• १३ असोज २०८१, आइतबार

‘एमाले सरकारबाट बाहिरिएसँगै देश ओरालो लाग्दैछ’

blog

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली फिदिममा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा । तस्विर : नारायण तुम्बापो

नारायण तुम्बापो

फिदिम, वैशाख १६ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक रूपले देश ओरालो लागिरहेको बताउनुभएको छ । एमाले सरकारबाट बाहिरिएपछिको दुई वर्षमा देश आर्थिक रूपले अधोगतितर्फ उन्मुख रहेको उहाँको भनाइ छ । 

एमाले पाँचथरद्वारा फिदिममा शनिबार आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले देशको विकास निर्माणको कार्य अवरुद्ध हुने अवस्था सिर्जना भइरहेको बताउनुभयो । अस्ति भर्खरै ‘कर्मचारीलाई नै तनखा खुवाउन नसक्ने अवस्थामा पुगिहालेको त छैनौ है’ भन्दै अर्थमन्त्रीले दिनुभएको अभिव्यक्तिमा मुलुकको दयनीय स्थिति झल्किने अध्यक्ष ओलीले बताउनुभयो । 

उहाँले मुलुकलाई सही बाटोमा हिँडाउन एमालेले मात्रै सक्ने भएकोले पार्टीलाई बलियो बनाउनतर्फ आम कार्यकर्तालाई लाग्न निर्देशन दिनुभयो । देशको समृद्धि अरू कुनै दलीय सरकारको नेतृत्वमा सम्भव नरहेको उहाँले दाबी गर्नुभयो । 

मुलुकको हिततर्फ अरू कुनै पार्टी नलागेर एमालेले गरिरहेको राम्रो कामको विरोध मात्रै गरिरहेका उहाँको भनाइ छ । एमालेलाई बिचारमा आधारित अनुशासित, सुदृढ र एकताबद्ध बनाएर देशकै बलियो शक्ति बनाइने उहाँले चर्चा गर्नुभयो ।

सङ्गठन लोगो झुन्ड्याउनका लागि मात्र नभएर क्रियाशील रहन र जनतालाई सचेत सक्षम पार्न अवश्यका रहेको उहाँले बताउनुभयो । आफ्नो गरिबी आफै निवारण गर्न लाग्नुपर्छ भन्दै उहाँले कुनै न कुनै उत्पादनशील पेसामा अनिवार्य आबद्ध हुन पनि सल्लाह दिनुभयो । समयानुकूल सबै अवसरको सही सदुपयोग गर्दै आर्थिक सशक्तीकरणमा लागे मात्रै समाजलाई विकासको लयमा हिँडाउन सकिने उहाँको भनाइ छ । 

आफूले पनि साथीहरूलाई चिया बनाएर खुवाउने गरेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “राजनीतिका नाममा निष्क्रिय हुने र श्रमलाई घृणा गर्ने बाटोमा लाग्नु हुँदैन ।” कोशी प्रदेश नामकरणका विरुद्धमा आन्दोलनरत पहिचानवादी आन्दोलनकारीलाई लक्षित गर्दै गुन्डागर्दीले पहिचान प्राप्त नहुने बताउनुभयो । प्रदेश सभामा बहुमत बनाएर नाम परिवर्तन गर्न सकिने उहाँले सुझाव दिनुभयो ।