• ५ जेठ २०८१, शनिबार

गोरखापत्रको १२३ औं वार्षिकोत्सव विशेष : गौरवपूर्ण इतिहास र प्रविधिमा फड्को

blog

काठमाडौं, वैशाख २४ गते । वि.सं. १९५८ वैशाख २४ मा गोरखापत्र प्रकाशनको प्रारम्भ नेपालमा पत्रकारिताको शिलान्यास मात्र थिएन, सञ्चारको विकासमा पनि एउटा फड्को थियो। नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्रले आइतबार १२३ वर्ष लामो अविचलित यात्रा तय गरेको छ ।

यो गौरवपूर्ण यात्रामा गोरखापत्र जहानियाँ राणा शासन, राजा, प्रजातन्त्र, पञ्चायतदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको साक्षी बनेको छ । सरकारले गोरखापत्र प्रकाशन भएको मितिलाई नै राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णयसमेत गरेको छ । दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रमसमेत गरिएको छ ।

गोरखापत्र संस्थानले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरेको छ । १२३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिले दिनुभएको शुभकामना सन्देशलाई भिडियो मार्फत प्रस्तुत गरिएको छ ।