• २२ वैशाख २०८२, सोमबार

शव निकाल्न नसकेपछि रित्तै फर्कियो सुरक्षा टोली

blog

उद्दारका लागि मनाङको नार्फाभूमिको हुलाकी ओडारमाथि भिरमा जाँदै सुरक्षाकर्मी ।

नवीनराज कुइँकेल
लमजुङ, वैशाख २२ गते ।
मनाङमा यार्सागुम्बा खोज्ने क्रममा भिरबाट खसेर मृत्यु भएका युवाको उद्धारमा खटिएको सुरक्षा टोली शव निकाल्न नसकेपछि रित्तै फर्किएको छ ।

नार्पाभूमि गाउँपालिका–२ नाम्के खर्कको हुलाकी ओडारमाथि यार्सागुम्बा टिप्न गएका धादिङका आकाश तामाङको मृत्यु भएको सूचनापछि सुरक्षा टोली उद्दारमा गएको थियो । धादिङको गङ्गाजमुना गाउँपालिका–१ बाट यार्सा टिप्न गएका आकाश १६ गते नै भिरबाट खसेको खबर प्रहरीले १९ गते पाएको थियो ।

खबर पाउनासाथ १० जनाको सुरक्षा टोली सो स्थानमा पठाए पनि पुग्न नसकि फर्किएको थियो । त्यसपछि तत्काल आपत्कालीन सुरक्षा समितिको बैठक बसेर तिनै तहको सुरक्षा टोली उद्धारमा पठाइएको थियो । उनीहरू घटनास्थल नजिकै पुगेपनि शव निकाल्न नसकेपछि फर्किएको मनाङका प्रमुख जिल्ला अधिकारी मात्रिका आर्चायले जानकारी दिनुभयो ।

आकाशका आफन्तजन र सुरक्षाटोली घटनास्थलमाथि डाँडामा पुगेपनि शव निकाल्न नसकिने निचोडमा पुगेपछि फर्किएको उहाँले बताउनुभयो । आफन्तले उनको अन्तिम संस्कार यही भएको मान्ने मञ्जुरी दिएपछि फर्किएको सूचना सुरक्षाटोलीले दिएकोे उहाँले बताउनुभयो ।

सुरक्षाटोली सदरमुकाम आइनपुगेकाले विस्तृत सूचना आउन नसकेको उहाँले बताउनुभयो । “शव निकाल्न नसकिएपछि आफन्तसँगको समझदारीमा सुरक्षाटोली फर्किएको सूचना आएको छ”, प्रजिअ आचार्यले भन्नुभयो, “टोली सदरमुकाम आएपछि विस्तृत जानकारी आउँछ ।”

उद्दारमा गएको सुरक्षा टोली बिहानसम्म सम्पर्कमा नआएपछि चिन्तित बनाएको उहाँले बताउनुभयो । माथिका खर्कहरुमा टेलिफोन टावर नपिप्दा उद्धारमा खटिएकाहरूको सूचना पाउन कठिनाई हुने गरेको उहाँको भनाइ छ । घटनास्थल सदरमुकाम चामेबाट दस घण्टाको पैदल दूरीमा थियो । हुलाकी ओडारबाट माथि खर्कमा पुग्न बाटो नभएकाले डोरीको सहायताले उद्दार टोली र आफन्त घटनास्थल पुगेका थिए । 

मनाङका याक लेक, नाम्ग्य लेक, किन्चो लेक, पिसाङ लेक, नाङ लेक, आइस लेक, स्याक्यु लेक, थोराङ्ला लेकलगायतका क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्ने गरिन्छ । ति ठाउँमा कुनै घटना भएमा उद्दार गर्न चुनौती हुने गरेको प्रजिअ आचार्यले बताउनुभयो ।