• १३ साउन २०८१, आइतबार

वार्षिकोत्सवमा तस्बिर प्रदर्शनी

blog

काठमाडौँ, वैशाख २५ गते । गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा आइतबार राष्ट्रिय सभागृहमा पुराना तस्बिर प्रदर्शनी गरिएको छ ।

गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तस्बिरहरूको अवलोकन गर्नुभयो । सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तस्बिरहरूबारे जिज्ञाशा राख्नुभएको थियो ।  

प्रदर्शनीमा गोरखापत्र संस्थानका विभिन्न प्रकाशनमा प्रकाशित पुराना तस्बिरहरू  समेटिएका छन् । साथै गोरखापत्र संस्थानका फोटो पत्रकारहरूले विभिन्न समयमा खिचेका तस्बिरहरूलाई पनि प्रदर्शनीमा समावेश गरिएको छ ।  

वि.सं. २०३० देखि २०६० को दशकको आसपासमा खिचिएका ६० वटा तस्बिर प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा राखिएका श्यामश्वेत तस्बिरहरूले ऐतिहासिक, राजनीतिक, सांस्कृतिक, र सामाजिकलगायतका विषयवस्तुलाई झल्काएका छन् । प्रदर्शनीमा गोरखापत्रका तत्कालीन फोटो पत्रकारहरू गोपाल चित्रकार, बिन्दुराजसिंह सुवाल, रामेश्वर कायस्थ, भीम गुरुङ, नातिकाजी महर्जन, राजेन्द्र चित्रकार, शेखर चौलागाईं  र रमेश क्षेत्रीले कैद गर्नुभएका तस्बिरहरू राखिएका छन् ।

गोरखापत्रका पूर्वमहाप्रबन्धक तथा वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले आफूले खिचेको तस्बिर प्रदर्शनीमा देख्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।  तस्बिर प्रदर्शनी वैशाख २५ गतेदेखि धर्मपथस्थित गोरखापत्र संस्थानको भवन परिसरमा हुने जनाइएको छ ।