प्रकाशविक्रम शाह
धनगढी, वैशाख २२ गते । नेपालस्थित अमेरिकी दूतावासका राजदूत डीन आर. थम्पसनले अमेरिकाको सहयोगद्वारा सञ्चालित योजनाबाट सकरात्मक परिणाम निस्केकोमा आफू खुसी भएको बताउनुभएको छ ।
‘‘नेपाल–अमेरिकाबीच कूटनीतिकसम्बन्ध भएको ७५ वर्ष पुगेको छ ।,’’ शुक्रबार धनगढीमा पत्रकारसँग कुरा गर्दै राजदूत थम्पसनले भन्नुभयो, ‘‘यो समयमा हामीले सञ्चालन गरेका योजनाबाट सकरात्मक परिणाम निस्केको छ ।’’
उहाँले एमसीसी परियोजनाले विद्युत प्रसारण लाइन विस्तार, नयाँ खालको सडक, १० हजार बढी नेपालीले रोजगारी पाउने भएकाले नेपालको विकास र आर्थिक वृद्धी उकास्न ठूलो सहयोग पुग्ने आशय व्यक्त गर्नुभयो । राजदूत थम्पसनले भन्नुभयो, ‘‘नेपालमा अमेरिकी सेना आउँदैन, सो परियोजनामा काम गर्नेहरु पनि नेपाली नै हुनेछन्, यो ऋण होइन अनुदान हो यस्तो अवस्थामा पनि एमसीसीको विरोध गर्नेहरु नेपालको हीतमा छैनन् भन्ने बुझिन्छ ।’’
उहाँले अमेरिकाले नेपालको औलो उन्मुलन, शिक्षण अस्पताल निर्माण, महिला स्वास्थ्य स्वयम् सेविकाको स्थापनालगायतको स्वास्थ्य क्षेत्र, शिक्षा, लोकतान्त्रिक संस्थाको सवलीकरण लगायतमा सहयोग पुगाएको स्मरण गर्नुभयो । राजदूतले अझै पनि शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पोषण, कृषि, जलवायु परिवर्तन, उद्यमशिलता, मझौला उद्योग स्थापना, भौतिक पूर्वाधार, खाद्य सुरक्षा, वन्यजन्तु संरक्षण लगायतका क्षेत्रमा सहयोग जारी रहने बताउनुभयो ।
अर्को प्रसंगमा राजदूत थम्पसनले ६० वर्षदेखि सञ्चालनमा रहेको तर कोरोनाकारण बन्द भएको पिसकोर कार्यक्रम चाँडै सुरु हुने जानकारी पनि दिनुभयो । दुई ठूला मुलुकको बीचमा रहनु, भुपेरिवेष्ठित हुँदा पनि नेपालीहरुले २०७२ को भूकम्प, हरेक वर्ष आउने बाढीपहिरोबाट सहजै पार पाएर न्यून आयबाट मध्यम आयतर्फ बढ्न सक्ने क्षमता बनाएकोमा उहाँले प्रशंसा गर्नुभयो ।
अमेरिकी सरकारको युएसआइडी परियोजनाअन्तर्गत कैलाली कञ्चनपुरमा भएका क्रियाकलाप अनुगमनमा आउनु भएका राजदूत थम्पसनले प्रदेश सरकारका मन्त्री, स्थानीय तहका प्रमुख, व्यवसायी, किसान, पत्रकार लगायतसँग भेटेर यहाँका विकासका आवश्यकताको प्राथमिकता बुझेको बताउनुहुँदै सुदूरपश्चिममा थप परियोजना सञ्चालनका लागि अमेरिकी सरकार (वासिंटन डिसी)लाई आग्रह गर्ने बताउनुभयो ।
उहाँले लोकतन्त्रको रक्षा गर्न, जनतालाई सुसूचित गर्न पत्रकारिता जगतको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । राजदूत थम्पसनले पत्रिकारिता लोकतन्त्रको मेरुदण्ड भएकाले यसको जगेर्ना गर्नुपर्ने धारणा पनि राख्नुभयो ।
फरक प्रसंगमा उहाँले रुसले युक्रनमाथि गरेको हमलाका कारण नेपालमा मल लगायतका सामाग्रीको अभाव हुनुका साथै महङ्गी बढेकोमा चिन्ता समेत व्यक्त गर्नुभयो ।