काठमाडौं, वैशाख १८ गते । साबिक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा फुलहामलाई उसैको मैदानमा २-१ गोलले हराउँदै सिटीले शीर्षस्थान कब्जा गरेको हो । सिटीको जितमा अर्लिङ हालाण्ड र जुलियन अल्भारेजले गोल गर्नुभयो ।
फुलहामका कार्लोस भिनिसियसले सान्त्वना गोल फर्काउनुभयो । हालाण्डले खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत गोलको खाता खोल्नुभएको थियो । १५औँ मिनेटमा कार्लोसले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
३६औँ मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाउनुभयो । त्यसपछि थप गोल नहुँदा सिटी विजयी भयो । जितसँगै शीर्षस्थानमा उक्लिएको सिटीले ३२ खेलबाट ७६ अङ्क बनाएको छ ।
सिटीले यसअघि शीर्षस्थानमा रहेको आर्सनललाई एक अङ्कले पछि पारेको छ । एक खेल बढी खेलेको आर्सनलको ७५ अङ्क छ । सिटीसँग पराजित फुलहाम ४५ अङ्कसहित १०औँ स्थानमा छ ।
यस्तै आइतबार राति नै भएको अन्य खेलमा टोट्नहामाथि लिभरपुलले ४-३ गोलको रोमाञ्चक जित निकालेको छ । म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई १-० गोलले पराजित गरेको छ । एजेन्सी