• ३० असार २०८१, आइतबार

गोरखापत्रमा पिताको दर्शन पाउने ९३ वर्षीया भैरवबहादुर

गोर्खाली पल्टनमा जसलाई गोरखापत्रले रुवायो

blog

भैरवबहादुर थापा ।

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ

काठमाडौं, वैशाख २३ गते । गोरखापत्रको पुराना ग्राहकको सूचीमा पर्नु हुन्छ– भैरवबहादुर थापा । उहाँ अहिले ९३ वर्षको हुनुहुन्छ । गोरखापत्रको ग्राहक उहाँ मात्र होइन उहाँका पिता पनि नियमित ग्राहक हुनुहुन्थ्यो, अर्थात गोरखापत्र साप्ताहिक हुँदादेखि नै थापा परिवारले गोरखापत्र पढ्दै आउनु भएको छ । गोरखापत्र प्रकाशनको १२३ वर्ष प्रवेशका अवसरमा गोरखापत्रका पुराना ग्राहक तथा वरिष्ठ रङ्गकर्मी भैरवबहादुर थापासँग गरिएको संवाद

गोरखापत्रप्रति मेरो अगाध आदर संस्कार छ । गोरखापत्र धेरै अगाडिको हो । आठ नौ वर्षको उमेरदेखि अर्थात् विसं. १९९७/९८ तिर इलाममा चार कक्षामा पढ्दै थिएँ । इलाममा बसेर पढ्नुका कारण मेरो बुवा पद्मबहादुर थापा इलाममा डिट्ठा भएर खटिनु भएको थियो । 

बुवा आमा इलाममै हुनुभएको कारणले म उहाँहरुसँगै गएको थिएँ । मेरो बुवाको बानी नै भन्नुपर्छ पत्रिका पढ्नुहुन्थ्यो । गोरखपुरबाट ‘कल्याण’ भन्ने पत्रिका निस्कन्थ्यो । त्यो समय काठमाडौंलाई नेपाल भन्ने चलन थियो । नेपालबाट ‘गोरखापत्र’ निस्कन्थ्यो । एउटा ‘म्याग्जिन’ ‘कल्याण’ र अर्को अखबार ‘गोरखापत्र’ मेरो बुवाले पढ्न छोड्नु हुँदैन थियो । 

काठमाडौं उपत्यकाबाट गोरखापत्र छापिएर ढिलोमा डेढ महिना, छिटोमा एक महिनापछि आइपुग्थ्यो । त्यो समयमा ताजा समाचार दुई महिनापछि मेरो बुवाले पढ्न पाउनुहुन्थ्यो ।  इलाममा हुँदै बुवाले गोरखापत्र ल्याए पनि मैले पढ्ने होइन, तर मैले सानैमा देखेको हुँ ।

गोरखापत्र नेपाली कागजमा छापिन्थ्यो । त्यो नेपाली कागजमा छापिएको गोरखापत्र बुवाले सम्हालेर राख्नुहुन्थ्यो । तर दसैं तिहारको बेलामा गोरखापत्रको एक दुईवटा पाना चोरेर मैले चङ्गा बनाउने गर्थेँ । चङ्गा उडाउने बानी परेको थियो । गोरखापत्रको हेडलाइन, तस्बिर आकार मेरो आँखामा गडेको गडै रह्यो । 

मलाई गोरखापत्रको ‘गो’ को अक्षरमा जुन बुट्टा भरेको छ त्यसले गोरखापत्रका अरु अक्षर नदेखिए पनि यो गोरखापत्र हो भन्ने दिमागले तस्बिर बनाइसकेको थियो । यो आठ नौ वर्ष हुँदाको कुरा गरेको हुँ । 

यही उमेरमा मैले बनारस गएर पढ्नु पर्ने भयो । गोरखापत्र मेरो नजरबाट टाढा भयो । गोरखापत्र मात्रै मेरो नजरबाट टाढा भएन, मलाई जन्म दिने पिता पनि टाढा हुनुभयो । त्यसपछि मैले आफ्नो बुवालाई दर्शन गर्न पाइनँ । एक बेगमा फेरि अचानक म सिंगापुर पुगेँ । सिंगापुरमा  ‘गोर्खा’ लाइब्रेरी थियो । त्यो लाइब्रेरीमा गोरखापत्र आउँथ्यो । तर त्यहाँ कहिले तीन महिनापछि, कहिले छ महिनापछि गोरखापत्र पुग्थ्यो । त्यहाँ धेरै लेख देखिन्थे । 

लाइब्रेरीमा गोरखापत्र देख्दा आँखाबाट आँसु आयो अनि मेरो हाकिमले मलाई साेध्‍नुभयो, ‘‘तिमीले पढेको अखबारमा त्यस्तो रुने कुरा के छ र ? यो हामीले पनि पढेका हौं । तिमी किन रोएको ।’’ अनि मैले भने, ‘‘सर तपाईंहरुलाई अनौठो लाग्छ होला, मैले गोरखापत्रको यो शीर्षक देख्दा, त्यो शीर्षकमा भरेको बुट्टा देख्ने बित्तिकै जन्मदिने पिताको अनुहारको प्रस्ट नक्सा आउँछ । गोरखापत्र भनेको मेरो पिता तुल्य हुन पुगेको छ । त्यसैले मेरो आँखाबाट आँसु आउँछ ।’’ मैले यत्ति भनेपछि हाकिम पनि रुनु भयो । हाकिमको आँखामा आँसु देखियो । हाकिमले भन्नुभयो,  ‘तिमी गोर्खाली सिपाही कस्तो गान्धीको सिद्धान्त जस्तो कुरा गर्छौँ । गोरखापत्रमा पिताको दर्शन पाउने गोरखापत्र त महत्त्वपूर्ण रहेछ ।

एउटा गोरखालीलाई असर पार्न सक्ने यो गोरखापत्र कस्तो रहेछ भनेर पछि त्यो गोरखापत्र अफिसको लागि मात्र होइन आफ्नो लागि समेत मगाए । त्यो हाकिमको नाम तिर्लोकसिंह थापा हो । उहाँ मेजर हुनुहुन्‍थ्‍यो । उहाँ डेढ वर्षदेखि यो संसारमा हुनुहुन्न । मलाई गोरखापत्रको प्रभाव त्यस्तो थियो । 

म वि.सं. २०१० सालमा काठमाडौं आएँ । एकजना पत्रकारसँग भेट भयो । उहाँ रेडियो नेपालमा हिन्दी समाचार वाचक हुनुहुन्थ्यो। उहाँको नाम तुलसीनाथ ढुंगेल हो । सबैले मान्ने पत्रकार हुनुहुन्थ्यो । एक दिन उहाँले नयाँ सडकका पत्रिका पसलमा लानुभयो । मैले त्यहाँ सिंगापुरमा देखेको त्यही गोरखापत्र देखेँ । मैले सहन सकिन । मेरो आँखाबाट आँसु आयो । अनि तुलसीनाथ ढुंगेलले मेरो हाकिमकै हिसाबले किन राेएको भनेर सोध्नुभयो । 

मैले पुरानै शैलीमा बाबुको सम्झना आउँछ र बाबुको सम्झनासँगै आमाको सम्झना आउँछ भने । तुलसीनाथ ढुंगेलले यो शिवलिंग हो ? भनेर मलाई प्रश्न गर्नुभयो । मैले ‘हो मेरो लागि शिवलिंग हो’ भने । अब भन्नुहोस् मैले गोरखापत्रलाई कुन ओहोदामा सम्झेको रहेछुँ । शिवलिंग भनेको सृष्टिकर्ता हो । सृष्टिकर्तालाई हामीले शिव र पार्वतीलाई मानेका छौँ । त्यसैले गोरखात्रप मात्र होइन, यो शिवलिंग नै हो भनेर भने । बाबुआमाको प्रतिकात्मक रुप नै शिवलिंग हो भनेर जवाफ दिएँ । 

त्यत्तिबेलासम्ममा मैले इलाम र सिंगापुरमा देखेको गोरखापत्रको लोगो (मास्टडेड) २०१२ सालसम्म कायम रहयो । त्यसपछि त्यो लोगो गयो अथवा हटाइयो। मलाई धेरै नमज्जा लाग्यो । त्यो गोरखापत्रको शीर्षक परिवर्तन भएर आएपछि मेरो बुबा हुनुहुन्न भन्ने लाग्यो । तर पछि गोरखापत्रमा कृष्णप्रसाद भट्टराईका दाजु गोपालप्रसाद भट्टराई मधुपर्कका सर्जक भएर आउनुभयो । २०१५ वा २०१८ सालमा म बाह्रविषे पुगेँ । त्यहाँ एउटा बोर्डमा आजको गोरखापत्र आजै भन्ने लेखिएको देखेँ । खुशी भएँ । म त गोरखापत्र लिने मान्छे । तर मैले त्यो संकेत परिवर्तन भएको देखेँ । अब मेरो बुबाले मलाई छोड्नुभयो भन्ने लाग्यो । त्यो संकेत नदेखे पनि मैले २०१८ सालदेखि गोरखापत्र दैनिक रुपमा लिन थालेँ । मेरो घरमा दैनिक गोरखापत्र लिन थालेँ । म कमलपोखरीमा जन्मेको । मेरो घर त्यही । गोरखापत्रमै काम गर्ने राम थापा संगीतकार हुनुहुन्थ्यो । उहाँका बाबु गोरखापत्रमा पेन्सन पाएर बित्नुभयो । उहाँले नै दैनिक गोरखापत्र ल्याइदिनुहुन्थ्यो । त्यो मेरो नामबाट नै गोरखापत्र आउने गर्दथ्यो । 

जब २०३३ सालबाट मेरो घरको ठेगान भएन । मेरो भैरवनृत्य दल थियो । त्यो पाल्नका लागि मेरो घर र जग्गाजमिन गयो । म सांस्कृतिक कार्यक्रममा लागेर घरबार गयो । त्यसपछि मेरो डेराको जिन्दगी बित्यो । डेराको घरमा गए पनि मैले गोरखापत्र छोडिनँ । नक्साल र मैतीदेवीको पसलले पनि मलाई सम्झिएका छन् । गोरखापत्रको लोगो परिवर्तन हुँदा दुःखी भएको भए पनि अहिले फेरि कुन सम्पादक आए कुन्नी खुशी लागेको छ । पुरानो गोरखापत्रको लोगोसहितको सानो संकेत राखेको छ । त्यो कुरा सम्झिएर यो अन्तवार्तामा मैले धित मार्ने मौका पाएँ । मैले मेरो बाबु जिउँदो भएको देख्न पाएँ । गोरखापत्रको पुरानो अङ्क देखेपछि मेरो बाबु र आमाको अनुहारको झल्को आउँछ । प्रस्तुति : दिनेश लुइटेल