• १३ साउन २०८१, आइतबार

मह उत्पादन घट्दा माहुरी कृषक चिन्तित

blog

महोत्तरीको गौशाला नगरपालिका -१ रामनगरस्थित भिक्सको जंगलमा राखिएको माहुरीको घारसहित घर फर्कने सुरसार गर्दै चितौन खैरिनीका मह कृषक । फोटो–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, वैशाख १६ गते । यो वर्ष महोत्तरीको जङ्गलबाट लक्ष्य अनुसारको मह उत्पादन हुन नसक्दा आगन्तुक माहुरी कृषक निराश भएर फर्केका छन् । मुख्यतः वन डढेलोका कारण आशा गरे बमोजिम  मह सङ्कलन हुन नसकेको उहाँहरूको भनाइ छ । माहुरीमा रोग प्रकोप, मौसमी प्रतिकूलता र जङ्गली फूलका विविधतामा कमी आएकाले पनि मह उत्पादन प्रभावित हुँदै आएको उहाँहरूको अनुभव छ । 

चितौनको खैरिनीबाट मेलिफेरा जातिका दुई हजार माहुरीका घार लिएर १३ किसान परिवार फागुन पहिलो साता महोत्तरी झर्नुभएको थियो । यहाँका जङ्गलबाट २ करोड मूल्य बराबरका ३५ देखि ४० हजार किलो मह सङ्कलन गर्ने उहाँहरूको लक्ष्य थियो । गत वर्ष यही अनुपातमा उत्पादन भएकाले मह किसान आशावादी थिए । 

तर यसपालि उत्पादन भने ४२५ बाल्टिन (प्रति बाल्टिन ३० केजीको दरले) अर्थात् १२ हजार किलोमा सीमित भएको मह कृषक सुरेश बस्नेतले बताउनुभयो । प्रचलित मूल्य (प्रति केजी ५०० रुपियाँ) अनुसार यति मह ६० लाख मूल्य बराबरको मात्र भएको उहाँले बताउनु भयो । 

‘यो उत्पादन गत वर्षको तुलनामा झण्डै ७० प्रतिशतले घटी हो’  बस्नेतले भन्नुभयो ‘डढेलो मात्र नियन्त्रण हुन सकेको भए रित्तो हात फर्कनुपर्ने थिएन ।’

उहाँको १३० गोला माहुरीबाट ८० बाल्टिन (दुई हजार ४०० किलो) मह हुनुपर्नेमा ५३  बाल्टिन अर्थात् एक हजार ५०० किलो मात्र भएको जनाउनुभयो । 

रामनगरको जङ्गलबाट ९३ घार माहुरी सहित बिहीबार साँझ चितौन फर्कन लाग्नु भएका कृष्ण बस्नेतले यसपालि महोत्तरी आउने जाने खर्च बराबरको मह पनि उत्पादन नभएको बताउनुभयो । उहाँले ४० बाल्टिन (एक हजार २०० किलो) मह निकाल्ने आसमा महोत्तरी आएको बताउनुभयो ।  

‘तर जम्मा जम्मी ११ बाल्टिन (३३० किलो) मात्र पुग्यो’ उहाँले निराशा व्यक्त गर्नुभयो ‘यति महले आउने जाने र यहाँको खर्च धान्न पनि सकस प¥यो ।’

समूहका ज्ञानबहादुर बस्नेत र नारायण कार्कीले ३०÷३० बाल्टिन मह हुने आसमा महोत्तरीका जङ्गलमा घार थाप्नु भएको थियो 

लोपोन्मुख अवस्थामा रहेका मकै डुमरी, अमारो, जामुनो, क्यामुनो, कुसुम, प्यारी, रुदिलो, धँगेरो जस्ता कतिपय प्रजातिमा पहिलेझैँ फूल लाग्न छाडेकाले पनि मह उत्पादन प्रभावित भएको उहाँहरूको अनुभव छ । 

बर्दिबासको बुद्धचोक, हात्तीलेट, गौशालाको रामनगर, स्टिल टावर, तारेचौरी र लक्ष्मिनिया आसपासका वन जङ्गल र बारीवगैचालाई चितवनका मह किसानले विगत एक दशकदेखि माहुरी चरीचरणको रूपमा उपयोग गर्दै आएका छन् ।