• ६ जेठ २०८१, आइतबार

चौँरीगोठमा भैरव नाच

blog

धेरै दिनको कसरतपछि एक दिन अचानक जुरेको थियो, हामी तीन भाइलाई भैरवकुण्ड पदयात्राको साइत । हामी तीन भाइमध्ये तीनै थियौँ– पदयात्राका सोखिन । त्यसमा पनि यो यात्रालाई अझ रोमाञ्चक र विशेष स्मरणयोग्य बनाउन हामीले कुनै कसर बाँकी राखेका थिएनौँ । पूरै ‘म्यान भर्सेज वाइल्ड’का बियर ग्रिल्स शैलीले यात्रा गर्ने योजना बुनेका थियौँ हामीले । 

झोलामा प्रेसरकुकरदेखि जङ्गलमा पोली खान काँचो आलुसम्म र त्यस्तै परिआए जङ्गलमै सुत्नका लागि टेन्ट र सिल्पिङ ब्यागहरूसमेत बोकेका थियौँ हामीले । पदयात्राका सोखिनमध्ये हाम्रा टोलीनेता थिए– फुर्वा मोक्तान, जो क्यामराम्यान पनि थिए । उनले यात्रा अवधिभरकै उत्कृष्ट फोटाहरू कैद गर्न कुनै कसर बाँकी राख्दैनथे । ठाउँअनुसार कहाँ ट्रिपोट राखेर फोटोको जादुगरी पस्कने, कहाँ र कसरी हाम्रा उडेकाझैँ फोटो कैद गर्ने या कुन कोणबाट हिमाल तथा ताल आदिको ल्यान्डस्केप क्यामरामा क्याप्चर गर्ने ध्याउन्नमा हर्दम हुन्थे उनी । 

त्यस्तै हाम्रो पदयात्राको ‘चियर मास्टर’को जिम्मेवारी पाएका थिए, अर्का सहयात्री साथी उद्धवले । पदयात्रा धेरै नगरे पनि सुरुदेखि नै रोमाञ्चित देखिन्थे उनी । बेलाबेलामा आफ्नै मोबाइलबाट सेल्फी खिच्दै परिवेशअनुसार चुट्किला र किस्सा सुनाउने जिम्मेवारी पनि उनी पूरा गर्दै जान्थे तर पदयात्राबाट फर्कंदा भने घुँडाको समस्याले हिँड्दा धेरै कष्ट पैदा गरेको थियो उनलाई ।

त्यस्तै मेरो भागमा परेको थियो– ‘क्वार्टर मास्टर’को जिम्मेवारी । ठाउँअनुसारको टे«किङ रुट, ठाउँ तथा कहाँ कतिखेर चिया–खाजा खाने मैले साथीहरूलाई सजग बनाउँदै समय तालिकाअनुरूप निर्धारित समयमा निर्धारित स्थानमा पु¥याउनु थियो । त्यस्तै समय–समयमा म चियर मास्टरको काममा सघाउँदै किस्सा र कविता पनि सुनाउँथे ।

हाम्रो पदयात्राको प्रारम्भिक बिन्दु अरनिको राजमार्गको आठकिलो भन्ने ठाउँबाट उकालो लाग्नुपर्ने भए पनि सदरमुकाम चौताराबाट हामी अघिल्लै दिन बेलुका नै बाह्रबिसे पुगेका थियौँ तर योजना हामीले सोचेभन्दा बेग्लै भयो । बिहान ५ बजे चण्डेश्वरी गेस्ट हाउस, बाह्रबिसेबाटै हामी तीन भाइले पैदलयात्रा थाल्नुपर्ने भयो । वर्षाको भेलले भोटेकोशी नदीमा आएको बाढीले ठाउँ–ठाउँमा सडक अवरुद्ध गरेको थियो । पहिरो गएर ठाउँ–ठाउँका सडक नदीमा भासिएका थिए तर ठाउँ–ठाउँमा जिप रिजर्भ गर्दै हामी निर्धारित समयमै आठकिलो पुगिसकेका थियौँ । 

भदौ २ गते जनैपूर्णिमाको दिन परेकाले उक्त स्थान छेवैको शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भीड थियो । कहीँ–कहीँ तामाङ सेलो र लोकभाकासँगै नाचगान पनि जम्न थालेको थियो । उक्त दृश्य हेर्दै हामी तीन भाइ नजिकैको होटलमा खाजा खान पस्यौँ । होटलकी साउनी खुब फरासिली लाग्थिन् । बडो पूmर्तिसाथ हामीलाई सुक्खा रोटी र आलुफ्राई गरेर हाम्रो सत्कार गरिन् ।  खाजा खाएर हामी ठाडो उकालो चढ्न थाल्यौँ । करिब १५–२० मिनेटमै हामीलाई पसिनाले निथ्रुक्क भिजाइसकेको थियो तर परिश्रमको फल मिठो हुन्छ भनेझैँ त्यहाँ माथिको सुन्दर झरनाले हाम्रो थकान सब गायब भएर छुट्टै स्पूmर्ति आइसकेको थियो ।

उक्त सुन्दर झरनालाई पृष्ठभूमि पार्दै केही फोटा खिचेर पुनः हामी ताना शर्माको घनघश्याको उकालोको स्मरण गर्दै ठाडो उकालो चढ्न थाल्यौँ तर जति–जति हामी उकालो चढ्थ्यौँ, त्यति–त्यति जुकाको अनुपात बढ्न थाल्यो । एक सेकेन्ड मात्र पाइला रोकेमा दसका हाराहारीमा जुका हाम्रा शरीरमा चढ्न थाल्थे ।

बाटोमा जुका, ढुङ्गामा जुका, घाँसमा जुका, रुखमा जुका, झाडीमा जुका, हुँदा–हुँदा हाम्रा अङ्ग–अङ्गमा जुका टाँस्सिएका थिए । एक ठाउँबाट जुका टिप्न पाएको छैन, अर्को तीन ठाउँबाट जुका चढिसक्थे । यही जुकाको डरले केही घण्टासम्म त हामीले दिसा–पिसाबको कष्टसमेत फुकाउन पाएनौँ । थाहा छैन, यो परिस्थितिमा हाम्रो नित्यकर्मले हामीलाई कुन हालतमा पु-याउन सक्थ्यो ? 

हुन त हामीले बाटामा जुका लाग्ने पूर्वजानकारी बुझेर स–साना कपडाका झुम्रामा नुन पोको पारेर आ–आफूले नबोकेका पनि होइनौँ तर यस परिस्थितिमा भगवान् श्रीविष्णुका झैँ आठजोडा हस्त भए पनि जुका टिप्न सायद धौ–धौ नै पर्ने थिए होला ? 

हाम्रा त जम्मा एकजोर हात बबुरा सुपरम्यानका शैलीमा हात चलाउँदा पनि जुकाको नियन्त्रण गर्न सम्भव थिएन । धन्न माथि भूमाथाङ भन्ने ठाउँमा एउटा गोठ भेटियो र उक्त गोठमा एक जना बूढाबाजे पनि भेटिए र एकछिन अँगेनाको खरानी शरीरभरि दलदाल पारेर पुनः उकालो चढ्न थाल्यौँ ।  भुमाथाङको डाँडाबाट दक्षिणतर्फ दुगुनागढी देखियो, जसको सिधा उत्तरतर्फ डरले बिस्तारै शिर उठाएजस्तो गरी हेर्दै थियो, तिब्बतको खासा सहर । त्यही खासा बजारको चहलपहल हेर्र्दै केही फोटा खिचेर हामी पुनः चढ्यौँ जुकेडाँडोतर्फ । 

यहाँभन्दा तल त जुकाको जुलुस मात्र रहेछ । वास्तवमा जुकाको आन्दोलन त माथि पो रहेछ । यहीबेला फेरि दुई गोठालाले एउटा हान्ने भैँसी छेकेर ल्याउँदै रहेछन् । केही क्षण हाम्रो भागाभाग चल्यो । त्यसपछिको करिब दुई घण्टाको हिँडाइपछि जुकाको आन्दोलन पनि मत्थर हुँदै गयो । करिब दिउँसोको २ बजेको हुँदो हो, हामीले बाटो बिरायाैँ र अन्धाधुन्ध जङ्गलै–जङ्गल हिँड्न थाल्यौँ ।

पुनः केही बेरमा बाटो त पत्तो लाग्यो तर हामी यकिन थिएनौँ । तल र माथि गर्दै हिँडिरह्यौँ । बीचमा पानी पर्न थाल्यो । रेनकोट लगाएर पुनः फोटा खिच्दै हिँडिरह्यौँ । करिब ४ बजेतिर जङ्मादिन भन्ने ठाउँमा पुगियो । त्यहाँ जीतबहादुर तामाङको गोठ र खर्क रहेछ । सपरिवार नै छोमेन अर्थात् भैरवकुण्डको जात्रा सिध्याएर भर्खर मात्र आइपुगेका रहेछन् । 

जात्राको सगुनले होला, दुई बूढा रातापिरा देखिन्थे र ननस्टप बोलिरहन्थे तर हामीलाई खुब सम्मानसाथ त्यहीँ बस्न आग्रह गरे सबैले । थकान र जुकाको आतङ्कले त्रसित बनाएको बेला हामीलाई पनि कसले यस्तो भनिदेला भएको थियो । अनि उक्त दिनको पदयात्रा त्यहीँ समाप्त गरियो । जङ्मादिन अर्थात् जीतबहादुर तामाङको घरमा एउटा गजबको दृश्य देखियो । त्यो दृश्य थियो– पारिवारिक खुसी । पारिवारिक खुसी ल्याउनलाई गरिबीले छेक्दो रहेनछ भन्ने पाठ हामीले त्यो परिवारबाट सिक्यौँ भन्दा फरक पर्दैन । अनकन्टार गोठमा बसेर पनि उनीहरूको शरीरका प्रत्येक अवयवमा खुसी सञ्चार भएको देखिन्थ्यो ।

यो परिवार र हामीबीच केही बेरमै घुलमिल भयो, मानौँ– हामी पनि यही परिवारको सदस्य हौँ । जीतबहादुरका करिब १७–१८ वर्षका एक भाइ थिए । २०–२२ वर्षकी विवाह भइसकेकी एक हिस्सी परेकी, हरक्षण हाँसिरहने बहिनी थिइन् । ५०–५५ की आमा र बेलुका झमक्क भइसकेपछि हिन्दी चलचित्रका अभिनेता डेनीकै शैली र भेषमा प्रवेश गरेका थिए उनका करिब ६०–६५ का बाबा । जीतबहादुर आफैँ चहिँ एकचोटि वैदेशिक रोजगारीमा बहराइनसमेत गएर आएका करिब २७–२८ का अविवाहित युवा थिए । सायद देश–विदेश घुमेका भएर होला, उनी कुरा गर्नमा माहिर लाग्थे । अर्को यो परिवारको आकर्षणको केन्द्र थिए बुवा । डेनीकै शैलीमा उनी खरा र रवाफिला कुरा गर्थे । उनको पेसा भने गोठबाहेक जङ्गलबाट जडीबुटी र विविध प्रकारका च्याउ सङ्कलन गरी तिब्बतसम्म बेच्न लाने कुरासमेत उनले सुनाए ।

तिब्बतमा केजीको १०–१२ हजार रुपियाँसम्ममा बिक्ने च्याउ पनि उनले हामीलाई देखाए । त्यस्तै मलेसियाको डीएक्सएन नेटवर्किङ कम्पनीले प्रयोग गरी विविध महँगा सामान उत्पादन गर्ने रातो च्याउसमेत उनले सुकाएर टन्नै राखेका रहेछन्, जुन च्याउ हामीलाई बेलुका पकाएर टन्नै खुवाएका पनि थिए । यसको स्वाद वास्तवमै हामीलाई अलौकिक लागेको थियो । सहरीया जङ्कफुडले ब्रोइलर कुखुरामा परिवर्तन हुँदै गरेका हामीलाई जीतबहादुरको गोठमा पाकेको जडीबुटीयुक्त खान्कीले छुट्टै पुनर्ताजगी थपिदिएको थियो । सायद यस्तै खान्कीले पनि होला यहाँका मानिसका शारीरिक अवयवहरूमा खुसीको सञ्चारको रहस्य ।

बाटोमा जुका, ढुङ्गामा जुका, घाँसमा जुका, रुखमा जुका, झाडीमा जुका, हुँदा–हुँदा हाम्रा अङ्ग–अङ्गमा जुका टाँस्सिएका थिए । एक ठाउँबाट जुका टिप्न पाएको छैन, अर्को तीन ठाउँबाट जुका चढिसक्थे । यही जुकाको डरले केही घण्टासम्म त हामीले दिसा–पिसाबको कष्टसमेत फुकाउन पाएनौँ ।  

केही क्षणपछि हामी सबै सुत्यौँ । गोठ सुनसान भयो तर अचम्मको कुरो राति सपनामा समेत ऐठन हुँदा बुवा भने अमुक राजनीतिक दललाई सरापिरहेका हुन्थे । मानौँ– उनीहरूले उनलाई पहिले साँच्चै नै सताएका हुँदा हुन् र उनका मनमस्तिष्कमा त्यो कुरा खिल बनेर बसिरहेझैँ लाग्थ्यो । भोलिपल्ट बिहान चिया पिएर जङ्मादिनको जीतबहादुरको परिवारलाई बाई–बाई गर्दै हामी छोमेन अर्थात् भैरवकुण्डतर्फको उकालो लाग्यौँ । त्यहाँबाट करिब एक घण्टामा गेसेसे पुगियो, जहाँ पुग्दा पुनः हल्का पानी पर्न थाल्यो र केही क्षण गफिँदै हामी नजिकैको पाटीमा ओत लाग्यौँ । त्यसपछि ठाडो उकालो लागेपछि हामीलाई भोक लाग्न थालेको थियो र बाटैमा केही दाउराहरू भेला गरेर प्रेसरकुकरमा आलु उसिनेर नुन–खुर्सानीसँग मस्तीले खाइयो ।

उचाइ सँगसँगै बढ्दै गएको चिसो र उकालो चढ्दाको पसिनाले होला, सायद उसिनेको आलुको स्वाद कुनै अलौकिक ‘स्वर्गको फल’भन्दा कम थिएन हामीलाई, जुन यात्रा अवधिकै एउटा स्वर्णिम क्षणका रूपमा अविस्मरणीय रहन गयो ।  त्यसपछि पुनः एक घण्टामा पङ्थोली र पुनः करिब एक घण्टामा उङ्मोरी खर्क पुगियो, जहाँ दुई बूढाबूढी चौँरीको दूध तताइरहेका थिए । साथमा उनीहरूका करिब ८–१० वर्षका दुई छोरा पनि थिए । हामीले ती सबैलाई चकलेट र बिस्कुट दियौँ । ती दुई बच्चा चकलेट पाउँदा खुसीले उफ्रिएका थिए ।

उनीहरूको गोठमाथि छुर्पीका सिलहरू उनेर अँगेनामाथिको छानाभरि झुन्ड्याइएको थियो । त्यहाँ छुर्पी किनेर एक–एक गिलास चौँरीको दूध पिएर हिँडियो । खर्कमाथि दुई÷तीनवटा बाटा भएकाले झुक्किएला भनेर ती बच्चाहरू केही माथिसम्म हामीलाई बाटो देखाउन गए । त्यसपछि सिनामज्यू, सोसेटाकु हुँदै जोरपाटी भन्ने ठाउँमा पुगियो । जोरपाटीमा रहेका उक्त जोर अर्थात् दुईवटा पाटी भूकम्पले जीर्ण बनाएका थिए । हाम्रो छेवैमा देखिएकी शेर्पिनी दिदीले हामीलाई चिया पिएर जान अनुरोध गरिन् र हामीले सहर्ष स्वीकार गर्दै उनको गोठमा प्रवेश ग¥यौँ । गोठभित्र अन्य तीन व्यक्ति थिए । यहाँको छानोमा पनि टन्नै छुर्पीका सिलहरू झुन्डिएका थिए भने सबैका अनुहारमा अलौकिक मुस्कान थिए । 

राता–राता गाला बुद्धका झैँ चिम्सा आँखा र छलकपटरहित निर्दोष र हिस्सी परेका अनुहार सायद यो क्षेत्रका मानिसका विशेषताझैँ लाग्थे । एकै क्षणमा शेर्पिनी दिदीले हामीलाई एक थाल उसिनेको आलु, लेकाली अचार र एक बटुको काटेको काँचो छुर्पीका साथै एक–एक गिलास चियाले हाम्रो अतिथि सत्कार गरिन् । हामीले खाउञ्जेल शेर्पिनी दिदीको लोग्नेले गफमा राम्रै साथ दिए र गफको आत्मीयताले यी त आफ्नै भिनाजुझैँ पो लाग्न थाल्यो । 

त्यही आत्मीयताले हो कि क्या हो, हामी तीन जनाले मस्तीले खाएको त्यत्रो चिजको पैसा दिन खोज्दा पनि त्यो परिवारले पैसा लिन मानेन तर हामीले जबरजस्ती दिएर हिँड्यौँ । यही कुरा जाङ्मादिनको जीतबहादुरको परिवारले पनि हामीलाई गरेको थियो र फर्कंदा एक–एक किलो रातो च्याउसमेत लाने हिसाबमा हामीले एक–एक हजार रुपियाँ दिएर हिँडेका थियौँ । 

जोरपाटीबाट करिब एक घण्टाको उकालो हिँडेपछि साँच्चै सुन्दर र आकर्षक एउटा डाँडोमा पुगियो । वरिपरि बादल फाटेर भर्खरै बिहान भएजस्तै पहेँलो घामको घमाइलोले सुनमा सुगन्धझैँ छाएको थियो यो डाँडो । हामी पनि के कम थियौँ र ! केही फोटा खिचेर ‘पारि त्यो डाँडामा घाम लाग्यो घमाइलो’ गीत बजाएर मस्तराममा तीनै भाइ नाच्यौँ र शरीरलाई उत्साहित बनाएर पुनः तेर्सो लाग्यौँ । 

कुनै परिकथाका ‘ड्रिम गार्डेन’झैँ लाग्ने यहाँका केही प्राकृतिक छटा शब्दमा वर्णन गर्नै नसक्ने खालका देखिन्थे । राता वनस्पतिहरूका छेउछाउमा पत्रे चट्टानका कलात्मक थाक देख्दा यो कसैले मिलाएर निर्माण गरेको स्वर्गको बगैँचाझैँ लाग्थ्यो । 

केही क्षणको तेर्सो हिँडाइपछि हामी पुग्यौँ जोमजोम भन्ने ठाउँमा । शेर्पा भाषामा जोमजोमको अर्थ हुँदो रहेछ ः भेट हुने ठाउँ । दुईवटा बाटा यहाँ एकै ठाउँमा जोडिएका रहेछन् । जहाँ एउटा पाटी पनि थियो । सायद यो पाटी त्यही दोबाटो जोडिएर पदयात्रीको भेट हुने ठाउँ रहेछ । त्यही जोमजोममा हामी तीन भाइ केही क्षण बसेर ‘प्रेम’ विषयमा बहस पनि ग¥यौँ र निष्कर्षमा जोमजोमलाई प्रेमको थान घोषणा गर्दै अगाडि बढ्यौँ । 

त्यसपछि करिब दस मिनेटको पुनः तेर्सो हिँडाइमा हामीले गन्तव्य भेटौँ । छोमेन अर्थात् भगवान् शिव–पार्वतीको क्रीडास्थल भैरवकुण्ड । दुई पहाडका चेपबाट उत्पत्ति हुँदै करिब एक किमिमा फैलिएकी यी प्रकृतिकी रानी डुब्दै गरेको घामसँगै हुस्सुको पहिरनले बिस्तारै आफ्नो सुन्दरता छोप्दै थिइन् । 

सहयात्री साथी फुर्वाले सायद आफ्नो उमङ्गको आवेग रोक्नै सकेनन् र लुगासँगै हामफाले छोमेनको अँगालोमा । हामी दुई भने रमाउन थाल्यौँ छोमेनकै जादुगरी चञ्चलतामा । क्यामराका लेन्सहरू घुमाउँदै र भोलि बिहानै जुगल हिमालको काखमा रम्ने उत्साह बाँकी साँच्दै छेवैको चौँरीगोठतर्फ अगाडि बढ्यौँ । गोठभित्र पस्दा सुनसान थियो । त्यसको फाइदा उठाउँदै पुनः नाच्न तम्सियौँ तीन भाइ र पुनः गोठभित्र पसेर लगायौँ गीत– ‘पारि त्यो डाँडामा घाम लाग्यो घमाइलो...’ र नाच्यौँ पुनः मस्तीले भैरवकै भावभङ्गीमा !  

Author

मोहनप्रकाश