• ८ मंसिर २०८१, शनिबार

उस्तै छन् श्रमिकका व्यथा

blog

काठमाडौँ, वैशाख १९ गते  ।  मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वभरको अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमिक आन्दोलनबाट प्राप्त उपलब्धिको समीक्षा गर्ने दिन । दिवसमा श्रमिकले भोगिरहेका समस्या उजागर गर्ने, थप अधिकारका लागि अगाडि बढ्ने, श्रमिक वर्गका बीचमा शुभकामना आदान प्रदान गर्ने दिन । 

नेपालका ट्रेड  युनियनहरूद्वारा सोमबार बिहानैदेखि -याली, गोष्ठी, नाचगानसहितका विभिन्न जातजातिका झाँकी देखाउनेलगायतका कार्यक्रम गरी उत्सवजस्तै गरी मनाइयो तर वास्तविकमध्ये कतिपय श्रमिक, दिनभर काम गरेर दुई छाक टार्ने वर्गले दिवसबारे पत्तो पाएनन् । कीर्तिपुरमा घर निर्माणका लागि बिहानदेखि इँटा ओसार्ने प्रतीक तामाङलाई श्रमिक दिवसबारे जानकारी नै छैन । दैनिक मजदुरीमा व्यस्त रहने तामाङलाई सोमबार बिहानैदेखि झरी परे पनि काम भइरह्यो, फुर्सद भएन । “काम पाइएका बेला नगरेर के गर्नु ? पाँच जनाको परिवार एक्लैले धान्नुपर्छ, श्रमिक दिवस भनेको के हो ?” प्रतिप्रश्न गर्दै तामाङले भन्नुभयो, “हामीलाई त काम नै ठूलो छ, काम गरिएन भने चुलो बल्दैन, अहिलेसम्म श्रमिक दिवसका दिन ठेकेदार, साहुले बिदा दिएको पनि पत्तो छैन, आफ्नै काममा दैनिकी बितिरहेको छ ।” उहाँ काम गरेबापत दैनिक एक हजार पारिश्रमिक पाउनुहुन्छ । त्यसैबाट तीन छोराछोरी र श्रीमतीको खर्च धान्नुपर्ने बाध्यता छ । 

कालीमाटी तरकारी बजारभित्र भरिया काम गर्ने विष्णुप्रसाद अधिकारीलाई बिहानदेखि तरकारी ओसार्दै, गाडीसम्म पु-याउँदैमा भ्याइनभ्याइ हुन्छ । उमेरले सात दशक काटेको बताउने अधिकारीले श्रमिक दिवस भन्ने अहिलेसम्म नसुनेको बताउनुभयो । यसैले आज पनि काममै व्यस्त हुनुहुन्छ उहाँ । विगत २१ वर्षदेखि कालीमाटी र कुलेश्वरमा रहेर भरियाको काम गर्दै आउनुभएका उहाँले दैनिक औसतमा एक हजार पाँच सयदेखि दुई हजार रुपियाँसम्म कमाउनुहुन्छ । अधिकारीले कालीमाटी बजारबाट बाहिर बस चढ्नेसम्म एक भारी तरकारी पु-याएको १५० रुपियाँसम्म लिनुहुन्छ । उहाँले अहिले बजारभित्र भरिया काम गर्ने पनि धेरै भएकाले पहिलेजस्तो कमाइ नभएको अनुभव सुनाउनुभयो । सरकार र श्रमिकको अधिकार स्थापित गराउन खोलिएका ट्रेड  युनियनहरूले श्रमिकको हकहितका लागि उपलब्धिमूलक काम गर्न नसक्दा तामाङ र अधिकारीजस्ता असङ्गठित क्षेत्रमा काम गर्ने प्रायः सबै श्रमिक असन्तुष्ट छन् । 

काम सुन पसलमा तर कथाव्यथा उस्तै, सुन पसलमा सुरक्षा गार्डका रूपमा काम गर्ने कमल परियार सरकारले तोकेको न्यूनतम पारिश्रमिकले अहिले खानै नपुग्ने बताउनुभयो । उहाँले 

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने नाममा नेताले आदर्श र सिद्धान्तका कुरा गर्छन्, दैनिक श्रम बेचेर जीविकोपार्जन गर्ने श्रमिकलाई बिदा चाहिन्छ भनेर कोही नबोल्ने बताउनुभयो । “श्रमिकलाई आदर्श, ठूला सपना बाँड्नु आवश्यक छैन, ससाना विषय हुन् तर हामी श्रमिकले व्यवहारमा अनुभूत गर्न पाइहोस् । हाम्रा ट्रेड  युनियनका नेताले कुरा ठूला गरेर पो समस्या भयो,” उहाँले गुनासो गर्नुभयो । आर्थिक वर्ष २०७८/७९ देखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक ५७७ रुपियाँ सरकारले कायम गरेको छ । यो पारिश्रमिकले अहिलेको महँगीमा एक जनालाई साधारण खानसमेत पुग्दैन, परिवार हुनेले कसरी चल्ने ? सुरक्षा गार्ड परियारले प्रश्न गर्नुभयो । 

श्रम सर्वेक्षण २०१७ का अनुसार आन्तरिक श्रम बजारमा ७० लाख ८६ कार्यरत भएकामा ४४ लाख ४६ हजार पुरुष र २६ लाख ४४ हजार महिला छन् । ठूलो हिस्सा ४४ लाख ११ हजार जना (६२ दशमलव २) प्रतिशत असङ्गठित क्षेत्रमा कार्यरत छन् । यसैगरी कृषिमा १४ लाख ३४ हजार र 

गैरकृषिमा २९ लाख चार हजार कार्यरत छन् भने घरेलु क्षेत्रमा ७५ हजार कार्यरत छन् ।