• १३ जेठ २०८१, आइतबार

कीर्तिपुरमा रमाउँदै

blog

ऐतिहासिक र सांस्कृतिक धरोहरले भरिपूर्ण छ कीर्तिपुर । कतिपयले त कीर्तिपुर नेपालको अलग्गै जिल्ला पो हो कि भनेको यदाकदा सुन्न पाइन्छ । त्यसो त कीर्तिपुरको नाम नसुन्ने नेपाली विरलै पाइन्छन् । नेपालको पहिलो र सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा छ । 

यस नगरका बारेमा नजानेकालाई पनि यो कुरा भने अवश्य थाहा हुन्छ तर त्रिभुवन विश्वविद्यालय परिसर मात्रै भने कीर्तिपुर होइन । काठमाडौँको रत्नपार्कस्थित बसपार्कबाट शहीदगेट, त्रिपुरेश्वर, कालीमाटी, कुलेश्वर, बल्खु हुँदै सात किलोमिटरको बसयात्राबाट कीर्तिपुर पुग्न सकिन्छ । चन्द्रागिरि पर्वतको उत्तर मोहडामुनि, रिङरोडबाहिर बागमती नदीबाट पश्चिम र नैकापभन्दा पूर्वको सम्पूर्ण भू–भाग नै कीर्तिपुर हो ।  वि.सं. २०१३ मा नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको स्थापना भयो । शैक्षिक क्षेत्रमा नेपालले उच्च शिक्षाको श्रीगणेश कीर्तिपुरबाटै गरेको हो । नेपालभित्रबाट मात्र नभएर भारतलगायत अन्य देशबाट पनि शिक्षा आर्जन गर्न कीर्तिपुर धाउँछन् । धाएकाहरू साहित्य पढ्छन् । संस्कृति अध्ययन गर्छन् । 

धर्म, विज्ञान, व्यवस्थापनलगायत अध्ययन गरेर आफूलाई सक्षम बनाउँछन् । कीर्तिपुरमा अरू पनि धेरै शास्त्रको पढाइ हुन्छ । यसै कारण यो स्थल विद्याप्रेमीका लागि पवित्र तीर्थ बन्न पुगेको छ । कीर्तिपुरको प्रवेशद्वारमै अवस्थित त्रिभुवन विश्वविद्यालय लगभग छ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । 

विश्वप्रसिद्ध इतिहासकार कर्क पेट्रिकको शब्दमा नेपाल मन्दिरै मन्दिरको देश भएको स्पष्ट हुन्छ । कीर्तिपुरमा पनि जताततै मन्दिरै मन्दिर अवलोकन गर्न जानेले पाउँछ । हिन्दु र बौद्ध सम्प्रदायका धार्मिक स्थलहरू कीर्तिपुरमा नजिक नजिक रहेको पाइन्छ । विभिन्न शैली र कलाले भरिपूर्ण मन्दिरहरूले कीर्तिपुरका जनतामा विद्यमान धार्मिक आस्था र श्रद्धालाई सङ्केत गर्छन् । कीर्तिपुरको प्रसिद्ध र ठूलो मन्दिर उमामहेश्वर नै हो ।

कीर्तिपुरको सबैभन्दा अग्लो भागमा अवस्थित उमामहेश्वर मन्दिर स्वयम्भू डाँडाभन्दा ११ मिटर अग्लो छ । समुद्री सतहभन्दा एक हजार ४१४ मिटर उचाइमा रहेको यो मन्दिरबाट काठमाडौँ पनि राम्रैसित देख्न सकिन्छ । यो मन्दिरले हिन्दु धर्मको महादेव र पार्वतीसित सम्बन्ध राख्छ । वि.सं. १७१२ मा राउत विश्वनाथद्वारा स्थापना भएको यो मन्दिरले कीर्तिपुरको धार्मिक जीवनसित घनिष्ट सम्बन्ध राख्छ । स्थानीय लायकु टोलबाट सिँढी उक्लेर यो मन्दिर पुग्न सकिन्छ ।

मन्दिरको कलात्मक ढोकाबाट पनि फेरि सिँढीहरू उक्लेपछि आइपुग्ने वर्गाकार इँटाहरूले छाएको मन्दिरको आँगनले नेपालीपनलाई झल्काउँछ । मन्दिरको निर्माणशैलीले त नेपाली मन्दिरको प्रतिनिधित्व पनि गर्दछ । आँगनबाट पनि ढुङ्गाको दुई ठूलाठूला हात्तीको मूर्तिलाई दायाँबायाँ पारेर अरू केही सिँढी उक्लेपछि मात्र उमामहेश्वरको दर्शन गर्न सम्भव हुन्छ । उमामहेश्वर मन्दिरबाट पश्चिम दिशातिरबाहेक अन्य सबै दिशाका दृश्यलाई एकै पटकमा अवलोकन गर्न सकिन्छ । दक्षिणतिरको चन्द्रागिरि पर्वत, पूर्वतिरको कीर्तिपुरकै प्राचीन बस्ती र ललीतपुर, उत्तर–पूर्वको स्वयम्भू, नारायणहिटी दरबार, सिंहदरबार, धरहरा, त्रिभुवन विमानस्थललगायत घरैघरले ढाकिएको काठमाडौँको घना बस्तीलाई देख्न पाइन्छ । सहरको बस्तीभन्दा पर हरियो पहाड मात्र कहाँ हो र ! त्यसभन्दा पनि पर मनोरम हिमालय पर्वतहरू लहरै ठडिएका देख्न सकिन्छ ।  उमामहेश्वर र चिलनच्वको ठिक बीच भागमा बाघभैरव मन्दिर अवस्थित छ । यसै मन्दिरबाट सीधा पूर्वतिर फर्कने हो भने अर्को थुम्कोमा एउटा सेतो स्तूप देख्न सकिन्छ, जसलाई चिलनच्व भनिन्छ । स्थानीय भाषामा ‘धुम्बा आजु’ भनिने मन्दिरको स्थापना वि.सं. ११५६–११८३ तिर राजा शिवदेव तृतीयबाट भएको कुरा इतिहासकारहरू बताउँछन् तर मन्दिरसित सम्बन्धित बाघको मूर्तिले मन्दिरभन्दा निकै पुरानो र महìवपूर्ण इतिहास बोकेको छ ।

प्राचीन कीर्तिपुरेहरू घरघरबाट जङ्गलमा बाख्रा चराउन लैजान्थे । बाख्रा चराउन जाने गोठालो–गोठाल्नीले बनाएको माटोको बाघमा शक्ति सञ्चार भएर बाख्रा खाएको घटनालाई दैवी चमत्कारका रूपमा लिएर तान्त्रिकले तन्त्रशक्तिद्वारा बाघलाई पुरानै अवस्थामा फर्काई कीर्तिपुरवासीले आफ्नो अभिभावकका रूपमा स्थापना गरेको किंवदन्ती छ । कीर्तिपुरवासीहरू अचेल पनि केही आपत्विपत् पर्दा बाघभैरवलाई नै सम्झने र पुकार्ने गर्छन् र हरेक वर्ष भदौ १ गतेका दिन यसको धुमधामले खट जात्रा गरिन्छ । बाघभैरवको सक्कली मूर्ति सर्वसाधारणलाई देखाइँदैन र सुरक्षित स्थानमा ताल्चा मारी जिम्मेवार पक्षहरूले साँचो आफूहरूसित राखिराखेका छन् । सर्वसाधारणले त्यसको प्रतिमूर्तिमा पूजा गर्छन् । समुद्री सतहबाट एक हजार ४०५ मिटर उचाइमा रहेको यो मन्दिरको लम्बाइ ५० मिटर र चौडाइ ३० मिटर रहेको छ । मन्दिरको दुई तलामाथि पृथ्वीनारायणका सेनाबाट कीर्तिपुरेहरूले खोसेर लिएका हतियारहरू सजाएर राखिएका छन् ।

चिलनच्व र बाधभैरव मन्दिरको बीचमा एउटा अर्को मन्दिर पनि रहेको छ, जुन ल्वं देगलको नामले प्रख्यात छ । बौद्ध धर्मसित सम्बन्ध राख्ने यो मन्दिर शिखर शैलीमा ढुङ्गैढुङ्गाले बनेको छ । पदम्काष्ठगिरि महाविहारको नाम पनि शिलालेखहरूमा उल्लेख भएको चिलनच्वको यो विहार पाटन राज्यको महापात्र जगपाल बर्माद्वारा वि.सं. १५७३ मा निर्माण भएको उल्लेख छ । यहाँको स्तूप पाटनकै पिम्बहालको स्तूपको संरचनासित मिल्दोजुदो छ । प्रत्येक वर्ष आश्विन पूर्णिमाको दिन बेलुका पर्व मनाउने यो स्थल बौद्ध धर्मको वज्राचार्य समुदायसित सम्बन्धित छ । कीर्तिपुरभित्र निर्माण भएका अन्य दुई बौद्ध धार्मिक स्थलले पर्यटकलाई लठ्ठ पार्दछ । बौद्ध धर्मप्रति आस्था राख्ने, बुद्धको सम्मान गर्नेलाई कीर्तिपुरका गुम्बाले बोलाएझैँ लाग्दछ । कीर्तिपुरको सुदूरपश्चिम देवढोकामा एउटा गुम्बा छ । गहरिएर यसको बनावट हेर्दा मन नाच्न थाल्दछ । 

अवलोकन गर्न गएका पर्यटक बौद्ध धर्मको एक निकाय महायानबारे जानकारी लिन चाहन्छन् । राम्ररी जानकारी लिन यहाँको लामासँग समय लिएर फेरि टुप्लुक्क आइपुग्छन् । रसिला पर्यटक तिब्वती परम्पराअनुसार बुद्धपूजा गरेको देख्दा रमाउँछन् । मनमनै प्रफुल्ल हुन्छन् । शान्त भएर यहाँका लामा ध्यान गरेको हेर्छन् । यहाँ अवलोकन गर्न आउनेमा स्थानीयवासी बढी भएको पाइन्छ । 

त्यस्तै अर्को एक बौद्ध धार्मिक स्थल हो, नगरमण्डप श्रीकीर्ति विहार । श्रीकीर्ति विहार हेर्ने पर्यटक मस्त भएको पाइन्छन् । कीर्तिपुरको पूर्वी भागमा पर्ने यो विहार नयाँबजार (अमलसी)मा रहेको छ । नयाँबजारमा रहेको यो विहार बौद्ध धर्मको थेरवाद सम्प्रदायसँग सम्बन्धित छ । यहाँ कीर्तिपुरलगायत टाढा–टाढादेखि मान्छे आउँछन् र भिक्षु तथा अनागरिकबाट ज्ञान आर्जन गरी फर्कन्छन् ।

चोभार कीर्तिपुर डाँडाभन्दा दक्षिण–पूर्व दिशामा रहेको नाथ सम्प्रदायको आदिनाथ मन्दिरमा चैत्र अष्टमीमा ठूलो उत्सव हुनुका साथै कात्तिक महिनाभरि मेला लाग्दछ । आदिनाथमा दिनहुँ पूजा गरेमा जस्तोसुकै रोग पनि निको हुने विश्वास रहेको पाइन्छ । यही विश्वासअनुसार आ–आफ्नो स्वास्थ्यलाभको कामना गरी धातुको भाँडाकुँडाहरू टाँस्ने भक्तजन प्रशस्त पाइन्छन् । मन्दिरको भित्ताहरूमा यत्रतत्र टाँगिएका भाँडाकुँडाहरू यसैगरी प्राप्त भएका हुन् ।

चोभार भन्नासाथ मलाई जलविनायकको सम्झना आउँछ । २०७२ को भुइँचालोले भत्काउनुअघि चोभारको गणेश मन्दिर तीनतले रहेको सम्झना आउँछ । यो मन्दिर सोह्रौँ वा सत्रौँ शताब्दीमा बनेको भन्ने गरिन्छ । स्थानीयको विश्वासमा यहाँको मूर्ति मन्दिरभन्दा पनि पुरानो भएको मानिन्छ । बागमती नदीको छेउमा रहेको यो गणेशको मन्दिरलाई जलविनायक भन्ने गरिन्छ । खुला वातावरणमा रहेको यो मन्दिरमा विवाह गर्ने र वनभोज मनाउनेहरूको घुइँचो लाग्दछ । अहिले चोभारको माथिल्लो भागमा मञ्जुश्रीको विशाल मूर्ति बनेको छ ।  उपत्यकाका गुफाहरूमध्ये चोभारको गुफा प्रसिद्ध छ । ‘चखुंबखुंति’को नामले पनि प्रसिद्ध यो गुफाबाट चोभारकै आदिनाथ मन्दिरअगाडिको गन्धर्वेश्वर मन्दिरसम्म पुग्ने बाटो भएको कुरा स्थानीय बूढापाकाहरू बताउने गर्छन् । २०७२ को भुइँचालोले गुफामा असर पु¥याएको हुँदा अहिले कसैलाई पनि प्रवेश गर्न दिइएको छैन ।

काठमाडौँ उपत्यकाको एक मात्र सुरक्षित ताल टौदह देख्दा प्रकृतिप्रेमी पर्यटक ताली बजाएर रमाउँछन् । रमणीय यो दह दक्षिणकालीको बाटोमा पर्दछ । दक्षिणकाली जाने दर्शनार्थी मोटरबाटै पनि यसको दृश्यावलोकन गर्न सक्छन् । अनावृष्टिको बेला दहको किनारमा विधिपूर्वक पूजा गरी पानी मागेको खण्डमा वृष्टि हुने विश्वासले केही वर्षअघिसम्म पनि कीर्तिपुरका जनताले सामूहिक भावनाबाट उत्प्रेरित भई पूजा गर्ने गरेका थिए । 

असी रोपनी जग्गामा फैलिएको यो दह वरिपरि नानाथरीका चराचुरुङ्गी र वनस्पति भएको हुनाले सुन्दर प्राकृतिक दृश्वावलोकनका लागि उपयुक्त देखिन्छ । यस दहको एउटा विशेषता भनेको कतैबाट हेर्दा पनि यसको सम्पूर्ण भाग देख्न सकिँदैन ।

कीर्तिपुरको सिधा दक्षिण दिशामा पर्ने चम्पादेवीका बारेमा हामीले नसुनेका पनि होइनौँ । चम्पादेवी चर्चामा रहेको एउटा बस्ती हो । अवलोकन गर्न लायक छ । चम्पक फूलहरू फुलेको बेलामा यहाँको सौन्दर्यको आफ्नै छुट्टै महìव छ । चम्पक फूल फुलेको सौन्दर्य हेर्न धेरै मानिस त्यहाँ पुग्दछन् । स्थानीयको विचार छ, चम्पकका फूलहरू धेरै फुल्ने भएको हुनाले यहाँकी देवीको नाम नै चम्पादेवी रहन गएको हो । प्रकृतिलाई नजिकबाट छाम्न चाहने पर्यटक यहाँ आएपछि आफूलाई आनन्दमा पाउँछन् किनभने ढकमक्क फुलेको चम्पकको फूलले पहाड चढ्दाको पीडा हरण गर्दछ । यस ठाउँको बस्तीको नाम पनि देवीको नामबाट नामकरण गरिएको छ । पदयात्रा गर्न चाहने एक पटक पुग्नैपर्ने ठाउँ हो यो । धार्मिक यात्रा गर्न रुचाउने पनि एक पटक पुग्नैपर्नै ठाउँ हो । चम्पादेवी डाँडाको फेदीमा रहेको यो स्थान चम्पादेवी डाँडा चढ्नेहरूको बाटो पनि हो । मञ्जुश्रीले स्वयम्भू ज्योति दर्शन गर्न आउँदा आफ्नी कान्छी पत्नी मोक्षदालाई यहाँ राखेको विश्वास गरिन्छ । शिखी बुद्धले मेष सङ्क्रान्तिको दिनमा यहीँ धर्मोपदेश गरेको हो भन्नेहरू पनि छन् । 

यसैको संस्मरणमा वैशाख १ गतेका दिन चम्पादेवी डाँडाको टुप्पोमा ठूलो मेला लाग्दछ । यो मेला भर्न जानेहरू प्रायजसो चम्पादेवी भएर जान्छन् । कीर्तिपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाको समयमा नै संरक्षण र सदुपयोग हुनु हो भने कीर्तिपुर ऐतिहासिक र सांस्कृतिक सम्पदामा शिर उठाएर अगाडि लम्कन सक्दछ । चम्पादेवीको वातावरण ज्यादै नै रमणीय रहेकाले जो त्यहाँ पुगेका हुन्छन, पुनः पुनः जान चाहन्छन् । 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा यहाँ ‘पुष्पलाल पार्क’ बनेको छ । त्यस्तै विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा ‘बी.पी. वाटिका’ पनि निर्माण हुने कुरो छ । निकट भविष्यमै दुई सय रोपनी जग्गामा बहुजातीय सङ्ग्रहालय पनि बन्नेछ । पुष्पलाल पार्क, बी.पी. वाटिका, बहुजातीय सङ्ग्रहालय बनेपछि यहाँको सौन्दर्य अझ धेरै राम्रो हुनेछ । 

सम्पूर्ण कीर्तिपुर क्षेत्रको परिक्रमा गर्ने हो भने एकै दिनमा घुम्न सकिन्छ । प्रत्येक कुराका बारेमा सामान्य जानकारी लिँदै घुम्ने हो भने कम्तीमा दुई दिन लाग्छ । कीर्तिपुरको मुख्य भागमा उमामहेश्वर, बाघभैरव, ल्वहं दगेल, चिलनच्व, नगरमण्डप, श्रीकीर्तिविहार, बौद्धगुम्बा, रहस्यमय मसान, आदिनाथको मन्दिर, जलविनायक मन्दिर, मञ्जुश्रीको मूर्ति, गुफा आदि अवलोकन गर्न सकिन्छ । 

चम्पादेवी क्षेत्रतिर मात्रै घुम्ने हो भने नःगाउँको बाटो भएर दक्षिणतिर लागेर दूधपोखरी भएर जान सकिन्छ । पूरा दिन पदयात्रामै बिताउने हो भने छेउछाउका बस्तीहरू पनि घुम्न सकिन्छ । चम्पादेवीबाट पूर्वतिरको बाटो लाग्ने हो भने मच्छेगाउँ पुग्न सकिन्छ । उपत्यकामा त्यहाँस्थित मत्स्यनारायणको मन्दिर प्रख्यात मानिएको छ । यो मन्दिरमा प्रत्येक तीन वर्षमा अधिक मासमा ठूलो मेला लाग्दछ । यस मेला भर्न आउने दर्शकमा उत्सुकता भरिएको हुन्छ । मत्स्यनारायणको मेला हेरूँ हेरूँ भन्ने भावना यसबारे अलिकति पनि थाहा भएको प्रत्येकको मनमा रहन्छ ।  मत्स्यनारायणबाट उत्तरतिर हेर्ने हो भने प्राचीन कला र संस्कृतिले सम्पन्न कीर्तिपुरलाई नियाल्न सकिन्छ । आकाश सफा रहेको बेला यहाँको आनन्द नै बेग्लै हुन्छ । हिमाल हेरेर मानिस रमाइरहेका भेटिन्छन् । रमाएर बजाएको तालीको सङ्गीत पनि कर्णप्रिय लाग्दछ । हिमाल हेर्दै ताली बजाउँदै रमाउनुको पनि आफ्नै मजा छ । यसरी रमाउनेले त हो, ऐतिहासिक र सांस्कृतिक महत्व बुझ्ने ।