• १३ साउन २०८१, आइतबार

सङ्ग्रहालय पुनः सञ्चालनमा आउने

blog

शिवा तामाङ

काठमाडौँ, वैशाख १६ गते  । काठमाडौँ महानगरपालिका–१२, टेकुस्थित बम्बविर विकटेश्वर शिवालयवरिपरि बनाइएका ऐतिहासिक सत्तलमा सङ्ग्रहालय पुनः सुरु गरिने भएको छ।

वि.सं. २०७२ को भूकम्पले सत्तल जीर्ण भएपछि स्व. जनार्दनविक्रम राणा परिवारको पहलमा बम्बविर विकटेश्वर गुठीद्वारा सञ्चालित राणाकालीन सामग्रीसहितको सो सङ्ग्रहालय बन्द भएको थियो। एसियन डेभलपमेन्ट बैङ्कको ऋण सहयोगमा सत्तलहरू पुरानै शैलीमा पुनर्निर्माण गरिएपछि सङ्ग्रहालय पुनः सञ्चालनमा आउने भएको हो। 

राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका माइला भाइ तत्कालीन प्राइममिनिस्टर इन चिफ जनरल बमबहादुर राणाले २४ रोपनी जग्गामा  वि.सं. १९०७ मा बम्बविर विकटेश्वर शिवालय, अन्य मन्दिर र बगैँचा निर्माण गराउनुभएको थियो। सङ्ग्रहालयमा राणाकालमा प्रयोग गरिने वेशभूषा, हातहतियार, साजसज्जाका सामग्री एवं धार्मिक र ऐतिहासिक पुस्तक तथा वस्तुहरू राखिएका छन्। 

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका बमबहादुरले टेकुमा सो सत्तल बनाउने आदेश दिनुभएको थियो। कुँवरले १२ रोपनीमा बमवीर विकटेश्वर महादेव, त्यसवरिपरि कलात्मक सत्तल, विभिन्न मन्दिर निर्माण र १२ रोपनीमा  बगैँचा, खुला स्थानको व्यवस्था गर्नुभएको बम्बविर विकटेश्वर गुठीका अध्यक्ष राजविक्रम राणाले जानकारी दिनुभयो। उहाँले सत्तल पुनर्निर्माण गरिएपछि राणाकालीन सामग्रीबारे जानकारी लिन चाहने सबैका लागि खुला गर्ने गरी सङ्ग्रहालय पुनः सञ्चालन हुने बताउनुभयो।  उहाँले भन्नुभयो, “तत्कालीन प्रधानमन्त्री बमबहादुरले टेकु क्षेत्रमा निर्माण गराउनुभएको उक्त मन्दिर र सत्तलको संरक्षण, प्रवद्र्धन गर्दै सो क्षेत्रमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटक आकर्षण गराउने  लक्ष्यसहित गुठीले काम गरिरहेको छ।”

मन्दिर तथा बगैँचा निर्माणपछि त्यसको संरक्षण एवं पूजा र प्रार्थनालाई निरन्तरता दिन तत्कालीन समयमा काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी ६७० रोपनी जग्गाको व्यवस्था गरिएको थियो। अहिले ती सबै जग्गा व्यक्तिका नाममा दर्ता हुन पुगेको अध्यक्ष राणाको गुनासो छ। बाँकी आठ/नौ रोपनी जग्गा पनि सरकारले बिनासोधभर्ना राजगुठीमा परिणत गरेपछि गुठीले दिने सहयोगले हाल ती मन्दिरको पूजा, संरक्षण प्रवद्र्धनको कामलाई निरन्तरता दिन गाह्रो भइरहेको भनाइ उहाँको छ। 

गुठीका अध्यक्ष राणाले गुठीका मिचिएका जग्गा फिर्ताका लागि मुद्दासमेत लड्नु परेको बताउँदै विगतका पुस्ताले बनाएको ऐतिहासिक सम्पदा संरक्षणका लागि राज्य र स्थानीयको सहयोग आवश्यक छ भन्नुभयो। सो क्षेत्रमा बमविर विकटेश्वर महादेवलगायत गणेश, काली, कामदेव, इन्द्रभक्तेश्वर महादेव, तदिमनारायण, गुण भुवनेश्वरलगायतका मन्दिरमा नौजना पुजारीले पूजाआजा गर्दै आएका छन्।