• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभा बैठक : सांसदको सङ्ख्या घटाउन माग

blog

सांसद खिमलाल देवकोटा

काठमाडौँ, वैशाख  १३  गते । राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ ।     

बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टी-दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ । समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ ।”

उहाँले प्रतिनिधि सभामा सदस्य सङ्ख्या दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेशसभाको सङ्ख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिनुभयो । 

विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रिया नियमसङ्गत नरहेको पनि उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो । “अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायहरूमा दलीय भागबन्डाका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरूमा पार्टी सदस्य भर्ना गर्नेकाम बन्द गरौँ ।”     

नागरिकका समस्या र गुनासा तत्कालै सम्बोधन गर्न सरकारले संयन्त्र बनाउनुपर्ने उहाँको सुझाव छ । रासस