• १० पुस २०८१, बुधबार

बिचौलियाको चलखेल रोकिने

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, वैशाख १५ गते  । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले विकास योजनामा बिचौलियालाई चलखेल गर्न नदिइने बताउनुभएको छ ।

मन्त्री सिंहले प्रेस युनियनद्वारा आयोजित सञ्चारकर्मीसँगको छलफलमा गरिबी, अशिक्षा, बेरोजगारी समस्यालाई सम्बोधन गर्ने गरी बजेट तयारी भइरहेको बताउनुभयो । उहाँले जनताको आवश्यकता र समुदायको मागका आधारमा योजना निर्माण गरिने बताउनुभयो । उहाँले रोजगारीको समस्याले विदेश पलायन भएका युवालाई स्वदेशमै स्वरोजगार बन्न उत्पादनसँग जोड्न सक्ने नीति कार्यक्रम तयार गरी बजेट व्यवस्था गरिने बताउनुभयो ।

उहाँले स्रोतसाधन पर्याप्त भए पनि तिनको उपयोग गर्न नसक्दा कर्णाली प्रदेश राजस्व सङ्कलनमा पछि परेको बताउनुभयो । जाजरकोट–डोेल्पा सडकखण्ड विस्तार गरी से फोक्सुन्डो, मुगुको राराको आकर्षण बढाएर कर्णालीको वास्तविकतालाई पहिल्याउने योजना निर्माण गर्ने तयारी थालेको उहाँको भनाइ छ । उहाँले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखी बजेट निर्माण गरिने बताउनुभयो । मन्त्री सिंहले स्थानीय सरकारले सम्पन्न गर्ने टुक्रे योजना वितरण कार्य बन्द गर्ने र जनताको  आवश्यकताका आधारमा नीति निर्माण गर्ने जानकारी दिनुभयो ।