• २२ वैशाख २०८२, सोमबार

इजरायली विमानस्थल आक्रमणमा इरानको संलग्नता छैनः तेहरान

blog

तेहरान, वैशाख २२ गते । विद्रोहीहरूले क्षेप्यास्त्र आक्रमणको दाबी गरेपछि इजरायलको अन्तर्राष्ट्रिय विमानस्थलमा यमनी हुथी समूहको आक्रमणलाई समर्थन गरेको आरोपलाई इरानले सोमबार खण्डन गरेको छ ।

प्यालेस्टिनी जनताको समर्थनमा यमनसँगको एकतामा लिइएको स्वतन्त्र निर्णय भएको इरानको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । 

आइतबार यमनबाट प्रहार गरिएको क्षेप्यास्त्रले बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा गहिरो खाडल पारेको  छ जसमा छ जना घाइते हुनुका साथै केही समयका लागि उडानहरू अवरूद्ध भएका थिए ।

इरान समर्थित हुथीहरूले बेन गुरियनविरुद्ध ‘हाइपरसोनिक ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको र इजरायली एयरपोर्टहरूमा थप आक्रमणको चेतावनी दिँदै जिम्मेवारी लिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणका लागि हुथी र इरानलाई कडा जवाफ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

टेलिग्राममा प्रकाशित एक भिडियोमा नेतान्याहूले इजरायलले विगतमा हुथीहरू विरुद्ध ‘कारबाही गरेको र हुथी समूहले इजरायली विमानस्थलमा गरेको पछिल्लो आक्रमणको  भविष्यमा जवाफ दिने बताउनुभएको छ । 

यी चेतावनीप्रति प्रतिक्रिया दिँदै इरानले सोमबार आफ्नो भूभागमा हुने कुनै पनि आक्रमणको बदला लिने चेतावनी दिएको छ ।
इरानले आफ्ना रक्षार्थ लड्ने दृढ सङ्कल्प व्यक्त गर्दै इजरायल र अमेरिकालाई उनीहरूको आक्रमणको ‘परिणाम’ बारे सोचेर अघि बढ्न चेतावनी दिइएको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । रासस/एएफपी