लक्ष्मण पौडेल
भैरहवा, कात्तिक १८ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का टीकाराम घिमिरे हरेक बिहान अँध्यारोमै उठ्नुहुन्छ । पूर्ण दृष्टिविहीन उहाँ बिहान घरबाट निस्कँदा बाटो देख्नुहुन्न तर आफ्नो कर्तव्य र जिम्मेवारी भने स्पष्ट देख्नुहुन्छ– विद्यालय पुग्ने र बालबालिकालाई पढाउने ।
उहाँको घर तिलोत्तमामा छ तर कार्यस्थल दक्षिण मर्चवारको बगौली माध्यमिक विद्यालय हो, करिब सय किलोमिटर टाढा । हरेक दिन उहाँ बिहानै सहकर्मी ज्ञानसिंह राणाको मोटरसाइकलमा चढ्नुहुन्छ । ५० किलोमिटर विद्यालय पुग्ने, पढाउने र फेरि ५० किलोमिटर फर्कने– यही उहाँको दैनिकी हो । दृष्टिविहीनका लागि यस्तो यात्रा कल्पना गर्न पनि गाह्रो हुन्छ ।
तर टीकारामका लागि यो बाध्यता होइन, पेशाप्रतिको निष्ठा हो । उहाँ भन्नुहुन्छ, “म दृष्टिविहीन हुँ तर जिम्मेवारी देख्छु । पढाउने मेरो धर्म हो, त्यसैले कठिन मानेर भाग्दिनँ ।” तर यो यात्रा केवल कर्तव्यको होइन, पीडाको पनि कथा हो । धुलो, धुवाँ, गर्मी, हिउँ, वर्षा केहीले पनि रोकेको छैन । उहाँ भन्नुहुन्छ, “कतिबेला त आँखा देख्ने मान्छेलाई पनि यस्तो यात्रा गर्न गाह्रो पर्छ, म त दृष्टिविहीन हुँ, त्यसैले पीडा शब्दमा भन्न सक्दिनँ ।”
ज्ञानसिंह राणा जसले टीकारामलाई दैनिक विद्यालय लैजानुहुन्छ, उहाँ पनि यो यात्रालाई कठिन महसुस गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “दिनहुँ सय किलोमिटर मोटरसाइकल चलाउँदा शरीर र मन दुवै थाक्छ तर टीकारामको समर्पण हेर्दा साथ दिन मन लाग्छ ।” टीकारामको सङ्घर्षले राज्यप्रणालीको संवेदनशीलतालाई पनि प्रश्न गर्छ । दृष्टिविहीन शिक्षकलाई सहज स्थानमा राख्ने नीति कागजमा मात्र सीमित छ । उहाँले नियुक्तिपछि बारम्बार निवेदन दिनुभयो– आफूलाई नजिकको विद्यालयमा पठाइयोस् भनेर तर कुनै सुनुवाइ भएन । दृष्टिविहीन शिक्षक अझै पनि दैनिक एक सय किलोमिटरको यात्रा तय गर्न बाध्य हुनुहुन्छ ।
उहाँका सहकर्मी शिक्षक युवराज कँडेल भन्नुहुन्छ, “राज्यले टीकाराम जस्ता शिक्षकको जीवनलाई बुझ्न सकेको छैन । उहाँ दृष्टिविहीन भएर पनि शिक्षक सेवा आयोग पास गर्नुभयो, स्थायी शिक्षक बन्नुभयो तर आज पनि राज्यको संवेदनशीलताको अभावमा पीडामा हुनुहुन्छ ।”
टीकारामले आफ्नो जीवनमा कठिनाइलाई कहिल्यै बहाना बनाउनुभएन । उहाँ दृष्टिविहीन भएर पनि १२ वर्षसम्म सञ्चारकर्मीका रूपमा काम गर्नुभयो– रेडियो कार्यक्रम चलाउनुभयो, समाचार
पढ्नुभयो, विचार बहस चलाउनुभयो । प्रविधिको प्रयोग गरेर उहाँले पुस्तक सुन्नुभयो, सामग्री पढ्नुभयो र समाचार बुझ्नुहुन्थ्यो । अहिले पनि उहाँ प्रविधिको सहारामा पढाइको तयारी गर्नुहुन्छ तर सबैभन्दा ठुलो चुनौती भने घिमिरेको शारीरिक सिमानाभन्दा पनि प्रशासनिक बेवास्ता हो । उहाँ भन्नुहुन्छ, “म अपाङ्गता भएको शिक्षक हुँ, मेरो काम गर्न चाहने इच्छा बलियो छ तर राज्यले सहज ठाउँमा पठाउने सोच बनायो भने मेरो पनि जीवन सजिलो होला, म अझ राम्रो पढाउन सक्छु ।”
टीकारामको जीवनले एउटा गहिरो सन्देश दिन्छ– अपाङ्गता कमजोरी होइन, सोचको सीमा हो । उहाँले देख्न नसके पनि ज्ञान र आत्मविश्वासको उज्यालो बाँडिरहनुभएको छ । अब जिम्मेवारी समाज र राज्यको हो– टीकाराम जस्ता शिक्षकलाई सहज, सुरक्षित र सम्मानजनक वातावरण दिलाउने । किनकि उहाँ दृष्टिविहीन शिक्षक मात्रै होइन, हजारौँ अपाङ्गता भएका नागरिकको सपना र सम्भावनाको प्रतीक हुनुहुन्छ ।
विद्यालयका प्रधानाध्यापक चन्द्रमणि चौधरीले भन्नुभयो, “घिमिरेको शिक्षण शैली उत्कृष्ट छ, विद्यार्थी खुसी छन् तर टाढाबाट धाउनु पर्दा र विद्यालय अपाङ्गतामैत्री नहुँदा भने उहाँलाई कठिनाइ छ ।” दृष्टिविहीन शिक्षक घिमिरेलाई घरपायक सरुवाको विषयमा प्रतिक्रिया लिंदा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गङ्गाराम आचार्यले शिक्षा मन्त्रालयको कार्यविधिका कारण उहाँको तत्काल सरुवा गर्न नसकिएको बताउनुभयो ।