काठमाडौं, वैशाख १८ गते । अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौँ सिटिजन्स बैङ्क खुला टेनिस प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्सको पुरुषमा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बन्नुभएको हो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा सोमबार भएको पुरुष फाइनलमा अभिषेकले ऋतिक राणालाई ६–०, ६–१ को सोझो सेटमा सहजै पराजित गर्नुभयो ।
सिटिजन्स बैङ्कको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन अभिलाषाले माहिका राणालाई सीधा सेटमा ६–४, ६–४ ले हराउनुभयो । पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार र दोस्रोले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले फाइनलमा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीलाई ५–७, ६–१, १०–५ ले पाखा लगाउँदै पहिलो हुनुभयो ।
५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडी च्याम्पियन बन्नुभयो । उक्त जोडीले फाइनलमा कमल थापा र छ्याम्बा डुन्डुपको जोडीमाथि ६–०, ६–२ को सहज जित दर्ता गरेको हो ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जीवन घिमिरे शीर्ष स्थानमा रहनुभयो । जीवनले फाइनलमा जित प्रधानलाई ६–२, ६–३ ले हराउनुभयो । ४५ वर्षमाथि पुरुष सिंगल्सको स्वर्ण भिडन्तमा महेश श्रेष्ठले बाजी मार्नुभयो । उहाँले फाइनलमा रोहित सुनुवारलाई ६–४, ४–६, १०–५ ले पन्छाउनुभाये ।
विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा यसअघि मिक्स डबल्समा प्रदीप खड्का र माहिका राणा, ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, ३५ वर्षमाथि पुरुष डबल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र सुवर्ण धाक्वाको जोडी तथा ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो हुनुभयो ।
हरेक स्पर्धाको शीर्ष तीन स्थान हात पार्नेले नगद पुरस्कार हात पारे । कूल ५ लाख ४२ हजार ५ सय रुपियाँ पुरस्कार वितरण गरियो ।
वैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा एक सय ५२ खेलाडी सहभागी थिए । त्यसमा सबै भन्दा बढी उमेरका ७८ वर्षीय मुरारीभक्त माथेमा रहनुभयो ।