• ८ मंसिर २०८१, शनिबार

पशुपति क्षेत्र सरसफाइ अभियान

‘मन्दिर परिसर ३० वर्ष यताकै सफा बनेको छ’

blog

पशुपति क्षेत्र परिसरमा सरसफाइ गरिँदै सहभागीहरू । तस्बिर/भिडियो : केशव गुरुङ

काठमाडौं, वैशाख १६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फागुन २७ गतेदेखि सुरु गरेको पशुपति क्षेत्र सरसफाइ अभियान ८ औँ हप्तामा पुगेको छ । मन्त्री सुदन किरातीसहित पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलगायत विभिन्न अभियानकर्ता शनिबार सरसफाइ अभियानमा सहभागी हुनुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले अभियान उत्साहजनक एवम् फलदायी भएको बताउनुभयो । पशुपति क्षेत्र ३० वर्ष यताकै सबैभन्दा सफा भएको उहाँले दाबी गर्नुभयो । मन्त्री किरातीले भन्नुभयो, “आजसम्म आउँदा उत्साहजनक र फलदायी काम भएको छ । अनुभवी, भुक्तभोगीहरू के भन्ने गर्छन् भने २० वर्ष यताकै इतिहासमा सफा पशुपति देखियो भन्नेछ । भौतिक रूपमा मात्रै होइन, आत्मिक रूपमा पनि यो सफा हुनुपर्छ ।”

पशुपतिनाथ नै सभ्यताको मुहान भएकाले, यही मैले आध्यात्मिकता मरेको देखेँ । आध्यात्मिकता मुर्छित भएको देखेँ ।

आत्मिकरुपमा सफा भन्नुको अर्थबारे राखिएको जिज्ञासामा उहाँले आध्यात्मिकता मरेको समाज अनुशासनहीन हुँदै जाने बताउनुभयो । विज्ञानभन्दा पनि आध्यात्मिकता माथि हुन्छ भन्छन् उहाँले भन्नुभयो, “आध्यात्मिकता जब समाजमा मर्छ, अनुशासनहीन र समाज अराजक हुँदै जान्छ । अनुशासनलाई नै सुधार गर्न, संस्कृतिलाई सुधार गर्न, हाम्रो राज्यसत्ताको संरचनाभित्रको फोहोरमैला सुधार गर्न विकृति विसङ्गति सुधार गर्न यो अभियान सुरु गरेका हौँ” उहाँले भन्नुभयो । 

पशुपतिनाथ सभ्यताको मुहान भएको भन्नुहुँदै मन्त्री किरातीले भन्नुभयो, “पशुपतिनाथ नै सभ्यताको मुहान भएकाले, यही मैले आध्यात्मिकता मरेको देखेँ । आध्यात्मिकता मुर्छित भएको देखेँ ।”


मन्त्रालयले पशुपति सरसफाइका लागि कुनै औपचारिक छलफल वा आव्हान गरेर नभई खुला अपिलमार्फत यो कार्य गर्दैआएको छ । पशुपति एउटा नरम कूटनीतिको रूपमा विश्वव्यापीरुपमा स्थापित गर्नुपर्ने भनाइ राख्नुभयो । “एउटा नरम कूटनीतिको रूपमा विश्वव्यापी रूपमा स्थापित गर्न सक्छौँ । यसका लागि स्थायी पुलको रूपमा निर्माण गर्न सक्छौँ भन्ने उद्देश्यबाट सुरु गरिएको यो अभियान आज आठौँ हप्तामा आइपुगेको छ” उहाँले भन्नुभयो । तीन महिने अभियान अन्तर्गत निर्धारित समय अब तीन हप्ता बाँकी छ । 

मन्त्रालयले बाँकी अवधिमा २०, २५ वटा साना जोनहरू बनाएर घोषणा गर्ने कार्यक्रम तय गरेको जनाएको छ । मन्त्री किरातीले तोकिएको क्षेत्रमा पशुपतिनाथलाई सुहाउने बगैँचा निर्माण गर्न विभिन्न सङ्घ, संस्था, सङ्गठन एवम् राजनीतिक दललाई आग्रह गर्नुभयो । सबैभन्दा राम्रो बगैँचा निर्माण गर्नेलाई पुरस्कारको घोषणा गरिने पनि उहाँले बताउनुभयो । “जसले राम्रो बगैँचा निर्माण गर्छ । पहिलो, दोस्रो, तेस्रो पुरस्कार हामी घोषणा गरेर लाँदैछौं । पशुपति नघुमी संसारका मान्छेको जीवन अपुरो हुनेछ, हामी बनाउँदाबनाउँदै ।”

पशुपति सार्वजनिक सरोकार हो र मेरो पनि हो भन्ने धारणाले अगाडि बढायौँ भने हुँदोरहेछ भन्ने कुराको आज आठौँ हप्तामा आउँदा धेरै परिवर्तन पाइसकेका छौँ ।

पशुपतिसँगै लुम्बिनी, जनकपुरको राम–जानकी मन्दिरलगायत विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदामा मन्त्रालय केन्द्रित भएको उहाँको भनाइ छ ।  

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशन डा. घनश्याम खतिवडाले पशुपतिको सरसफाइसँगै अब वृक्षारोपणको कार्यलाई तीव्रता दिनुपर्ने बताउनुभयो । गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “पशुपति सार्वजनिक सरोकार हो र मेरो पनि हो भन्ने धारणाले अगाडि बढायौँ भने हुँदोरहेछ भन्ने कुराको आज आठौँ हप्तामा आउँदा धेरै परिवर्तन पाइसकेका छौँ ।” 

पशुपति क्षेत्र विकास कोषले “एक भक्त, एक वृक्ष” भन्ने अभियान नीतिगत रूपमा सुरु गरेको भन्नुहुँदै उहाँले कतिपय भक्तजनले आफ्नो र पितृको नाममा वृक्ष लगाउने, हुर्काउने काम हुँदैआएको बताउनुभयो । 

बाँदरले दुख दिनेहुँदा चाँडो हुर्कने बिरुवाभन्दा दिगो र दरिलो हुने रैथाने बिरुवा लगाउनुपर्ने उहाँले बताउनुभयो । “बाँदरले दुख दिन्छ, अरू मान्छेले दुख दिन्छ । कतिपय भक्तले आफ्ना पितृहरूको नाम रोशन गरिरहनुभएको छ ।


 

उहाँहरू प्रत्येक हप्ता आउनुहुन्छ, कुखुराको मल, बाख्राको मल, पानी र ती बिरुवाहरू अहिले हुर्किरहेका छन्” उहाँले भन्नुभयो । 

प्लाष्किजन्य फोहोर नभएको ठाउँमा अर्को फोहोर फाल्न उहाँहरूलाई पनि अप्ठ्यारो लाग्दोरहेछ, नैतिक दबाब हुने रहेछ ।

कुनै पनि व्यक्ति वा संस्थाले एक दिन वृक्षारोपण गरेर छोड्ने प्रवृत्ति भने ठीक नभएको उहाँको भनाइ छ । “अब कार्यालय हिसाबले हामी फलानो दिन वृक्षारोपण गर्छौँ अनुमति चाहियो भनेर आउनुहुन्छ । हामी अनुमति दिन्छौँ । माटो खनेपछि खाल्डा हुन्छ, पानी पर्छ, अनि माटो पानीले बगाएर लान्छ । बिरुवा भने उस्ताको उस्तै त्यही मर्छ । बच्चा जन्माउन सजिलो तर हुर्काउन गाह्रो हुन्छ । बिरुवालाई बच्चाजस्तै सम्झेर जसले हुर्काउँछ, त्यो संस्थालाई हामी ठाउँ दिन्छौँ” उहाँले भन्नुभयो । 


“विशेषगरी जङ्गल क्षेत्रमा चाउचाउ, सामान बोकेर आउने, खाने अनि त्यही छाडिदिने । चुरोटका ठुटाहरू हामी उठाउँथ्यौ, फेरि छोडिदिन्थे । यतिखेरसम्म प्लास्टिकजन्य फोहोर हामीले उठाइसकेका छौँ । अब प्लाष्किजन्य फोहोर नभएको ठाउँमा अर्को फोहोर फाल्न उहाँहरूलाई पनि अप्ठ्यारो लाग्दोरहेछ, नैतिक दबाब हुने रहेछ ।”

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।