• २३ वैशाख २०८२, मङ्गलबार

स्मरणयोग्य काम गर्न नेता सिंहको आग्रह

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेता प्रकाशमान सिंह । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, वैशाख १९ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशका लागि मरेर पनि जीवित नाम रहनेगरी काम गर्नुपर्ने बताउनुभएको छ । सदरमुकाम चरीकोटमा जीपी कोइराला फाउन्डेसनले आयोजना गरेको स्व. भीमबहादुर तमाङ स्मृति निःशुल्क जोड २ परीक्षा तयारी कोचिङ कक्षाको समापन तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

कोचिङ कक्षाका विद्यार्थी भविष्यका कर्णाधार भएकाले अध्ययनसँगै देशप्रति गम्भीर बन्नु उहाँले आग्रह गर्नुभयो । आफ्नो जीवन तथा परिवारको समेत वास्ता नगरी देशकै लागि जेल जीवन बिताएर लोकतन्त्र गणतन्त्रको बहालीमा सँधै रहने नेता तथा शहिदको नाम रहिरहनेछ उहाँले भन्नुभयो, “आज शरीर नरहे पनि जनतालाई देशको मालिक बनाएर जानुभएको छ, उहाँको नाम ताजा छ ।”

पढाइमा कमी नहोस् भनी गरिब तथा जेहेन्दारलाई लक्षित गरी सुरु गरिएको निःशुल्क कोचिङ कक्षाबाट प्राप्त ज्ञानलाई परीक्षामा उतारेर उत्कृष्ट नतिजा ल्याउन उहाँले आग्रह गर्नुभयो । सो अवसरमा कोचिङ कक्षालाई व्यवस्थित ढङगले सञ्चालन गर्न समाजसेवी सकुना श्रेष्ठले बुबा दिलबहादुर तथा माता नानीकुमारीको सम्झनामा एक लाख, रवीन्द्रनारायण श्रेष्ठले स्व.माता विष्णुमाया श्रेष्ठ, लक्ष्मीकुमारी खड्काको सम्झनामा एक लाख गरी दुई लाख रुपियाँको अक्षय कोष स्थापना गर्नुभएको छ । 

फाउन्डेसनका अध्यक्ष राकेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा अधिवक्ता तथा नेता राधेश्याम अधिकारी, भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरलगायतले धारणा राख्नुभयो ।