• १३ साउन २०८१, आइतबार

एसीसी प्रिमियर कप

नेपाललाई युएईको एक सय १८ रनको सामान्य लक्ष्य

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख १९ गते । एसीसी प्रिमियर कपको फाइनलमा नेपाललाई जितका लागि संयुक्त अरब इमिरेट्स (युएई) ले एक सय १८ रनको सामान्य लक्ष्य दिएको छ । 

त्रिवि मैदान कीर्तिपुरमा लगातार वर्षाका कारण सोमबार बीचमै रोकिएको खेल मंगलबार बिहान पुन: सुरु भएको हो । सोमबार वर्षा हुनुअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन जोड्दा पानी परेपछि खेल रोकिएको थियो ।

आज (मंगलबार) सोही ओभरबाट सुरु भएको खेलमा युएईले ३३.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको छ । युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाउनुभयो ।

कप्तान आर्यानल लार्काले १३, मुम्हमद वासिमले ११, बसिल हमेद र जुनईद सिद्धिक्वीले १०/१० रन जोड्नुभयो । अन्य ब्याट्सम्याले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

युएईलाई सस्तैमा समेट्न बलिङमा नेपालका ललित राजवंशीले चार विकेट लिनुभयो । सन्दीप लामिछाने र करण केसीले दुई दुई तथा सोमपाल कामी र गुलशन झाले एक एक विकट लिनुभयो । 

एसिया कपमा छनोट हुन नेपालका लागि फाइनल खेल निकै महत्त्वपूर्ण रहेको छ । घरेलु मैदानमा दर्शकको साथमा नेपालले युएईमाथि सानदार जित निकाल्ने विश्वास गरिएको छ । आजको खेल पनि वर्षाले रोकिएमा सुपर ओभर या वरीयताको आधारमा नजिता निकालिने छ । 

पहिलो सुपर ओभर बराबरी भएका दोस्रो सुपर ओभर हुनेछ । यदि वर्षाले सुपर ओभर समेत हुन नसकेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एक दिवसीय वरीयतामा अगाडि रहने टोली विजेता बन्नेछ ।

यस्तो अवस्थामा नेपाल वरीयतामा १४औँ र युएई १९औँ स्थानमा छ । त्यसैले वरीयताको आधारमा नेपाल च्याम्पियन बन्नेछ । फाइनल विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्नेछ ।

एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । शीर्ष तीनमा परेसँगै ओमान, नेपाल र युएईले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा सुनिश्चित गरेका छन् । 

युएईविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।