• १३ असोज २०८१, आइतबार

हात्ती धपाउन टर्चलाइट र साइरन सहयोग

blog

टोल बिकास संस्थालाई साइरन र टर्चलाइट उपलब्ध गराइँदै । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख १३ गते । झापाको कमल गाउँपालिका –३ ले हात्ती धपाउन साइरन र टर्चलाइट वितरण गरेको छ । हात्तीका कारण स्थानीयहरु त्रसित बनेपछि हात्ती धपाउन र हात्ती आएको जानकारी दिन साइरन बजाइने भएको  छ । 

हात्ती धपाउन अन्य केही पनि उपाय नभएपछि वार्डको तर्फबाट यस प्रकारको कार्यक्रम ल्याइएको समेत बताइएको छ । वडाध्यक्ष अग्निप्रसाद कोइरालाका अनुसार हात्तीका कारण धेरै समस्या हुन थालेपछि स्थानीयको सुझावका आधारमा वडाका ९ वटा टोल बिकास संस्थालाई साइरन र टर्चलाइट उपलब्ध गराईएको हो । 

यसबाट हात्तीको जोखिम न्यूनीकरणमा केही भए पनि राहत मिल्ने विश्वास लिइएको कोइरालाले बताउनुभयो । उहाँका अनुसार सानुकेर्खा, बोहोरा टोल र केर्खा बजारमा जङ्गली हात्तीले दुःख दिने भएकाले ती टोल विकास संस्थामा स्थानीयले राति अनिदै रहेर हात्ती रुघ्ने गरेका छन् । हात्तीले यो बर्ष मात्र धेरैको घर भत्काएको र बालिनालिमा समेत धेरै क्षति गरेको बताइएको छ । 

दमकमा आउन थाले हात्ती

केही समय दमकमा नदेखिएका हात्तीहरु फेरि देखिन थालेका छन् । दमकको वडा २ र ३ मा पर्ने हम्सेदुम्से सामुदायिक वन तथा आसपासको क्षेत्रमा हात्तीको हुल देखिन थालेको हो । किसानले लगाएको मकै बालिको समय भएकाले हात्तीले आहारा खोज्दै जंगलबाहिर निस्कने र यसले ठूलो क्षति गरेको वडा –३ का वडाध्यक्ष नविन बरालले बताउनुभयो ।