• १३ साउन २०८१, आइतबार

'नवौँ लिटल थिएटर गराज' सम्पन्न

blog

काठमाडौं, वैशाख १३ गते । 'नवौँ लिटल थिएटर गराज' बालबालिकाका लाथि अभिनय तथा नाट्य कार्यशाला सकिएको छ । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनले वार्षिक रूपमा आयोजना गर्दै आएको गराज दुई सातामा सकिएको हो । 

समापनको दिन सहभागी बालबालिकाले कार्यशालाका दौरान तयार पारेका नाट्य प्रस्तुति मञ्चन भएको थियो । जसमा पपेटमार्फत कथा–कथनदेखि आफैँले तयार पारेको नाटक ‘सिन्डेरेला’ मञ्चन भएको थियो । बालबालिकाले खेल्ने ‘भाँडाकुटी’लाई आधार बनाएर सहभागी बालबालिकालाई नाट्य कला र सीपको साक्षात्कार गराएको हो । 

गराजमा विशेषतः नाटक र अभिनयका साथमा कथावाचन, कथाकथन, पब्लिक स्पिकिङ, चित्रकला, पपेट निर्माण र पपेट कथाकथन, ओरिगामी, नृत्य, भ्वाइस एण्ड स्पिच, सृजनशील लेखन, सृजनशील सोच लगायतका विषयमा कार्यशालामा गतिविधिहरू भएका थिए । त्यस्तै कार्यशालाअन्तर्गत नै बालबालिकाहरूले पैदल यात्रा, वातावरण अध्ययन, सम्पदा भ्रमण तथा राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण पनि गरेका थिए । 

थिएटर गतिविधिहरू बढिरहे पनि बालबालिकाको लागि थिएटरका गतिविधि नभइरहेको अवस्थामा २०७१ मा सुरु भएको यस कार्यशाला हरेक वर्ष चैत २० पछि हुने गरेको छ। कार्यशाला बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘आसितेज इन्टरनेशनल’ को नेपाल सेन्टर आसितेज नेपालको सहकार्य तथा राराहिल मेमोरियल स्कुल कीर्तिपुर र नेपाल–जापान बाल पुस्तकालयको साथमा हुँदै आएको छ । 

लिटल थिएटर गराजको दसौँ संस्करण आगामी चैत २२ मा हुने आयोजकले जनाएको छ ।