• १३ असोज २०८१, आइतबार

‘कोशी प्रदेश सबै जातजाती अटाउने प्रदेश हो’

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली इलामको कार्यक्रममा । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, वैशाख १४ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एउटा प्रक्रियाबाट स्थापित गरिएको ‘कोशी प्रदेश’ को नाम परिवर्तन गर्न जनता रिझाएर दुई तिहाइ मत ल्याएर मात्र सम्भव रहेको बताउनुभएको छ । 

नेकपा (एमाले) को प्रतिनिधि परिषद बैठकका लागि बिहीबार इलाम आइपुग्नु भएका पूर्व प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । कोशी प्रदेशमा बसोबास गर्ने सबै जातजाती, भाषाभाषी र संस्कृतिका आम नागरिकहरु अटाएको उहाँको भनाइ छ । ‘यो प्रदेशमा बसोबास गर्ने कुन जात, धर्म र संस्कृतिको इतिहास जोडिएको छैन ? सबैले आ–आफ्नो जात र धर्मको अस्तित्व चहाने हो भने यो राजनीति होइन, गलत बाटो हो’ अध्यक्ष ओलीले भन्नुभयो ।

ओलीले भन्नुभयो, ‘पहिचान र जातीय राजनीति राजनीति होइन भन्ने कुरा जनताले जवाफ दिन्छन् । बाटो छेक्दा, ढुङ्गा हान्दा, कालो झण्डा देखाउने काम राजनीति होइन ।’ सस्तो राजनीति कसैले गर्न नहुने उहाँको भनाइ छ । समाज, जातिलाई भड्काएर राजनीति सफल नुहने उहाँले बताउनुभयो ।

उहाँले सरकारले नागरिकको सुरक्षा गर्नुपर्ने  बताउनुभयो । भर्खर सम्पन्न एमालेको ग्रास रुट अभियान सफल भएको भन्दै उहाँले आगामी निर्वाचनमा त्यसको परिणाम देखिने विश्वास व्यक्त गर्नुभयो । देश बनाउन एमालेलाई बलियो शक्ति बनाउनुको विकल्प नभएको भन्दै उहाँले देशको बलियो शक्तिको रुपमा स्थापित गर्ने गरी संगठन निर्माण र जनताको पक्षमा काम गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । 

अध्यक्ष ओलीलाई इलामको कन्यामबाट इलाम सदरमुकाम जाने क्रममा इलामको गोदकमा कोशी प्रदेश नाम राखेको विरुद्धमा आन्दोलनरत पक्षले ठाउँ ठाउँमा रुख तेर्साएर सडक अवरुद्ध गरेका थिए । सो समूहले कालो झण्डा देखाएर विरोध जनाएका थिए ।

विरोधको क्रममा झडकको स्थिति सिर्जना हुन नदिन सुरक्षाकर्मीले विरोध गर्ने समूहका २२ जनालाई नियन्त्रणमा लिएको स्थानीय प्रशासनले जनाएको छ । इलामको कार्यक्रम सकेपछि पक्राउ गरिएका सबैलाई छाडिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताउनुभयो । अध्यक्ष ओली पाँचथरको कार्यक्रमका लागि आज त्यता लाग्नुभएको छ ।