• ९ कात्तिक २०८२, आइतबार

अलैँचीको मूल्य वर्षकै उच्च

blog

भट्टीमा सुकाउनलाई छोडाएर तयार पारिएको अलैँची । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक ९ गते । ताप्लेजुङमा आइतबार यसवर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ। सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ९३ हजार रुपियाँमा कारोबार भएको र उक्त मूल्य यसवर्ष हालसम्मकै उच्च मूल्य हो ।

तिहार सकिएसँगै सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको कारोबार सुरु भएको र शनिबारसम्म अलैँची प्रतिमन ९१ हजार रुपियाँले कारोबार भएको थियो । एक दिनपछि अलैँचीको मूल्य दुई हजार रुपियाँले वृद्धि भई प्रतिमन ९३ हजार रुपियाँले कारोबार भइरहेको स्थानीय व्यवसायीले बताएका छन् ।

दसैँ अघिसम्म प्रतिमन ८० हजार रुपियाँले कारोबार भएको अलैँचीको मूल्य दसैँ लगत्तै बढ्न थालेको हो । तिहारसम्म आइपुग्दा १० हजार रुपियाँले मूल्य वृद्धि भई प्रतिमन ९० हजार रुपियाँले बारोबार भएको थियो । फुङ्लिङ बजारका व्यावसायी कमल बरालका अनुसार तिहार सकिएलगत्तै अलैँचीको मूल्य अझ बढ्दै गएको छ ।

दसैँ पछिदेशी क्रमशः बढ्न थालेको अलैँचीको मूल्य तिहार सकिएपछि पनि निरन्तर उकालो लागेको फुङ्लिङ बजारकै अलैँची व्यवसायी भद्रवीर रेग्मीले बताउनुभयो । ताप्लेजुङस्थित अर्लैँची व्यवसायी सङ्घका अध्यक्षसमेत रहनुभएका व्यवसायी रेग्मीले आइतबारको कारोबार मूल्य यसवर्षको हालसम्मकै उच्च भएको बताउनु्भयो । उहाँका अनुसार फुङ्लिङ बजारमा साधारण अर्थात चलनचल्तीको अलैँची मनको ९३ हजार रुपियाँमा धमाधम कारोबार भइरहेको छ । 

यता अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै जाँदा स्थानीय किसान तथा व्यावसायी भने उत्साहित बनिरहेका छन् । भदौ महिनादेखि अलैँचीको नयाँ उत्पादन बजारमा आउन थालेको र बजारमा आउन थाल्दा प्रतिमन ८८ हजार रुपियाँले अलैँचीको कारोबार भएको थियो । भदौभर ८८ हजार रुपियाँ प्रतिमनमा कारोबार भएको अलैँची असोज लागेपछि मूल्य घट्न थालेको थियो । अलैँची व्यवसायी बरालका अनुसार दसैँ अघिसम्म मूल्य घट्न थालेको र दसैँ सकिएलगत्तै क्रमशः मूल्य बढ्न सुरु भएको हो ।

अहिले अलैँचीको मूल्य निरन्तर बढिरहे पनि मूल्य बढ्ने र घट्ने कुनै टुङ्गो नहुने स्थानीय व्यवसायी बताउँछन् । अन्तर्राष्ट्रिय बजारका आधारमा नेपाली बजारमा अलैँचीको कारबोर हुने भएकाले मूल्य घटबढ भइरहने पनि स्थानीय व्यवसायी बताउँछन् । यता गत वर्षको तुलनामा यसवर्ष भने अलैँचीको मूल्य सुरुमै राम्रो आएको व्यवसायीको भनाइ छ। 

ताप्लेजुङको प्रमुख नगदेबालीको रूपमा रहेको अलैँची यहाँका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोला बाहेकका क्षेत्रमा खेती हुने गरेको छ । ताप्लेजुङस्थित कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट गतवर्ष दुई हजार ५३१ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ । यसवर्ष अलैँची फलाई केही न्युन भएकाले उत्पादन पनि तुलनात्मक रूपमा घट्नसक्ने किसान बताउँछन् ।