• १३ असोज २०८१, आइतबार

खानेपानी समस्या समाधानमा जनताको सहभागिता

blog

खानेपानीका लागि श्रमदान गर्दै धरानका स्थानीय जनता । तस्बिर : निशा राई

निशा राई 

धरान, बैशाख १३ गते । धरान उपमहानगरपालिकामा खानेपानी समस्या समाधान गर्न कोकाहा खोलाको पानी ल्याउन जनता आफै श्रमदानमा उत्रेका छन् । सुख्खा याममा धरानमा पानीको हाहाकार हुनेगर्छ । पानीका समस्याले सर्बसाधारणलाई सास्ती खेप्नुपर्ने समस्या नयाँ होइन । गत स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएका हर्कराज राईको मुख्य एजेण्डा नै खानेपानी समस्या समाधान गर्ने रहेको थियो ।

धरानका मुख्य समस्या खानेपानीको समाधान गर्न धरानको खोला खोल्साबाट खानेपानीको समस्या समाधान गर्न नगर प्रमुख राई लागिपर्नु भएको छ । गत शनिबारदेखि प्रमुख राईसँगै स्थानीय सर्वसाधारण पनि श्रममा सहयोग गरिरहनुभएको छ । 

बर्खा याममा श्रमदानबाट नै पकुवा, निसाने, भालु खोला र सर्दुखर्दु खोलाको पानीट्याङ्कीमा संकलन गरी बर्खा याममा पानी जोहो गर्नुभएको थियो । बर्खायाममा अल्पकालिन व्यवस्था गरेर खानेपानी बोर्डले तिर्नुपर्ने बिजुलीको बिलमा एक महिनामा १० लाख रकम उपमहानगरको बचत भएको थियो । 

हाल धरान वडा २० को कोकाहा खोलाबाट पनि पानी ल्याउन श्रमदान जुटाएर बराहाक्षेत्र नगरपालिकाको सिमाना हुँदै पहाडका भीर र अक्करे पहरा हुँदै ५ इन्च पाइप विस्तार गरिरहनुभएको छ ।  कोकाहाबाट धरानसम्म घुमाउँदै ल्याउँदाको दूरी करिब ३० किलोमिटर पर्छ  । उक्त पानी धरानमा झार्न सके खानेपानीको आधाभन्दा बढी समस्या समाधान हुने स्वकीय सचिव सुदर्शन लिम्बुले बताउनुभयो । 

उहाँको अनुसार श्रम अभियानलाई साथ दिन यतिबेला दैनिक कम्तिमा सयदेखि दुई सय जना सहभागी हुने बताउनुभयो  । शनिबार सयौंको संख्यामा श्रमदानमा सरिक हुने गरेका छन् । तीमध्ये ५० प्रतिशत व्यक्ति धरान बाहिरबाट आउनेगरेको उपमहानगरपालिकाले जनाएको छ । 

नगर प्रमुख राईको खानेपानी परियोजनाको म्यानेजर दत्तकुमार लिम्बुका अनुसार खानेपानी ल्याउने कामका लागि हालसम्म करिब साढे ९ करोड रुपियाँ नगद र जिन्सी सहयोग प्राप्त भएको छ  । खानेपानीकै लागि भनेर स्वदेश र विदेशबाट आर्थिक सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।  

कोकाहा खानेपानी योजना सम्पन्न गर्न गत चैत २५ मा सिल्भर इन्टरटेनमेन्टको सहयोगमा ‘च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान’ भएको थियो । त्यसमा पनि ३६ लाख १८ हजार रुपियाँ उठेकोमा खर्च कटाएर २८ लाख ३६ हजार रुपियाँ सहयोग आएको गत सोमबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको थियो ।   

धरानमा पानीको माग दैनिक करिब ३ करोड लिटर रहेको धरान खानेपानी व्यवस्थापन बोर्डका निर्देशक इन्जिनियर राजु पोखरेलले बताउनुभयो । उहाँका अनुसार भूमिगत पानी दैनिक १ करोड ६० लाख लिटर र सतहको हिउँदमा ४० लाख लिटर मात्र छ । त्यसैले दैनिक करिब १ करोड लिटर पानी अपुग भएकाले धरानमा खानेपानीमा समस्या भएको बताउनुभयो ।