• १३ साउन २०८१, आइतबार

दुर्लभ पन्छी सारसको लुम्बिनी क्षेत्रमा संरक्षण गरिँदै

blog

लुम्बिनीका खेतमा देखिएका दुर्लभ पन्छी सारस । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, बैशाख १४ गते । दुर्लभ पन्छी सारसको प्रमुख बासस्थान मानिएको लुम्बिनीमा सारस संरक्षणको काम सुरु गरिएको छ । सारस संरक्षणको कामका लागि लुम्बिनीमा अभिमुखीकरण र कार्यशाला आयोजना गरिएको छ । 

संरक्षित पन्छी सारसको ग्रेटर लुम्बिनी क्षेत्रमा तथ्याङ्क यकिन गर्ने, यसको बासस्थानको अवस्था र भोग्दैआएका समस्या तथा चुनौतीको पहिचान गर्ने, प्रजनन् दरकोे अवस्था पत्ता लगाउने तथा मानव र यो पन्छीको सम्बन्धको बारेमा वैज्ञानिक जानकारी संकलन गर्ने परियोजनाको उद्देश्यर रहेको नेपाल जोलोजिकल सोसाइटीका महासचिव डा. हरि शर्माले बताउनुभयो । 

स्थानीयलाई त्यस बारेमा सचेतना जगाई बासस्थानको संरक्षण गरी सारसलाई पर्यटन प्रवर्धनसँग जोड्न सकिने उहाँको भनाइ छ । नेपाल जोलोजिकल सोसाइटीको आयोजना र प्राणीशास्त्र केन्द्रीय विभाग, विश्व वन्यजन्तु कोष, इन्टरनेशनल फाउन्डेशन र नेपाल जोलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको सहयोगमा आयोजित यो परियोजनाले सारस संरक्षण गरी पर्यापर्यटनमा टेवा गर्ने विश्वास आयोजकले लिएको छ । 

कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटनबोर्डका कार्यकारी निर्देशक रामु जैशीले दुर्लभ पन्छी सारसलाई पर्यापर्यटनसँग जोड्दै वन्यजन्तु र संस्कृति समेतको पर्यटन मोडल बन्न सक्ने बताउनुभयो । 

अर्का विज्ञ डा. हेम कटुवालले नेपालमा सारसको अवस्था र चुनौतीबारे अवधारणापत्र प्रस्तुत गर्नुभयो । विश्व वन्यजन्तु कोषका राजेन्द्र सुवालले नेपालमा सारसको अवस्था, विकास र सांस्कृतिक महत्वका साथै दीगो पर्यापर्यटन बारेमा जानकारी दिनुभयो । ग्रीनयुथ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले सारसको महत्व र यसको संरक्षणमा स्थानीयको भूमिका बारेमा प्रकाश पार्नुभयो । 

नेपाल जिओलोजिकल सोसाइटीका डा. विष्णु भट्टराई र सन्दीप रेग्मीले सारसको तथ्याङ्क संकलनमा प्रयोग गरिने प्रविधि र ग्रिडको विषयमा सहभागी तथा अनुसन्धानकर्तालाई जानकारी गराउनुभयो । 

सारस क्रेनको विस्तृत अध्ययन गरिने परियोजनामा १८ वटा समूहमा ४० जना जानकार प्राविधिक तथा विज्ञको सहभागिता रहने सोसाइटीका केशव महतले जानकारी दिनुभयो ।

विश्वमा पाइने सारसका १५ प्रजातिमध्ये नेपालमा चार प्रजाति पाइने विज्ञको भनाइ छ ।  नेपालमा सबैभन्दा बढी सारस पाइने लुम्बिनी क्षेत्र हो । उड्ने चराहरूमध्ये सबैभन्दा अग्लो सारस अधिकतम ४० देखि ५० फिटको उचाइमा उड्न सक्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सन् २००० मा दुर्लभ पन्छीमा सूचीकृत गरेको सारसको तौल वयस्क अवस्थामा १० किलो र उचाइ पाँच फिटसम्म हुन्छ ।

लुम्बिनी क्षेत्रका खेतमा सारस बस्ने र त्यही प्रजनन् गर्ने भएकाले लुम्बिनीलाई सारस संरक्षण क्षेत्रका रुपमा विकास गर्न लागिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताउनुभयो ।