• १३ साउन २०८१, आइतबार

जनकपुरधाममा आदिकवि भानुभक्तको सालिक पुनः निर्माण सुरु

blog

भानुभक्तको सालिक निर्माणका लागि शिलान्यास गर्नुहुँदै जनकपुरधामका प्रमुख मनोजकुमार साह । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी 

जनकपुरधाम, वैशाख १६ गते । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले भानुचोकमा भानुभक्तको सालिक निर्माणका लागि शिलान्यास गर्नुभएको छ ।  

२०६२/०६३ को मधेश आन्दोलनको क्रममा भानुचोकमा रहेको भत्काइएको आदिकवि भानुभक्तको सालिक पुनः निर्माणका लागि शनिबार बिहान शिलान्यास गर्नुभएको हो ।

शिलान्यासको क्रममा राजनीतिक दलका युवाले विरोध गरे पनि शिलान्यास कार्यक्रम सम्पन्न गर्दै जनकपुरधामका प्रमुख साहले राजनीतिक प्रतिनिधिकै रोहबरमा बैठक बसी बोर्डबाट भानुभक्तको सालिक बनाउने निर्णय भएकाले विरोध नगर्न आग्रह समेत गर्नुभयो । 

बोर्डको निर्णय अनुरूप उपभोक्ता समिति गठन गरिएको छ । त्यसैले शान्तिपूर्ण वातावरणमा कार्य सम्पन्न गर्नमा सबैलाई साथ सहयोग गर्न आग्रह गर्नुहुँदै सर्वदलीय बैठकमा विरोध जनाउने राजनीतिक दललाई वार्ताको लागि आह्वान समेत गर्नुभयो ।

उहाँले दुई दिनभित्र सर्वदलीय बैठक बसी यो समस्या समाधान गर्ने बताउनुभएको छ । जनकपुरधामका प्रमुख साहले पुरानो संरचना शान्तिपूर्ण वातावरण समयमा निर्माण सम्पन्न हुनुपर्ने भन्दै सबैको सहमतिमा कार्य सम्पन्न गर्न सर्वदलीय बैठकको लागि प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएको बताउनुभयो । 

मधेश आन्दोलनको क्रममा भानु चोकमा रहेको भानुभक्तको सालिक तोडफोड गरिएपछि उक्त चोकको नाम सहिद रमेश महतो चोक घोषणा गरिएको थियो । 

मधेश आन्दोलनको क्रममा भानुचोकमा रहेको आदिकवि भानुभक्तको सालिक तोडफोड गरी तत्कालै सो चोकलाई मधेश आन्दोलनका प्रथम सहिद रमेश महतो चोक कानुनी र आधिकारिक घोषणा भएको छैन । 

यता, नेपाली कांग्रेस धनुषाका जिल्ला उपसभापति गणेश झाका अनुसार भानुचोकमा भानुभक्तकै सालिक निर्माण गरिए जनकपुरधामको मान सम्मान र पौराणिक दृश्यांश कायम रहन्छ, विगतमा राजनीतिक दलका प्रतिनिधिहरूसँगको सहमतिमा यो चोक पुनः निर्माण गर्न थालिएको हो । 

यसअघि लोसपा निकट लोसपा युवा सङ्घ धनुषाका अध्यक्ष प्रशान्त झाको अगुवाइमा सहिद रमेश महतोको सालिक स्थापना गरिनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका थिए ।