• १९ चैत २०८१, मङ्गलबार

मेरो प्रथम सरस्वती

blog

सानैछँदाको कुरो हो, पश्चिमपट्टि बागमती र पूर्वतर्फ मनमती (मनोहरा) तर्न पुल थिएन । पुल नभएपछि वर्षायाममा वारपार गर्न कठिनाइ हुन्थ्यो । त्यो बेलाको कोटेश्वर (हाल : काठमाडौँ महानगरपालिका वडा नम्बर ३२) राजधानीभित्रको अत्यन्त दुर्गम इलाका थियो । जन्म कोटेश्वरमा भए पनि कान्छी छोरी होमकुमारी (मिश्री नानी) को एक मात्र सन्तान भएका कारण मायाममता देखाइ बिहान दहीभात र बेलुका दूधढिंडो वा मोहीढिंडो राम्ररी खुवाउने वाचासहित मेरी हजुरआमा भुवनकुमारी अर्यालले मलाई कौशलटारस्थित मामाघर लगेको प्रसङ्ग नानी (माता) बाट सुन्थेँ । राजधानीबाट अझ टाढा भए पनि भक्तपुरको कौशलटार त्यतिबेला काठमाडौँको कोटेश्वरभन्दा सुगम मानिन्थ्यो ।

मेरी माताका ठूलोबुबाको छोरा वैकुण्ठप्रसाद अर्याल गोरखापत्रमा रातमा काम गर्ने र बिहान घर फर्कंदा एकप्रति गोरखापत्र लिई आउनु हुन्थ्यो । अनि गाउँभरिका मानिस पिंढी, फलैँचा र आँगनमा झुम्मिन्थे र गोरखापत्र वाचन गर्थे । कखरा सिक्नुअघि नै यस्तो वातावरण पाएपछि मेरो गोरखापत्रसँग आबद्धता सुरु भयो । वैकुण्ठ मामा लोकन्थलीबाट अघि बढेको घरको माथिल्लो तलाबाट देख्नासाथ उहाँको खोकिलाको पत्रिका खोस्न र घरमा आएका व्यक्तिहरूलाई पढ्न दिन म दगुर्थें । मेरो मानसपटलमा औपचारिक शिक्षाको सुरुवात हुनुअघि नै सरस्वतीको आगमन र बास यसरी गोरखापत्रले नै गरायो । रहँदा बस्दा गोरखापत्रमा छापिएका समाचार, व्यक्तिविशेषको नियुक्तिदेखि मृत्युसम्म र विश्लेषण श्रुतिको माध्यमबाट केही बुझ्नेजान्ने हुन थालें ।

वैकुण्ठ मामाको घरमा गोरखापत्र पढ्न झुम्मिनेहरूको हुल एसएलसीको परीक्षाफल आएको दिन विशेष हुन्थ्यो । परीक्षाफल हेर्न कौशलटार वरपर, लोकन्थली, सानो ठिमी, बालकोट, इमाडोल, चाङाथली, टीकाथलीदेखि मानिसहरू आउँथे । जनप्रेमी विद्यालय, कौशलटारबाट ५ कक्षा उत्तीर्ण भएपछि मेरो दूध, दही, मोहीसँगै गोरखापत्र पनि छुटे । 

एक जना मामाघरतिरका राहुत थरका कैलेमामा भनी सम्बोधन गरिने व्यक्ति पाटन सङ्ग्रहालयमा कार्यरत हुनुहुन्थ्यो । उहाँको कार्यालयमा ४ बजे विद्यालय (पाटन माध्यमिक विद्यालय, पाटनढोका) छुटी जाँदा दुई कुरा फाइदा हुन्थ्यो । पहिलो सरस्वती गोरखापत्र पढ्न पाइने र दोस्रो उहाँको साइकलमा बसी अरू साथीसरह बेलैमा घर फर्कन सजिलो हुन थाल्यो तर यो क्रम नियमित थिएन । 

त्रिचन्द्र कलेज भर्ना भएपछि भने सरस्वती सदनको दक्षिणपट्टिको माथिल्लो तलामा रहेको पुस्तकालयमा नियमित रूपमा जाँदा गोरखापत्र, यसको सह–प्रकाशन दी राइजिङ नेपाल तथा अन्य साना आकारका दैनिक र साप्ताहिक पत्रपत्रिका पढ्न पाइयो । साथै भारतीय पुस्तकालय (नेपाल वायुसेवा निगमको भवनको भुइँतला) जान थालेपछि भारतबाट प्रकाशित हुने अङ्ग्रेजी अखबार, साप्ताहिक र मासिक पनि पढ्न सुरु गरेँ तर गोरखापत्रप्रतिको आशक्ति कायम मात्र रहेन, अझ बढ्दै गयो । यो समयदेखि गोरखापत्रसँगको लगाव छुटेको छैन । यद्यपि विदेशस्थित नियोगमा काम गर्दा १५÷२० दिनको अखबारका मुठा एकै पटक प्राप्त हुन्थ्यो । मेरा पिता बलराम भट्टराईको अखबारमा छापिने समाचार, सूचना, विश्लेषण, विज्ञापन, श्रद्धाञ्जली सबै नछोडी पढ्ने बानी भएकोले यदाकदा आफूले हेर्न छुटेका सामग्रीको ज्ञान पनि मलाई हुन जान्थ्यो । बुवाको कतिपय सूचना सामग्री डायरीमा टिप्ने बानी पनि थियो । यसबाट व्यस्तता भए पनि अद्यावधिक रूपमा नेपालको सूचनासँग अभ्यस्त हुन मलाई सघाउ पुग्यो । 

विद्यार्थी जीवनमा गोरखापत्र र दी राइजिङ नेपालमा सम्पादकलाई चिठी लेख्ने कार्यबाट मैले दुवै दैनिकसँग सहभागिता जनाउन सुरु गरेको थिएँ । यसै क्रममा स्नातकोपाधिपछि शिक्षा क्षेत्रमा काम सुरु गरेको केही समयभित्रै कोटेश्वर निवासी मुकुन्दप्रसाद पराजुलीले दी राइजिङ नेपालमा काम गर्ने भए स्वागत छ भन्ने प्रस्ताव लिएर मेरो घर आउनु भयो । उहाँले (मैले मुकुन्दमामा भन्ने) ले मेरो मातासँग 

‘विद्यालयमा अध्यापन गर्नुभन्दा भान्जालाई दी राइजिङ नेपाल राम्रो हुन्छ पठाइदेऊ बहिनी’ भन्नु भयो । उहाँ गोरखापत्रमा काम गर्नु हुँदोरहेछ भन्ने कुरा पनि मलाई त्यही बेला थाहा भयो र दी राइजिङ नेपालको यात्रा सुरु भयो ।

सुरुमा ज्यालादारी, त्यसपछि करार र लोकसेवा आयोगका परीक्षा उत्तीर्ण गरी स्थायी उपसम्पादकको नियुक्ति लिएपछि मेरो दी राइजिङ नेपालमा नियमित रूपमा र यदाकदा गोरखापत्रमा लेखरचना प्रकाशित हुने क्रम सुरु भयो र संस्थान छोडेको वर्षौंसम्म जारी रह्यो । यसैबीच लोकसेवा आयोगको परीक्षामा सर्वप्रथम स्थान हासिल गरी परराष्ट्र सेवामा प्रवेश गरेपछि र अझ बढी विदेशस्थित नियोगमा सरुवा भएपछि कार्यव्यस्तताले गोरखापत्र र दी राइजिङ नेपालमा लेखरचना छपाउने कार्य पातलिँदै गयो ।

मैले गोरखापत्र संस्थानमा कार्य गर्दा गोविन्दप्रसाद प्रधान महाप्रबन्धक हुनुहुन्थ्यो । प्रशासनमा चाहिँ सम्पादकीय शाखामा काम गर्दा उब्जेको समस्याका कारण सरुवा हुनु भएका श्रीप्रसाद गौतम हुनुहुन्थ्यो । उहाँ पुनः सम्पादकीय फाँटमा फर्की प्रधानसम्पादक पनि हुनुभयो । अन्य प्रशासनिक अधिकारीमा द्वारिकाप्रसाद श्रेष्ठ र भागवतचन्द्र कर्माचार्य हुनुहुन्थ्यो ।

त्यसबेला संस्थानमा बरोबर भेटघाट, नीतिनिर्देशन र रेखदेख गर्न आउने वरिष्ठ पदाधिकारीमा राजदरबारका चिरणशमशेर थापा र सञ्चार सचिव तीर्थराज तुलाधर पर्नुहन्थ्यो । तुलाधरको अङ्गे्रजी भाषाको ज्ञान र लेखनशैलीले त्यो समय प्रसिद्धि कमाएको थियो । सरकारी सेवामा प्रवेशपछि उहाँको अन्तिम अवस्थासम्म मेरो सम्पर्क जारी रह्यो । यसैबीच उहाँ साउदी अरेबियाका लागि राजदूत पनि हुनुभएको थियो । संस्थानमा आउने अन्य नियमित आगन्तुकमा पत्रकारिता क्षेत्रका भोलाविक्रम राणा, विचित्रबहादुर देवकोटा, चन्द्रलाल झा, गोविन्द वियोगी, मणिन्द्रराज श्रेष्ठ, मणिराज उपाध्याय, बालमुकुन्द देव पाण्डे, पशुपतिदेव पाण्डे, मदन शर्मा, राम प्रधान, आदित्यध्वज जोशी, भैरव रिसाल, श्रीधर खनाल, रमेशनाथ पाण्डे, मदनमणि दीक्षित, पे्रमकुमारी पन्त, इन्दुकान्त शर्मा, गोपालदास श्रेष्ठ आदिको सम्झना मेरो मानसपटलमा ताजा छ । 

म दी राइजिङ नेपालमा कार्यरत रहँदा प्रधानसम्पादक वरुणशमशेरलाई सल्लाहकार सम्पादक बनाएर मनोरञ्जन जोशीलाई प्रधान सम्पादक बनाइयो । अन्य वरिष्ठ व्यक्तिमा आदित्यमान श्रेष्ठ, श्यामबहादुर केसी, रत्नकाजी तुलाधर, कृष्णभक्त श्रेष्ठ, लालध्वज देउसा राई, हरिश्चन्द्रलाल सिंह, गौतमप्रसाद मानन्धर, परशुराम खरेल, लक्ष्मीबहादुर नकर्मी आदि हुनुहुन्थ्यो । मानन्धर र अर्का व्यक्ति मोहनवीर सिंहको लेखनीलाई धेरैले तारिफ गर्थे । हामी प्रवेश गर्नेक्रममा दौँतरीका रूपमा पुनम थापा, श्रीशशमशेर (उहाँ पछि गोरखापत्र संस्थानका प्रमुख र सञ्चार राज्यमन्त्री पनि बन्नु भयो), पुष्पा श्रेष्ठ, शुभद्रा बेलबासे, जवाहरकृष्ण मानन्धर, शैलेन्द्र सिंह, सुरेन्द्रबहादुर न्यौपाने आदि हुनुहुन्थ्यो । छोटो समय त्यहाँ कार्यरत रहँदा मसँग राम्ररी परिचित व्यक्तिमा कुन्दमणि दीक्षित, किशोर भट्टराई र सतीश श्राफ (मेरो त्रिचन्द्र कलेजको सहपाठी पनि) हुनुहुन्छ । 

तत्कालीन समयमा गोरखापत्र र दी राइजिङ नेपालका सम्पादक समूहबीच अत्यन्त घनिष्ट र आत्मीय सम्बन्ध थियो । साथै कतिपय अधिकारी एक प्रकाशनमा काम गरी अर्कोपट्टि सेवारत हुनुका साथै दुवै प्रकाशनका लागि लेखरचना छपाउँथे । यस्ता व्यक्तिहरूमा आदित्यमान श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, गोकुल पोखरेल हुनुहुन्थ्यो । भारतदत्त कोइराला पनि दी राइजिङ नेपालमा लामो समय काम गरी गोरखापत्रका प्रधानसम्पादक र पछि संस्थानकै प्रमुख हुनुभयो । मैले यहाँ काम गर्दा वरिष्ठ सम्पादकमा भारतदत्त कोइराला, गोकुलप्रसाद पोखरेल, मुकुन्द पराजुली, राधेश्याम भट्ट, रामचन्द्र न्यौपाने, नारायणबहादुर सिंह (कला समीक्षक पछि अञ्चलाधीश बन्नु भयो), रामचन्द्र गौतम, श्यामसुन्दर सैँजू, श्यामदीप थपलिया, पुरु रिसाल आदिको नाम सोझै मानसपटलमा आउँछ । 

त्यस्तै दी राइजिङ नेपालका पु्रफरिडर विष्णुहरि नेपाल पछि प्रशासन सेवामा सहायक सचिव तथा जापानका लागि राजदूत बन्नुभयो । गोरखापत्रमा प्रुफरिडर भई सेवा गर्नेहरू माथिल्लो पदमा पुग्नेमा अख्तियार अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त वेदप्रसाद सिवाकोटी तथा सर्वोच्च अदालतका न्यायाधीश भरतराज उपे्रती हुनुहुन्छ । दी राइजिङ नेपालमा सेवा गर्ने दुई जना मनोरञ्जन जोशी संयुक्त राष्ट्रसङ्घ न्युयोर्कस्थित स्थायी नियोगमा नायब स्थायी प्रतिनिधि र युवनाथ लम्साल डेनमार्कका लागि राजदूत हुनुभयो । 

अधिराजकुमार बसुन्धराको स्वर्गवास, राजा वीरेन्द्रको राज्याभिषेक, अधिराजकुमारी श्रुतिको न्वारान, नेपाल–भारत वाणिज्य तथा पारवहनसम्बन्धी वार्तामा आएको गतिरोधपछि भारतीय टोली नेता डा. पीसी अलेक्जेन्डरको हठात् स्वदेश प्रस्थानसम्बन्धी रिपोर्टिङ गरेको म कहिल्यै बिर्सन सक्दिनँ । यस्तै जुङ्को ताबेईले सगरमाथाको पहिलो महिला आरोहीका रूपमा राखेको कीर्तिमानलगत्तै उहाँ र उहाँको पर्वतारोहण टोलीको नेतृ एइको हिसानो र नेपाली आरोही आङछिरिङ शेर्पाको अन्तर्वार्ता पनि बिर्सन सक्दिनँ । नेपाललाई अत्यधिक रुचाउने जापानका तत्कालीन प्रधानमन्त्री रियुतारो हासिमोतो (उहाँ ३३ पटक नेपाल आउनुभएको थियो) र परराष्ट्रमन्त्री इइचिरो हातोयामासँग लिएको अन्तर्वार्ता त भुल्ने कुरै भएन ।

यसरी केही प्रसिद्ध जापानीसँग भएको अन्तक्र्रियाका समयमा कुनै दिन जापानमा नै नेपालको राजदूत बनिएला भन्ने मैले सपनामा पनि सोचेको थिइनँ । जुङ्को ताबेई, हासिमोतो परिवार, प्रधानमन्त्री डा. युकिओ हातोयोमा, युइचिरो म्युराजस्ता हस्तीहरू म राजदूत हुँदा सहयोगी मात्र हुनुभएन, उहाँहरूको द्विपक्षीय सम्बन्ध विस्तारमा अतुलनीय योगदान रह्यो । २०१५ अप्रिल २५ को विनाशकारी भूकम्पपछि जापानबाट सरकारी, गैरसरकारी र निजी सहयोग जुटाउन मेरो प्रयासमा स्वर्गीय प्रधानमन्त्री सिन्जो आवे, स्वर्गीय जुङ्को ताबेई तथा युइचिरो म्युराले पु¥याएको सहयोग मेरा लागि अविस्मरणीय रहनेछ । 

गोरखापत्र तथा दी राइजिङ नेपालसँगको सक्रिय र सकारात्मक सहवासलाई मैले मेरो पदीय विकास र पेसेवर उन्नतिको पहिलो खुट्किलोका रूपमा लिएको छु । संस्थानको सेवाबाट बहिर्गमनले यस संस्थाप्रतिको मायामोह र आबद्धतामा कुनै कमी आएन । धेरै वर्ष लेखरचना छपाउने पनि गरेँ तर परराष्ट्र मन्त्रालयमा थप जिम्मेवारी तथा विदेशस्थित नियोगको कार्यबोझले निरन्तरता दिन सकिनँ । केही समयदेखि दी राइजिङ नेपालमा पुस्तक समीक्षा छाप्ने क्रमलाई निरन्तरता दिएको छु । आगामी दिनमा अवश्य नियमितता दिन प्रयास गर्नेछु । 

३७ वर्षको सक्रिय कूटनीतिक जीवन र राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार रहने क्रमपछि मैले गोरखापत्रका प्राप्त भएसम्मका अङ्कहरूको बृहङ्गावलोकन गर्ने क्रममा हालसम्म ११५ वर्षको गोरखापत्र अध्ययन गरिसकेको छु । यसरी गोरखापत्र वाचन, टिपोट र उतार तथा अनुसन्धान कार्य अन्यन्त फलदायी सिद्ध भएको छ । 

समष्टिमा बाल्यकालमा वैकुण्ठ मामाबाट सुरु भएको गोरखापत्रको अनौपचारिक अध्ययनबाट यो संस्थानसँग आजीवन संलग्नताका कारण म गोरखापत्र र दी राइजिङ नेपालप्रति अनुगृहीत र ऋणी छु । अङ्ग्रेजी र नेपाली भाषामा मस्यौदा, पत्रकार सम्मेलन तथा अन्तत्र्रिmया, टिप्पणी, विश्लेषण, नीतिगत विषयमा जिम्मेवार पदाधिकारीका अनावश्यक टिप्पणी र प्रस्फुटनलाई क्षति नियन्त्रण गर्ने कार्य आदि दायित्व सम्हाल्न सहजता, सुगमता र आत्मविश्वास यदि कसैले मलाई दिएको छ भने त्यो गोरखापत्र र दी राइजिङ नेपालकै अनुभव र शिक्षाको प्रतिफल तथा अमूल्य देन हो भन्ने मेरो ठम्याइ छ । 

उपरोक्त पृष्ठभूमि अध्ययनपूर्व तोतेबोलीमा साथ दिने गोरखापत्र मेरा लागि विद्या जननी सरस्वती माता हो । त्यस्तै मेरो वास्तविक रूपमा पहिलो विद्यालय, महाविद्यालय र विश्वविद्यालय गोरखापत्र नै हो । आज गोरखापत्रले आफ्नो १२२ वर्ष पूरा गरी १२३ वर्ष प्रवेश गरेको पुनीत अवसरमा नेपालको जेठो पत्रकारिताको प्रकाशनले लामो राणाकाल, प्रजातन्त्रकाल, पञ्चायती व्यवस्थाको निर्दलीय अवधि, जनमत सङ्ग्रहको परीक्षण, बहुदलीय व्यवस्थाको पुनरावृत्ति तथा अन्त्यमा गणतन्त्रसम्म आइपुग्दा अनेक आरोह अवरोह झेलेको, भोगेको र आत्मसात् गरेको छ । 

हामी कहाँ चुक्याैँ, कहाँ संयमता गुमायौँ, अनुशासनहीनता किन बढ्यो, थिति बसाल्ने काममा किन सधैँ पछि प¥यौँ, वास्तविकताभन्दा प्रयोगवादी र अरूको बढी हाहामा मात्र मात्र किन लाग्यौँ, आर्थिक, प्राविधिक, सामाजिक, मानसिक रूपान्तरणमा किन अघि बढाउन सकेनौँ, देशलाई सही मार्गनिर्देशन गर्नुको साटो कोरा नारा र देखावटी वर्षाको भेलसरहको विकासको कुरा किन गर्छौं, जुन जोगी आए पनि कानै चिरेका भन्ने नेपाली उखानलाई किन चरितार्थ मात्र ग-यौँ तथा समष्टिगत रूपमा आन्तरिक र बाह्य नीति सुगमताको साथ चलाउने कार्यमा समयको कसीमा किन असफल भयौँ, यी सबैको साक्षी गोरखापत्र रहेको छ । 

अन्त्यमा नेपालको राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२३औँ जन्मोत्सवको अवसरमा देशको जेठो प्रकाशनको उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना । आशा छ, गोरखापत्रले आत्मसमीक्षा गर्ने र जिम्मेवार अधिकारीले यसको महत्व आत्मसात् गर्न सके हामी सबैलाई साथ लिई अघि बढ्न सक्ने गरिमामय भविष्य यसका प्रकाशनहरूको छ ।   

Author

मदनकुमार भट्टराई