काठमाडौ, वैशाख १३ गते । साविक विजेता मच्छिन्द्र क्लब र थ्रीस्टार क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरीका रोकिएका छन् ।
दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्र र थ्रीस्टारले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
यस बराबरीसँगै दोस्रो स्थानमा रहेको थ्रीस्टारले १२ खेलबाट २२ अङ्क बनाएको छ । मछिन्द्रको समान खेलबाट १७ अङ्क छ ।
यसैगरी च्यासल मैदानमा भएको अर्को खेलमा सातदोवाटो युथ क्लबले संकटा क्बलमाथि ४–० गोलको सानदार जित निकालेको छ । सातदोबाटोको फराकिलो जितमा विलियम एसिडेउ र दीपक सिंह ठकुरीले दुई दुई गोल गर्नुभयो ।
विलियमले १०औं र १९औं तथा दीपकले ६८औं र ८३औं मिनेटमा गोल गर्नुभयो । खेलभर सातदोवाटोको दबाब झेलेको संकटाले गोल गर्न लायक अवसर बनाउन सकेन ।
जितसँगै सातदोवाटो तेस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोले १२ खेलबाट २१ अङ्क बनाएको छ । पाँचौं हार खेपेको संकटा १५ अङ्कसहित नवौं स्थानमा छ ।