• २३ वैशाख २०८२, मङ्गलबार

गोरखापत्र प्रकाशन शैली लागु

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा गोरखापत्र प्रकाशन शैलीको विमोचन गर्नुहुँदै । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख २५ गते । गोरखापत्र संस्थानले संस्थानका नेपाली प्रकाशनहरूमा लागु हुने गरी गोरखापत्र प्रकाशन शैली प्रयोगमा ल्याएको छ । संस्थानका प्रकाशनहरूका समाचार सामग्री भाषिक तथा अन्य विविध पक्षमा एकरूपता कायम गर्दै अझ स्तरीय बनाउन गोरखापत्रका यसअघिका शैली पुस्तिका, नेपाल प्रज्ञा–प्रतिष्ठानको पछिल्लो शब्दकोश तथा अन्य समाचार संस्थाका शैली पुस्तिकाहरूलाई आधार बनाएर गोरखापत्र प्रकाशन शैली प्रकाशनमा आएको हो । गोरखापत्र दैनिकको १२३ औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आइतबार आयोजित विशेष समारोहमा प्रकाशन शैलीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विमोचन गर्नुभयो । 

गोरखापत्रका प्रकाशनका अतिरिक्त अन्य संस्थाहरू तथा पत्रकारिताका व्यावहारिक प्रयोक्ता एवं अध्येताका लागि समेत उपयोगी हुने गरी गोरखापत्र प्रकाशन शैली तयार पारिएको छ । यसका सम्पादकमा गोरखापत्र दैनिकका प्रमुख समाचारदाता केदार भट्टराई हुनुहुन्छ ।