महिलाका विषय उठानका क्रममा आज पनि हाम्रो देशमा आयोजना हुने विभिन्न कार्यक्रममा क्लारा जेटकिन, रोजालक्जमवर्ग लगायतका विदेशी महिलाको नाम लिइने गरिन्छ । त्रेत्रायुगदेखि, बुद्वकाल हुँदै २०औँ, २१औँ शताब्दीमा पनि महान् कार्य गरेका महिलाको योगदानबारे हाम्रो समाजमा खासै चर्चा हुने गरेको छैन । आफ्नो देशका विभूति, आफ्नै माटोको अभियन्तालाई जबसम्म हामीले सम्मान गर्न सक्दैनौँ, सामाजिक रूपान्तरणको अभियान, परिवर्तनको प्रयास आकाशको फल समान नै हुन्छ ।
वर्तमानमा पनि नेपाली र नेपालको गौरव, शान नेपाल धराकी छोरी जानकी या भनौँ– सीतालाई राज्यले नै भुलिरहेको छ । मधेश प्रदेशको राजधानी जनकपुरमा जन्मिएकी आदर्श पात्र सीताबारे राज्य आज पनि उदासीन छ । विश्वको चर्चित ग्रन्थ रामायणको प्रमुख पात्र सीतालाई जानकी, रामनन्दनी, मैथिली, सिया, जनकनन्दनी लगायतका नामले चिनिन्छ । सीता त्रेतायुगकालीन राजा जनककी ज्येष्ठ सुपुत्री हुन् । उनको जन्मतिथि वैशाखशुक्ल नवमी हो । त्रेतायुगकालीन आदर्श पुरुषोत्तम पुरुषका रूपमा पूजित राम भगवान्को जन्मतिथि र आदर्श नारी सीताको जन्मतिथि नवमी नै हो ।
चैत शुक्ल नवमीलाई रामनवमीका रूपमा वैदिक सनातनीले हर्षाेल्लासका साथ मनाउने गर्छन् तर आदर्श पात्र सीता नवमीबारे सनातनीसमेत वर्तमानमा पनि बेखबर छन् । नेपालमा ज्वाइँको या भनौँ– भगवान् रामको जन्मतिथि भव्यताका साथ मनाइन्छ । रामनवमीकै एक महिनापछि पर्ने सीता नवमीबारे धेरैलाई थाहा छैन । सीता नवमीलाई पर्वका रूपमा खासै मनाएको पाइँदैन । केही वर्षदेखि मधेश प्रदेश सरकारले भने प्रदेशस्तरीय सार्वजनिक बिदा दिएर सीता नवमी मनाउने गरेको छ ।
सीता नवमी (सीता जयन्ती)का दिन जनकपुरको जानकी मन्दिर भव्य रूपमा सजाउने गरिन थालिएको छ । सीताको कर्मभूमि, उनको भौतिक देह समाप्त भएको भूमि, लवकुशको जन्म भूमि रहेको बागमती प्रदेशमा भने सीता नवमी विशेष पर्वका रूपमा मनाइँदैन । बागमती प्रदेश सरकारले भने अझै सीता नवमीलाई आत्मसात् गर्न सकेको छैन । सीता बस्ने वन सीतावन हँुदै चितवन भएको भन्ने भनाइ पनि छ । यस्तो पावन भूमिको हकदार चितवन जिल्लाले समेत आदर्श नारी सीतालाई चिन्न ढिला गरेको छ ।
आज चितवनको बाटो हँदै सीताको समाधिस्थल वाल्मीकि आश्रम जान सक्ने अवस्था छैन । सडकको बाटो जानु प¥यो भने भारतको बाटो हँुदै जानुपर्ने अवस्था छ । नेपालकै बाटोबाट जानका लागि डुङ्गाबाट नारायणी नदी पार गरेर जानुपर्छ । नेपालबाट जानका लागि झोलुङ्गे पुल त निर्माण गरिएको छ तर आजसम्म पनि सुचारु हुन सकेको छैन । डुङ्गा चढेर जाने बाटो राम्रोसँग निर्माण गरिएको छैन ।
आज सीता नवमी
नेपालको पवित्र भूमि जनकपुरमा जन्मेकी सीता विवाह भएर अयोध्या पुगिन् । उनको कर्मक्षेत्र चितवनको वाल्मीकि आश्रम हो । जहाँ उनी आदर्श नारीका रूपमा परिचित भइन् । सीता इतिहासको यस्ती आदर्श पात्र हुन्, पतिको साथमै जसले १२ वर्ष बनवासको कष्टकर जीवन बिताइन् । राजमहलमा हुर्किएकी राजकुमारी विवाहपश्चात् सारा सुख–सयल छोडेर जोगीसमान उनी पनि श्रीमान् भगवान् राम र देवर लक्ष्मणसँगै वनवास लागेकी थिइन् । त्यसबखत उनले कैयौँ हन्डर ठक्कर खानु प-यो । उनको अपहरणसमेत भयो तर पनि उनी विचलित भइनन् ।
माइती र घर दुवै राज्यको इज्जतका लागि, आफ्नो अस्मिताका खातिर उनले पनि अपहरणकारीसँग लामो सङ्घर्ष गर्नुप¥यो । पति अयोध्या नरेश रामले उनलाई अपहरणबाट मुक्त गराए । उनी पुनः राजदरबार अयोध्या पति राम र देवर लक्ष्मणसँगै फर्किइन् तर जनताबाट उपेक्षित भएपछि जनभावनाअनुसार उनी पुनः वनवास लागिन् । गर्भमा उनको सन्तान हुर्किरहेको थियो । गर्भमा रहेको सन्तानसँगै एक्लै वनवास लागिन् । वनवास बसाइको दु:ख झल्दै उनले सन्तानलाई जन्माइन्, हुर्काइन् र बढाइन् । वनवासको कष्टप्रद जीवनयापनका बीच पनि सन्तानलाई योग्य बनाइन् ।
कर्म घरमा आश्रय नपाउने क्रममा या भनौँ– कर्म घरमा बस्न मन नलागेको बखत माइतीमा बस्ने चलन आज पनि हाम्रो समाजमा छ तर उनी माइती जनकपुर पनि गइनन् र घर अयोध्या राजमहलमा पनि फर्केेर कहिल्यै आइनन् । गर्भवती अवस्थाकी उनी न घरको छानोको ओत लागिन्, न माइतीको आँगनमा विलाप गर्न पुगिन् । कसरी काटिन् होली उनले त्यो प्रहर ? उनले भोगेको जीवन त्यही नै थियो ।
सीता आममहिलाका लागि शान हुन्, गौरव हु्न् । महिला वर्ग कुनै अर्थमा पनि अबला छैनन्, उनीहरू अब्बल छन् भन्ने उदारहणीय नारी पात्र हुन् सीता । आज पनि सृष्टिकर्ता, सृष्टिका हकदार महिलालाई दोस्रो दर्जाको नागरिक समान हेर्ने दृष्टिकोणमा खासै परिवर्तन हुन सकेको छैन । उनीहरूले समान हक अधिकारका लागि आवाज उठाइरहनु परेको छ । महान् नारी सीताको सङ्घर्ष, त्यागले महिला वर्ग कुनै कोणबाट पनि परनिर्भर हिजो पनि थिएनन् र आज पनि हुनु हुँदैन भन्ने देखाउँछ । एउटा कुलबधू, राजकुमारी, रानी जानकीको सपनाको महल वाल्मीकि आश्रमस्थित वनमा आश्रित भइन् ।
अयोध्यावासी जनताबाट उपेक्षित सीतालाई त्यहाँ बस्न मन नलागेपछि माइती किन गइनन् ? माइती जनकपुरवासीले उनलाई किन उतै लगेनन् भन्ने प्रश्न त उब्जिन्छ तर उनी जान नै नचाहेकोसबै परिघटनाले बताउँछ । नारी वर्ग कर्मशील छन् । कर्म गर्न सक्छन् । एक्लै पनि सृष्टिलाई धान्न सक्छन् भन्ने उदाहरणीय नारी हुन् उनी । उनी जहाँ रहिन्, आदर्श पात्र बनेर रहिन् । उनी आदर्श श्रीमती, बुहारी, भाउजू र आदर्श राजकुमारी हुन्, रानी हुन् ।
उनले जङ्गलमा जहाँ छोरा लवकुशलाई हुर्काइन्, शिक्षा र संस्कारले पूर्ण बनाइन् । अन्ततः त्यही भूमिमा समाहित पनि भइन् । यस्ती महान् विभूतिको सम्झना गर्न र महिमा बढाउन नेपालले सकेको छैन । राज्यले त गरेन, महिला अधिकारका क्षेत्रमा कार्यरत संस्थाले पनि यस्तो अनुपम इतिहासलाई विश्वव्यापी बनाउन सकेनन् । त्यसो त वैदिक सनातनीहरूले पनि सीता नवमीलाई उपेक्षा गरिरहेका छन् । उनको जीवनीले नारी पात्र हरेक कोणबाट सक्षम र सबल छन् भन्ने देखाउँछ । राज्यले उनको उदारहणीय जीवनी विश्वभर फैलाउन सक्नुपर्छ ।
उनको त्याग र बलिदान विश्वभरका नारीले गौरव गर्न लायक छ । कुनै कल्पनाको उपन्यास होइन, रामायण ग्रन्थ । जहाँ लेखिएको विषय आज पनि हामीले वाल्मीकि आश्रममा प्रत्यक्ष संरचनाका रूपमा नै देख्न सक्छौँ । वाल्मीकि आश्रममा रहेको पुराताìिवक महìवका संरचना; जुन रामायणमा लेखिएका छन्, यसबारे विश्वमाझ प्रचार गर्न सकिएको छैन । महिला वर्गको इतिहासको खोज र अनुसन्धानको पाटो मात्र पनि हुन सकेन सीताको जीवनी ।
त्यसो त वैदिक सनातनमा विश्वास राख्ने मात्र होइन, इतिहास र भूगोलको खोज, अनुसन्धान र अवलोकन गर्नेको पावन क्षेत्र हुन सकेन वाल्मीकि आश्रम । उनले त्यस बखत पानी निकाल्ने कुवा, इनार, सिलौटो, छोराहरूले झुल्ने झुला र अध्ययनशाला पनि त्यहाँ छन् । यो भूमि विश्वभरका सनातनीको अवलोकन स्थल हुनुपर्दथ्यो । आज पनि यो स्थल छायामा छ । यो स्थलमा सीता नवमीको पावन दिन मेला नै लाग्नुपर्दथ्यो । यो क्षेत्र खचाखच हुनुपर्दथ्यो । आज पनि वाल्मीकि आश्रममा सीता नवमीका दिन सुनसानजस्तै हुने गर्छ ।
सीताबिना राम अपूर्ण छन् । सनातनीहरूले पनि सीताराम मात्र जपेर पुग्दैन, सीताप्रति न्याय पनि गर्न सक्नुपर्छ । रामको नाम अगाडि जगत् जननी सीता माताको नाम जप गर्दै गर्दा उनको महिमा उजागर गर्न लाग्नुपर्छ । उनी प्रकट भएको दिन सीता नवमी तिथिको उपहास गरेर सीताराम भज्नुको मात्रै कुनै अर्थ छैन । नेपालका तिनै तहका सरकारले पनि आदर्श नारी सीतासँग जोडिएका सबै स्थलको संरक्षण र संवद्र्धनमा लाग्नुपर्छ । सृष्टिकर्ताको उपेक्षाले कहिल्यै न घरमा शान्ति हुन्छ न समाज र राष्ट्रमै शान्ति कायम हुन्छ न त समुन्नत राष्ट्र नै बन्छ ।
लेखक नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव हुनुहुन्छ ।