• २३ वैशाख २०८२, मङ्गलबार

सकियो गोहीको अन्डा सङ्कलन कार्य

blog

निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रका गोही  । फोटो : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, वैशाख २३ गते  । अति सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको अन्डा सङ्कलन कार्य सकिएको छ ।  चालिस दिनभन्दा धेरै समय लगाएर घडियाल गोहीको अन्डा राप्ती नदीबाट सङ्कलन  गरिएको हो । निकुञ्जको कसरा क्षेत्रमा गोहीको प्रजनन केन्द्र स्थापना गरिएको छ । प्रजनन केन्द्रमा राख्नका लागि राप्ती नदीमा रहेका गोहीले पारेको अन्डा खोज्ने कार्य गरेको चितवन निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । 

पहिलो चरणमा गोहीले अन्डा पार्नका लागि तयार बनाएको गुँड खोजी कार्य गरिएको थियो । त्यसपछि अन्डा पारे नपारेको हेरियो । अन्डा पारेको थाहा पाएपछि सङ्कलन गर्ने कार्य गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिनुभयो । गुँड पहिचान भए पनि धेरै अन्डा सङ्कलन गर्न भने नसकिएको उहाँले बताउनुभयो ।  सात वटा गुँडबाट दुई सय ३२ वटा अन्डा सङ्कलन गरिएको छ । निकुञ्जको टोलीले १८ वटा गुँड पहिचान गरेको थियो ।  निकुञ्जले राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोज्ने कार्य सुरु गरेको थियो । 

गोहीको अन्डाबाट प्राकृतिक रूपमा बच्चा कोरल्नका लागि तापक्रम नमिल्ने, कोरल्दा बाँच्ने भन्दा मर्ने दर ९० प्रतिशत हुने जस्ता जोखिम भएकाले अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याउने गरिन्छ । यसरी प्रजनन केन्द्रमा ल्याएर कोरलिएका बच्चा हुर्काएर पुनः विभिन्ननदीमा छोड्ने गरिएको छ ।