• १३ साउन २०८१, आइतबार

तनहुँका पालिकाले श्रम स्वीकृतिको आवेदन लिन थाले

blog

श्रम स्वीकृतिको आवेदन भर्दै व्यास नगरपालिकाको रोजगार सेवा केन्द्रका कर्मचारी। तस्बिर-अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख १४ गते। वैदेशिक रोजगारमा जाने युवायुवतीले श्रम स्वीकृतिको आवेदन दिने सुविधा पालिकाबाटै पाउन थालेका छन्। चार नगरपालिका र छ वटा गाउँपालिका गरेर जिल्लाका १० वटा स्थानीय सरकारबाट सेवा दिन थालिएको हो।

सेवा दिएसँगै श्रम स्वीकृति लिनकै लागि काठमाडौं धाउने वा श्रम तथा रोजगार कार्यालयमा गएर लाइन लाग्नुनपर्ने भएको छ। वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति र बिदामा आएकाका लागि श्रम स्वीकृति नवीकरणको आवेदन पालिकाले लिन थालेका हुन्। 

पालिकामा रहेका रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिको आवेदन भरिदिन थालेका छन्। व्यास नगरपालिकाको रोजगार संयोजक सुजिता थापाका अनुसार पालिकामा रहेका रोजगार सेवा केन्द्रले निःशुल्क अनलाइनमार्फत् श्रम स्वीकृतिको आवेदन भरिदिने गरेका छन्।

राहदानी, करार सम्झौता, भिसा लगायतका कागजपत्रसहित आफ्नो पालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएपछि श्रम स्वीकृतिको आवेदन दिन पाइने थापाले जानकारी दिनुभयो। 

अनलाइनमार्फत् नै वैदेशिक रोजगार कार्यालय काठमाडौं र सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयले प्रदान गर्दै आएको श्रम स्वीकृतिको आवेदन रोजगार सेवा केन्द्रमार्फत नै दिन मिल्ने गरी गएको चैत २६ गते मन्त्रीस्तरीय निर्णय भएको थियो। बन्दीपुर गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले  मन्त्रालयको परिपत्रअनुसारै सेवा सुरु गरिएको जानकारी दिनुभयो । 

श्रम मन्त्रालयको उक्त निर्णयअनुसार २०८० वैशाख ३ गतेबाट पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत् वैदेशिक रोजगारीमा जानेको अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिन थालिएको हो।