• १३ साउन २०८१, आइतबार

आगो निभाउन गएको वारुण यन्त्र दुर्घटनामा, पाँच घाइते

blog

दुर्घटनाग्रस्त वारुण यन्त्र । तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, वैशाख १३ गते । आगो निभाउन गएको गौर नगरपालिकाको वारुण यन्त्र गढवाटोलमा दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित पाँच कर्मचारी घाइते भएका छन् । नगरपालिकाको वडा –४ गढवाटोलमा रहेको कुखुराको खोरमा लागेको आगो निभाउन जाँदा मंगलबार राति करिब १२ बजे वारुण यन्त्र दुर्घटनामा परेको थियो ।

कुखुराको खोरमा आगो लागेको खबर पाउनासाथ अग्नि नियन्त्रण कर्मचारीसहित गढवाटोल जानेक्रममा वारुणयन्त्रको ‘ब्रेक फेल’ भई दुर्घटना भएको चालक करिम अन्सारीले बताउनुभयो ।  

नगरपालिकाको ना १ ग ७८८ नम्बरको वारुण यन्त्र दुर्घटना हुँदा चालक अन्सारी दमकल प्रहरी प्रेम केसरी, किशुन्द्र साह गम्भीर घाइते भएका छन् । जिल्ला अस्पताल गौरमा प्राथमिक उपचार गरी थप उपचारका लागि उहाँहरूलाई वीरगन्ज पठाइएको नगर प्रमुख शम्भु साहले जानकारी दिनुभयो । 

उहाँका अनुसार सामान्य घाइते भएका दमकल प्रहरी शिवशङ्कर पटेल र नथुनी पासवानको गौर अस्पतालमै उपचार भइरहेको छ । मानव सेवामा खटेको वारुण यन्त्र दुर्घटनामा परी घाइते भएका कर्मचारीको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने उहाँले बताउनुभयो ।