• १३ साउन २०८१, आइतबार

भूकम्पले बाजुरामा २३ घरमा क्षति

blog

भूम्कपका कारण हिमाली गाउँपालिका २ कोटमा भत्किएका घर । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, वैशाख १५ गते ।
 बाजुरामा बिहीबार राति गएको भूकम्पले २३ वटा घर भत्किएका छन् । बिहीबार राति ११ बजेर ४५ मिनेटमा बाजुरामा केन्द्र विन्दु भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त भूकम्पको धक्काले  जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिकामा २३ घर भत्किएका हुन् । हिमाली गाउँपालिका वडा नं २ का अध्यक्ष रणबहादुर बुढाले हिजो राति गएको भूकम्पले हिमाली गाउँपालिका वडा नं २ कोट, कोटीका,रुम्दी, नाटी खोलालगायत टोलका २३ घर पूर्णरुपमा भत्किएको बताउनुभयो ।

गत माघ १० गते बाजुराको स्वामिकार्तिक मेलामा केन्द्र विन्दु भएर ५ दशमलव ९ म्याग्नेच्युट गएको भूकम्पले चर्किए घर हिजोको भूकम्पले भत्किएको उहाँको भनाइ छ । 

घर भत्किएछि अहिले यहाँका स्थानीय खुल्ला आकाशमा त्रिपालमुनि बसिरहेको वडा अध्यक्ष बुढाले बताउनुभयो । गत माघमा गएको भूकम्पले गौमुल गाउँपालिकामा एक महिलासहित ६५ भेडाबाख्रा मरेका थिए ।

हिमाली गाउँपालिकामा केही घर भत्किएको भन्ने कुरा जानकारीमा आएपछि प्रहरी त्यो ठाउँमा गएको र वास्तविक घरमा क्षति भएको विवरण  आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाजुरामा गत माघ १० गते गएको भूकम्पका कारण १०४ पूर्ण, ५०९ आंशिक र ४६३ घरमा सामान्य क्षति भएको भएको थियो ।