• १३ साउन २०८१, आइतबार

काठमाडौंका सबै ठाउँमा सीसी क्यामेरा राख्न माग

blog

सङ्घीय संसद भवन नयाँबानेश्वरमा बुधबार बसेको प्रतिनिधिसभा बैठकको छलफलमा सहभागी सांसद् गगनकुमार थापा । तस्बिरः नवीन पौडेल/रासस

काठमाडौं, वैशाख १३ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सीसी क्यामेराको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। 

काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सीसी क्यामेरा जडान गर्नुपर्ने बताउनुभएको हो। 

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कपनस्थित सरस्वती नगरमा एक महिलाको दिनदाहडै हत्या भएको सात दिन बित्न लाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा आक्रोशसमेत व्यक्त गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘छुरी प्रहार गरेर हत्या भएको सात दिनभयो। प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनु भएको छ। तर उहाँहरुले ठोस जवाफ पाउनु भएको छैन। आज संयोगले माननीय गृहमन्त्रीज्यू संसदमा उपस्थित हुनुहुन्छ। म आग्रह गर्न चाहन्छु सम्माननीय सभामुख महोदयमार्फत् घटनाको सत्यतथ्य र सबभन्दा ठूलो कुरा दिनदहाडै हत्या भएको सन्दर्भमा यहाँका नागरिकले जुन विश्वास गर्न नसक्ने अवस्था बनेको छ। यसको बारेमा विश्वास गर्न गर्न माननीय गृहमन्त्रीज्यूले बनाई दिनुहोस्। र, यसको तथ्य सातसात दिनसम्म पनि पत्ता लगाउन सकिएको छैन। महानगरपालिका, संघीय सरकार मिलेर सिंगो काठमाडौंलाई यसको सेक्युरिटीसँग जोडेर सिसीटिभी जोडेको भए यो घटनाको तथ्य पत्ता लगाई सकेको हुन्थ्यो।’

महामन्त्री थापाले सो घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याएर दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनुभयो।