गणेश पौडेल
पर्वत, वैशाख २३ गते । पर्वतको कुस्मा नगरपालिकाको स्वास्थ्य शाखाले औषधि खरिदको प्रक्रिया हालसम्म पनि सुरु नगर्दा नगर भित्र रहेका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव हुन थालेको छ । सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने औषधि बाहेकका नगरपालिकाले खरिद गर्ने ४८ प्रकारका औषधि समयमा खरिद नगर्दा समस्या हुन थालेको हो ।
‘औषधि खरिदका लागि यस वर्ष रु.१७ लाख ७४ हजार विनियोजन भएको भए पनि हालसम्म खरिद भएको छैन’ नगर स्वास्थ्य शाखाका प्रमुख याम प्रसाद शर्माले भन्नुभयो–‘केही दिन पहिला मात्रै ई बिडिङको प्रक्रिया अगाडी बढाएका छौँ ।’
शाखाले यस वर्ष मात्रै होइन विगत ३ वर्षको खरिद हेर्दा जेठको अन्तिममा खरिद गर्ने गरेको पाइएको छ । हरेक साल आर्थिक वर्ष समाप्तिको बेलामा मात्रै खरिद गर्दा मिलेमतो हुने गरेको समेत खुलासा भएको छ । अन्तिममा खरिद हुँदा कम गुणस्तरको र म्याद सकिने बेलाको औषधी खरिद हुने गरेको नगरपालिकाका कर्मचारीहरू बताउँछन् ।
शाखा प्रमुख शर्माका अनुसार बजेट विनियोजन समयमा नहुँदा ढिलो भए पनि म्याद भएको औषधि नै खरिद गर्ने गरेको बताउनुभयो । स्वास्थ्य संस्थामा भने म्याद सकिने बेलाको औषधि अत्यधिक जाने र म्याद कायम भएको औषधि भने अभाव हुने गरेको स्वास्थ्य संस्थाका प्रमुखहरू बताउँछन् ।
यस वर्ष नगरपालिकाले समयमा नै ईबिडिङ गरेको भए पनि गत वर्षहरूमा भने कोटेसनमा अन्तिम समयमा खरिद हुने गरेको र कतिपय समयमा सप्लायर्सहरु बिच नै झगडा हुने गरेको अवस्था समेत आएको थियो । गत आर्थिक वर्षहरूमा नगरपालिकाले खरिद प्रक्रिया नै लुकाएर गर्ने गरेको थियो ।
नगरपालिकाले समयमा औषधि खरिद गर्न नसक्दा सर्वसाधारण नागरिकले सरकारले वितरण निःशुल्क औषधि पाउनबाट वञ्चित बनेका हुन् । चालू आर्थिक वर्षका लागि औषधि खरिद गर्न नगर सभाबाट बजेट पारित भए पनि जनप्रतिनिधि र स्वास्थ्य सेवाका कर्मचारीको लापरबाहीका कारण हालसम्म औषधि खरिद हुन सकेको छैन ।
बजेट अभावले नभई खरिद प्रक्रिया ढिलो भएकाले औषधि अभाव भएको शर्माले बताउनुभयो । विगतका वर्षहरूमा पनि औषधि अभाव र म्याद नाघेका औषधि भेटिने गरेको थियो । कुस्मा नगरपालिकाभित्रका १४ वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा उपचारका लागि आउने नागरिकले रित्तो हात फर्किनु परेको बताउँछन् ।
सामान्य रोगदेखि जटिल र दीर्घरोगी समेत निःशुल्क औषधि पाइने आसमा स्वास्थ्य संस्थामा आउने गरेकामा पर्याप्त औषधि नहुँदा कहिले थोरै र कहिलेकाहीँ रित्तो हात फर्काउनुपरेको कुस्मा–१२ ठूलीपोखरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण सुवेदीले जानकारी दिनुभयो ।