• १५ वैशाख २०८१, शनिबार

बाजुरामा आँखा शिविर : ज्येष्ठ नागरिक खुसी

blog

कोल्टी स्वास्थ्य केन्द्रमा सञ्चालन भएको आँखा शिविरमा आँखाको अप्रेसन गरेका स्थानीय। तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, वैशाख २६ गते। बाजुरामा सञ्चालन गरिएको आँखा शिविरले ज्येष्ठ नागरिकमा खुसी ल्याएको छ। दुर्गम गाउँ बस्तीमा रहेका विपन्न परिवारलाई लक्षित गरेर स्थानीय तह र एकएक पाइला अभियानको सहयोगमा बुढीगङ्गाको टाँटे स्वास्थ्य र बुढीनन्दाको कोल्टी स्वास्थ्य केन्द्रमा पाँच दिने आँखा शिविर सञ्चालन गरिएको हो।

आर्थिक अभावका कारण राम्रो ठाउँमा गएर आँखाको उपचार गर्न नसकेका बाजुराका ज्येष्ठ नागरिकको वैशाख २१ देखि २६ गतेसम्म गाउँमै सञ्चालन भएको आँखा शिविरमा राम्रो सुविधा पाएका हुन्। गाउँमै सञ्चालन भएको यो शिविरमा आँखाको अप्रेसन हुँदा निकै खुसी भएको बुढीनन्दा नगरपालिका–१ की स्थानीय ज्येष्ठ नागरिक रमिला विष्टले जानकारी दिनुभयो। 

दुर्गम बस्तीका दलित, महिला तथा विपन्न परिवारका बालबालिकालाई लक्षित गर्ने गरी निःशुल्क रूपमा आँखा शिविर सञ्चालन गरिएको आँखा उपचार केन्द्र बाजुराले जनाएको छ। मोतीबिन्दु रोगका कारण कयौँ ज्येष्ठ नागरिक आँखा नदेख्ने समस्या भोग्दै आएका थिए। सोही समस्याको समाधान गर्ने गरी स्थानीय तहको समन्वयमा शिविर सञ्चालन  गरिएको आँखा उपचार केन्द्र बाजुराका नेत्र साहायक चक्र खड्काले जानकारी दिनुभयो। 

वैशाख २१ देखि २२ गतेसम्म बुढीगङ्गाको टाँटे स्वास्थ्य चौकीमा सञ्चालन गरिएको आँखा शिविरमा ११७ जनाको आँखाको अप्रेसन गरेका छन्। त्यसैगरी वैशाख २४ देखि २६ गतेसम्म कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा झण्डै दुई सय बढीको आँखाको अप्रेसन भएको खड्काले बताउनुभयो।

शिविरमा नाम दर्ता गरेका धेरै जसोको आँखामा सामान्य समस्या भए पनि आँखा नदेख्नेको अप्रेसन नै भएको छ। आँखामा मोतीबिन्दु तथा चोटपटक लागेर पनि आर्थिक समस्याका कारण उपचार गर्न नसकेकालाई यो शिविरले निकै सहज बनाएको छ। 

शिविरमा सहभागी भएका आँखाका बिरामीमध्ये सबै भन्दा बढी मोती बिन्दुको समस्या देखिएको डा. इस्मद अधिकारीले जानकारी दिनुभयो। जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिकाले आँखाको अप्रेसनका लागि शिविरमा जाने आँखाका बिरामीलाई निःशुल्क रूपमा यातायातको सुविधा दिएको थियो। आर्थिक स्थिति कमजोर भएका कारण कोल्टी शिविरमा जान नसक्नेलाई सहज हुने गरी गाउँपालिकाले निःशुल्क यातायात सेवा प्रदान गरिएको जगनाथ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गौरी सार्कीले जानकारी दिनुभयो।