• १३ साउन २०८१, आइतबार

गृह श्रमिकबीचको एकतामा जोड

blog

काठमाडौँ, वैशाख १३ गते । राजधानीमा २९ देशका १२७ जना गृह श्रमिक अभियन्ताहरूको सहभागितासहित होमनेट इन्टरनेसनलको दोस्रो सम्मेलन सुरु भएको छ । होमनेट इन्टरनेसनलद्वारा आयोजित यस चारदिने सम्मेलनको मङ्गलबार सहभागी राष्ट्रका झन्डा र सांस्कृतिक प्रस्तुतिसहित उद्घाटन 

गरिएको हो । आर्थिक उपार्जनका लागि आफ्नै घर वा घर वरपर स्थानीय, राष्ट्रिय र विश्व बजारका लागि वस्तु उत्पादन वा सेवा प्रदान गर्ने श्रमिकलाई ‘गृह श्रमिक’ मानिएको छ । होमनेट इन्टरनेसनलले संसारभरका १२ लाख गृह श्रमिकको प्रतिनिधित्व गर्छ, यसमध्ये ९५ प्रतिशत महिला छन् । 

कार्यक्रममा नेपालका गृह श्रमिक सङ्गठित संस्थामध्येकी एक सवा नेपालका अध्यक्ष अप्सरा डङ्गोलले यस सम्मेलनमा गृह श्रमिकले उत्पादन गरेका सामग्री प्रदर्शन, होमनेट इन्टरनेसनलले आफ्ना प्राथमिक क्षेत्रबारे छलफल गर्ने र नयाँ सञ्चालक समितिको निर्वाचन गर्ने बताउनुभयो । उहाँले चारदिने सम्मेलनमा संसारकै गृह श्रमिकबीचको एकता र ऐक्यबद्धतालाई थप मजबुत बनाउन प्रत्यक्ष भेटघाट र यस क्षेत्रको चुनौती तथा अवसरबारेमा विश्वभरका गृह श्रमिकबीच खुलेर चर्चा हुने विश्वास व्यक्त गर्नुभयो ।  

सो अवसरमा गृह श्रमिकको पहिचानका लागि अभियान थाल्नुहुने अभियन्ता चाँदनी जोशीले नेपाल, दक्षिण एसियालगायत विश्वकै गृह श्रमिकबारे नीति निर्मातालाई बुझाउन र पहिचानका लागि ऐक्यबद्ध बनाउन गर्नुभएको सङ्घर्षबारे चर्चा गर्नुभयो । 

गृह श्रमिक को हुन् ?

सिलाइबुनाइ, माटो, काठ, कपडा, पराल, खोस्टा, बेतबाँसलगायतको प्रयोग गरी ह्यान्डिक्राफ्टका सामग्री उत्पादन, परम्परागत खाद्य परिकार, खाजाघर सञ्चालन गर्ने श्रमिक वर्ग गृह श्रमिकमा पर्छन् । गृह श्रमिकहरू राष्ट्रिय÷अन्तर्राष्ट्रिय दुवै आपूर्ति शृङ्खलामा विशेष भूमिका निर्वाह गर्दै आएको होमनेट इन्टरनेसनलले जनाएको छ । 

गृह श्रमिकका उत्पादन र सेवामार्फत  राष्ट्रिय अर्थतन्त्रमा  उल्लेख्य योगदान रहेको छ ।  

होमनेट इन्टरनेसनलका अन्तर्राष्ट्रिय संयोजक जान्ह्वी डेभका अनुसार यस संस्था होमनेट इन्टरनेसनल सदस्यतामा आधारित संस्थाहरूको विश्वव्यापी सञ्जाल हो । हाल ल्याटिन अमेरिका, अफ्रिका, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, पूर्वी युरोप र मध्य एसियाका ३३ देशबाट गृह श्रमिकका ७५ वटा संस्था यस सञ्जालमा आबद्ध छन् । यस सम्मेलनमा विमेन इन इन्फर्मल इम्प्ल्योयमेन्ट ग्लोबलाइजिङ एन्ड अर्गनाइजेसन (विगो) र फोर्ड फाउन्डेसनलगायत ब्राजिल, अस्ट्रेलिया, भारत, कम्बोडिया, केन्या, इन्डोनेसिया, पाकिस्तान, श्रीलङ्का, फिलिपिन्सका होमनेट इन्टरनेसनलका भगिनी र साझेदार संस्थाहरूको सहभागिता रहेको छ ।  चारदिने सम्मेलनमा उक्त देशका गृह श्रमिकले उत्पादन गरेका सामग्रीका स्टल राखिएका छन् ।