म्याग्दी, वैशाख २१ गते । म्याग्दीको दुर्गम गुर्जा गाउँमा अझै सडक पुगेको छैन । गुर्जालाई जिल्लाको अन्तिम मानव बस्ती मानिन्छ । गुर्जालाई लुकेको बस्ती पनि भन्ने गरिन्छ । धवलागिरि गाउँपालिकाको -१ नम्बर वडामा पर्ने गुर्जामा सडक पुर्याउन अझै वर्षौँ लाग्न सक्छ । अनकन्टार भीर पहरा र वन जङ्गल पार गरेर मात्र गुर्जा पुग्न सकिन्छ ।
भौगोलिक कठिनाइ र सीमित बजेट विनियोजनका कारण गुर्जाका स्थानीयहरूको मोटर चढ्ने सपना चाँडो पुरा हुने देखिँदैन । त्यसैले गुर्जालीले मोटरको विकल्पका रूपमा घोडालाई प्रयोग गर्न थालेका छन् । दैनिक उपभोग्य सामग्री खच्चडबाट ढुवानी गर्दछन् भने स्थानीयहरू घोडा चढेर आवतजावत गर्दछन् । घोडा गुर्जावासीको दुःखको साथी बनेका छन् । पछिल्लो समय घोडा चढ्नेहरू बढेसँगै घोडा व्यवसायीहरू पनि बढ्न थालेका छन् । मानिसहरूलाई आवतजावत गराउन अहिले गाउँमा १५ वटा घोडाहरू छन् ।
गुर्जा पुग्न पालिका केन्द्र मुना देखि एक दिनको पैदल यात्रा गर्नुपर्दछ । वन जङ्गलको यात्रा निकै कष्टकर छ । पैदल हिँड्न नसक्नेहरू घोडा चढेर ओहोरदोहोर गर्ने स्थानीय गुनराम छन्त्यालले बताउनुभयो । गाउँमा सडक सुविधा छैन छन्त्यालले भन्नुभयो, ‘‘पैदल हिँड्न नसक्नेहरू घोडा चढेर जान्छन् । पर्यटकहरू पनि देउरालीडाँडादेखि गाउँसम्म घोडा चढेर आउने गर्दछन् । हाम्रो गाउँमा सडक आउने सपना मात्र हो । त्यसैले,घोडा हाम्रो दुःखको साथी भएको छ ।’’
गुर्जाका स्थानीयवासी र गाउँ आउने पर्यटकको सुविधाका लागि गाउँमा १५ वटा घोडा छन् । गाउँदेखि देउराली डाँडासम्म पुर्याएको एउटा घोडाको दुई हजार रुपियाँ र लुलाङ गाउँ सम्म पुर्याएको तिन हजार रुपियाँ शुल्क निर्धारण गरिएको घोडा व्यवसायी लोकेश विकले बताउनुभयो । स्थानीयका साथै गुर्जा घुम्न आउने पर्यटकहरू फर्किदा घोडा चढेर फर्किने गरेको उहाँले बताउनुभयो ।
गाउँमा आउने पर्यटक,सरकारी कर्मचारी र स्थानीयहरू ओरालो बाटो बाहेक अन्य बाटोमा घोडा चढेर ओहोरदोहोर गर्ने छन्त्यालले बताउनुभयो । उहाँका अनुसार गाउँमा आएका पर्यटक कसैले रमाइलोका लागि घोडा चढ्छ भने कोही बाध्यताले घोडा चढ्ने गर्दछन् । सडक सुविधा नभएपछि छिटो गन्तव्यमा पुग्न घोडाको प्रयोग बढेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । उकालो लामो बाटो भएकाले घोडा आवतजावतमा उपयोगी भएको गुर्जा देखि देउराली डाँडासम्म घोडा चढेर फर्किनुभएका म्याग्दीका जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालले बताउनुभयो ।