राजन रावत
हुम्ला, वैशाख २३ गते । सम्झौता भएको साँढे सात वर्षापछि कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडकको ताग्रु खोलामा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सामाग्री समय मै जुटाउन नसकेपछि जिम्मा पाएको निर्माण कम्पनीले पुल निर्माणका धेरै समय लगाएको हो ।
हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले साँढे सात लामो अवधि लगाएर ताग्रु खोलामा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । पुल निर्माणका लागि २०७४ साल साउन ६ गते योजनाले सपना धुलिखेल जेभीसंग सम्झौता गरेको थियो ।
पाँच पटकसम्म म्याद थप गरेपछि पुलको निर्माण कार्य सम्पन्न भएको उहाँले बताउनुभयो । कार्यालयको पटक पटकको ताकेता पछि पुल निर्माण कार्य भएको उहाँले बताउनुभयो । पुल निर्माणका लागि दश करोड ५७ लाख ५९ हजार ३६८ रुपियाँ लागत लागेको छ । सुरुमा कोरोना, सडक नजोडिएको कारण निर्माण सामाग्री जुटाउनै कठिन भएको कारण पुल निर्माणमा समय लागेको निर्माण कम्पनी पक्षले जनाएको छ । पुलको लम्बाई बिस मिटर रहेको छ । यो सहित सिमकोट सडकमा दुई वटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ ।
यसअघि सल्ली खोला पक्की पुल निर्माण कार्य भई सकेको थियो भने हिल्सा र तुम्कोट कर्णालीमा बेलिब्रीज निर्माण भई सकेका छन् । अव याङ्गार खोला र हेक्पा खोलामा पक्की पुलको निर्माण कार्य सम्पन्न हुन बाँकी छ ।