र ? दोषी ठहर भइसकेको छ र ? अहिले त अनुसन्धानको प्रारम्भ मात्रै छ । यस्ता कुरामा हतार गरेर हुँदैन ।” बैठकमा मिसन ग्रासरुटको समीक्षा र यसले हासिल गरेका उपलब्धिका बारेमा विभिन्न १० वटा एजेन्डा तय गरेको छ ।

रायमाझीको घरमा छापा, थप दुई पक्राउ 

टोपबहादुर रायमाझीको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी भने फरार हुनुहुन्छ । 

सो घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले मङ्गलबार रायमाझीको घर खानतलासी गरेको हो । घरमा प्रहरीले रायमाझीलाई भने फेला पार्न सकेन ।

परिसर प्रमुख दानबहादुर कार्कीले रायमाझीको घर खानतलासी भएको जानकारी दिनुभयो तर घरबाट के बरामद भयो वा भएन भन्नेबारे अनुसन्धान जारी रहेकाले खुलाउन नमिल्ने बताउनुभयो ।

सोही प्रकरणमा जोडिएका थप दुई जनालाई प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले   रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले जानकारी दिनुभयो । सुनसरीका चौधरी र काठमाडौँका केसीको विवरण भने प्रहरीले गोप्य राखेको छ । 

सोही प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई र टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यसअघि सोही प्रकरणका दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष ‘बादल’ का छोरा प्रतीक थापा र इन्द्रजितका छोरा नीरज राईविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भए पनि प्रहरी पक्राउ फेला पार्न सकेको छैन ।   प्रहरीले पक्राउ परेका अभियुक्तहरूमाथि लागेका आरोप र त्यसका प्रमाण सङ्कलन गरिरहेको जनाएको छ । २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म पाण्डे गृहसचिव र २०७४ फागुनदेखि २०७७ असार २९ गतेसम्म राई गृहमन्त्री बादलका सुरक्षा सल्लाहकारको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

पाण्डे र राईले बिचौलियाको इसारामा नक्कली शरणार्थी बनाउन भूमिका खेलेको र रकमसमेत लेनदेन गरेको प्रमाण प्रहरीले बरामद गरेको जनाएको छ ।