• ३१ वैशाख २०८२, बुधबार

मिथिला परिपथ मेयर सम्मेलन सम्पन्न

blog

गोरखापत्र समाचारदाता

जनकपुर, वैशाख १२ गते । मिथिला क्षेत्रका स्थानीय समुदायको हित तथा आर्थिक विकासमा केन्द्रित मिथिला परिपथ मेयर सम्मेलन जनकपुरधाममा सम्पन्न भएको छ । सम्मेलनमा जनकपुरधाम वरिपरिका मिथिला क्षेत्रअन्तर्गत पर्ने नगरपालिका र गाउँपालिका गरी १२ वटा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलगायत बृहत्तर जनकपुरक्षेत्र विकास परिषद् र प्रदेश सरकारका मन्त्रालयका सरोकारवाला र नीति निर्माताका साथै नेपाल शहरी उत्थानशीलता परियोजनाका प्रतिनिधिहरुको सहभागिता थियो । 

सम्मेलनले नगरपालिका, गाउँपालिका र प्रदेश सरकारका अधिकारीलाई एकताबद्ध भएर काम गर्ने मञ्च सिर्जनागरी मिथिला परिपथको विकास र विस्तारका मार्गहरूमा संवादको ढोका खोलेको थियो । मिथिला परिपथभित्र विभिन्न मन्दिर, पोखरी र धार्मिक महत्वका स्थलहरू रहेका छन् । यो परिपथ परम्परागत रूपमा मिथिला परिक्रमा भनेर चिनिने १५ दिने धार्मिक पदयात्राका लागि प्रसिद्ध छ । 

सहभागीले स्थानीय समुदायको हित र बृहत् आर्थिक विकासका लागि जनकपुरधाम र आसपासका सम्पदा संरक्षण र सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने लक्ष्य प्रस्तुत गरेका थिए । सम्मेलनमा सहभागीले मिथिला परिपथको महत्व, वर्तमान अवस्था र विकास सम्भावना बारेमा चर्चा गरेका थिए । 

जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशिले सम्मेलनको उद्देश्यमाथि चर्चा गर्दै भन्नुभयो, “हामीले धार्मिक पदयात्राको प्रचार–प्रसारलगायत विभिन्न काममार्फत् मिथिला परिक्रमा परिपथ क्षेत्रमा पर्यटन विकासका लागि स्थानीय सरकारबीच साझा समझदारी विकास गर्ने लक्ष्य लिएका छौं ।” 

नेपाल शहरी उत्थानशीलता परियोजना टोली सदस्य डा. अजयचन्द्र लालले मिथिला परिक्रमा परिपथको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व प्रस्तुत गर्दै वर्तमान अवस्था, सम्भावित लाभ र चुनौतीका साथै यस उपक्षेत्रको समावेशी आर्थिक तथा पर्यटकीय विकासका लागि गर्न सकिने भावी कामलगायत विषयमा छलफलका लागि प्रस्ताव गर्नुभयो । 

सम्मेलनमा जनकपुरधामका मेयर मनोजकुमार साह, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह, मटिहानी नगरपालिकाका मेयर हरिनारायण मण्डललगायतले आफ्नो धारणा राख्नुभएको थियो । छलफलपछि सहभागीले जनकपुरधाम घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।